कांग्रेस कास्की सभापतिमा पहिलो पटक महिला उम्मेदवार

पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिमा पहिलो पटक महिला उम्मेदवारी घोषणा भएको छ । अहिलेसम्म महिला सभापति बनेका छैनन् भने उम्मेदवारसमेत बनेको इतिहास छैन ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको पर्सीपल्ट नेतृ सरस्वती गुरुङले सभापतिमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

उनी हाल कांग्रेसको नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानकी केन्द्रीय सदस्य हुन् भने २०७४ सालमा कांग्रेसको तर्फबाट पोखरा महानगरको उपमेयरमा पराजित भएकी थिइन् । गुरुङले महिला सभापतिको इतिहास रच्न र पार्टीको नवनिर्माणका लागि आफूले सभापतिमा उम्मेदवारी दिने बताएकी छिन् ।

‘महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिँदा हजुरहरूले देखाउनुभएको सद्भाव, साथ र समर्थन मेरा लागि अमूल्य रह्यो । म तपाईंहरूको विश्वास प्रति नतमस्तक छु,’ फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘महाधिवेशन प्रतिनिधि बनेपछि राजनीतिको माथिल्लो उम्मेदवारीको गेट पनि स्वतः खुला हुन्छ । म धेरै सल्लाह र छलफलपछि कास्की जिल्लाको सभापति पदमा उम्मेदवारी दिने निर्णयमा पुगेकी छु ।’

उनी कास्की क्षेत्र नम्बर १ बाट आदिवासी जनजाति महिलातर्फको महाधिवेशन प्रतिनिधिमा विजयी भएकी हुन् । गुरुङ कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा निकट मानिन्छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *