कांग्रेस महाधिवेशन : कैलालीबाट १३० प्रतिनिधि निर्वाचित, इतर पक्षमा ११ जनामात्रै

धनगढी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कैलालीमा भएको क्षेत्रीय निर्वाचनबाट १३० जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित १३० जना महाधिवेशनका लागि प्रतिनिधि निर्वाचित भएको कांग्रेस कैलालीका प्रचार प्रसार समिति संयोजक नृप सुनारले बताए । कांग्रेसको विधानअनुसार क्षेत्रीय सभापति पनि महाधिवेशनका पदेन प्रतिनिधि हुन् ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रकाश शाह, क्षेत्र नम्बर २ बाट विष्णुप्रसाद ढकाल, क्षेत्र नम्बर ३ बाट रिचा चौधरी, क्षेत्र नम्बर ४ बाट बसनत रोकाया र क्षेत्र नम्बर ५ बाट भीम पडाल क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । उनीहरू सबै संस्थापन अर्थात् प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुन् ।

क्षेत्रीय सभापतिसहित १३० जना महाधिवेशन प्रतिनिधिमध्ये ११९ जना प्रतिनिधि सभापति पनि देउवा छन् । जिल्लाबाट ११ जनामात्रै संस्थापन इतर पक्षबाट निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित सुनिलकुमार भण्डारी, नारायणदत्त मिश्र, क्षितिज भण्डारी, भक्तबहादुर थापा, रामचरण चौधरी, गीता कठरिया, दीपक जोशी, जीवन श्रेष्ठ, सुमन सञ्ज्याल, कमल शाह र रामबहादुर कलेल संस्थापन इतर पक्ष मानिन्छन् ।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म जिल्ला अधिवेशन भएका पाँच जिल्लामध्ये तीन जिल्लामा संस्थापन पक्ष र दुई जिल्लामा संस्थापन इतर पक्ष सभापतिमा निर्वाचित भएका छन् ।

अहिलेसम्म देउवाको गृहजिल्ला डडेल्धुरा, डोटी, बैतडी, बझाङ र बाजुरामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । यीमध्ये डडेल्धुरा सभापतिमा विजयी भीम साउँद, डोटीमा विजयी नरेन्द्रबहादुर सिंह र बझाङ सभापतिमा निर्वाचित खडकबहादुर बोहरा सभापति देउवा निकट हुन् ।

बैतडीको सभापतिमा निर्वाचित चतुरबहादुर चन्द र बाजुरामा निर्वाचित रामसिंह रावल संस्थापन इतर पक्षका हुन् ।

अब पाँच निर्वाचन क्षेत्र भएको कैलाली, तीन निर्वाचन क्षेत्र भएको कञ्चनपुुर, दुई निर्वाचन क्षेत्र भएको अछाम र एक निर्वाचन क्षेत्र भएको दार्चुलामा अधिवेशन हुन बाँकी छ ।

मन्त्री दिलेन्द्र बडूको गृहजिल्ला दार्चुलाबाहेक अन्य जिल्लामा सभापति देउवा निकट व्यक्ति जिल्ला सभापतिमा निर्वाचित हुने सम्भावना छ । दार्चुलामा बडू निकट व्यक्तिहरुनै सभापतिका लागि एक आपसमा प्रतिस्पर्धामा छन् भने अन्य जिल्लामा देउवा निकट व्यक्तिहरुबीचनै प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *