प्रधान न्यायाधीशले बोलाएको बैठकमा नजान परिषद् सदस्यहरूलाई बारको पत्र

काठमाडौँ । नेपाल बार एशोसिएशनले न्यायपरिषद्को बैठकमा नजान सदस्यहरूलाई पत्र पठाएको छ । एशोसिएशनले पत्र लेख्दै प्रधान न्यायाधीश चोलेन्द्रशमसेर जबराले बोलाएको बैठकमा नजान आग्रह गरेकाे बारका एक अधिकारीले बताए ।

उनकाअनुसार प्रधान न्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको बारले बुधबार न्यायपरिषद्का सबै सदस्यहरूलाई पत्र पठाउँदै यस्तो आग्रह गरेको हो । ‘सम्पूर्ण रूपमा न्यायिक जगत मात्र नभई आम नागरिकसमेतको विश्वास गुमाएका उहाँ (प्रधान न्यायाधीश) ले न्यायपरिषद्को बैठक डाकी थप विकृति, विसंगतिजन्य कार्य गर्न लगाउन कोसिस गर्ने टड्कारो आशंका देखिएकाले बैठकमा उपस्थित नभई अवज्ञा गर्न आग्रह गरिएको हो,’ ती अधिकारीले भनेका छन् ।

प्रधान न्यायाधीश अध्यक्ष हुने परिषद्‌मा अन्य चारजना सदस्यहरू हुन्छन् । उनीहरू सबैलाई पत्र पठाइएको हो । बारले प्रधान न्यायाधीशको राजीनामा माग्दै आएको छ । उसले न्यायालयको सुधार आफ्नो पहिलो एजेण्डा भएको उल्लेख गर्दै प्रधान न्यायाधीश जबराले राजीनामा दिनुपर्ने अडान दोहोर्‍याउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *