बार अध्यक्षलाई प्रधान न्यायाधीशको निम्तो, एक्लै नजाने श्रेष्ठको अडान

काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएका छन् । प्रधान न्यायाधीश जबराले ‘सल्लाह गरौँ’ भन्दै बोलाएको अध्यक्ष श्रेष्ठले मकालुखबरलाई जानकारी दिए । यद्यपि आफूले ‘एक्लै आउँदिनँ’ भने जबाफ दिएको उनले बताए । ‘त्यहाँ कार्यक्रम हुँदैगर्दा उहाँले त्यो भन्नुभएको रहेछ । मलाई त्यहाँका साथीहरूले भन्नुभएकाे थियाे,’ अध्यक्ष श्रेष्ठले भने, ‘म गइनँ र एक्लै जाने पनि छैन ।’

जे गर्ने बारकै पदाधिकारीहरूकाे सहभागितामा गर्ने अध्यक्ष श्रेष्ठकाे जिकिर छ । ‘एक्लाएक्लै छलफल गरेर हुनेवाला केही देखिनँ मैले । हुने भए अहिलेसम्म भइसक्थ्यो । अब हुँदैन । एक्लै म आउँदिनँ भनेको थिएँ । हामीले जे गरेपनि साझा रूपमा गर्नेछाैँ । म एक्लै गएर केही हुँदैन । समयकाे बर्बादी मात्रै हाे ।’

कानून व्यवसायी र प्रहरीबीचको ठेलमठेलापछि प्रधान न्यायाधीशले अध्यक्ष श्रेष्ठलाई वार्ताका लागि बोलाएका थिए । त्यसबीचमा कानून व्यवसायीहरूले ‘भ्रष्ट प्रधान न्यायाधीश राजीनामा दे !’ लगायतका नाराहरूसमेत लगाएका थिए । यसपछि प्रधान न्यायाधीश जबराले अध्यक्ष श्रेष्ठले समस्याका समाधान गर्ने भन्दै बोलाएका हुन् ।

अहिले पनि बार पदाधिकारीहरूकाे बैठक बसिरहेकाे छ । ‘अहिलेको मितिसम्म केही भएन । हामी धर्नामा छौँ । उहाँ (प्रधान न्यायाधीश) को ध्यानाकर्षण गर्ने काम पनि धेरै गर्‍याैँ । तर उहाँ चल्नुभएन । अब बैठक बसिरहेको छ । बैठकबाट यथास्थितिमा कसरी जाने भन्नेबारे छलफल भइरहेको छ । अब नयाँ तरिकाले सायद अगाडि बढ्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *