अनेरास्ववियुले भन्यो- ‘२० प्रतिशत ४० वर्ष मुनिकालाई केन्द्रीय कमिटीमा ल्याउनुपर्छ’

काठमाडौँ । एमालेको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आसन्न १० औँ महाधिवेशन २० प्रतिशत ४० वर्ष मुनिकालाई केन्द्रीय कमिटीमा ल्याउनुपर्ने माग गरेको छ । सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेकी हुन् ।

युवालाई केन्द्रीय कमिटीमा समेटेर युवामैत्री पार्टीको परिचयलाई अझ फराकिलो बनाउन महाधिवेशनले विशेष योगदान गर्ने अनेरास्ववियुको विश्वास छ । ‘महाधिवेशनले कम्तीमा २० प्रतिशत चालीस वर्ष मुनिका जिम्मेवार कमरेडहरूलाई पार्टीको केन्द्रीय कमिटीमा समेटेर युवामैत्री पार्टीको परिचयलाई अझ फराकिलो बनाउन महाधिवेशनले विशेष योगदान गर्नेछ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘महाधिवेशन प्रतिनिधि कमरेडहरूले पनि सदियौँदेखि उत्पीडनमा परेका क्षेत्र र समुदायलाई मूलधारको नेतृत्वमा स्थापित गर्न विशेष भूमिका खेल्नुहुनेछ भन्ने विश्वास गरेका छौँ ।’

अनेरास्ववियु १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारलगायत जनपरिचालनमा लागेको पनि उल्लेख गरिएको छ । ‘भौतिक रूपमा चितवनको नारायणी नदी किनारमा उद्घाटन भएपनि समग्र मुलुक भरिका आम शोषित पीडित जनताले सिङ्गो एमालेले महाधिवेशनबाट के उद्घोष गर्छ भनेर हेरिरहेका छन् । नेपाली जनताको जनादेश बोकेको हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले)लाई समग्र विद्यार्थी, युवा, वृद्ध, अपाङ्ग, असहाय, अल्पसङ्ख्यक, मुस्लिम, थारु, मधेसी, पिछडिएको क्षेत्र, जनजाति, एकल महिला लगायतका सम्पूर्ण समुदायले आफ्नो सहारा र भविष्यको रूपमा हेरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *