स्क्विड गेम : विश्वभर बढ्दै कोरियाली ड्रामाको लत 

काठमाडौँ । यदि कसैलाई स्क्विड गेम हेरेपछि आफूले बच्चामा खेलेको खेल सम्झिएर खुसी लाग्नुको सट्टा डर लाग्न थाल्छ भने यस्तो हुने व्यक्ति ऊ एकजना मात्र होइन । यो ड्रामा हेर्ने धेरैले यस्तो महसुस गरेको बताएका छन् । थ्रिलर सिरिज ‘स्क्विड गेम’ बाल्यावस्थामा खेलिने सामान्य खेललाई जोखिमपूर्ण ढंगबाट खेलाएर खेलसँगै पैसासमेत जित्न सकिनेबारेमा छ ।

ऋणमा डुबेर मानसिक तनाव व्यहोरिरहेका मानिसहरू आफ्नो ऋण तिर्नका लागि जस्तोसुकै जोखिमयुक्त कदम चाल्नसमेत पछि नपर्ने सन्देश स्क्विड गेमको पहिलो सिजनमा दिन खोजिएको छ । यसमा जम्मा ६ वटा बाल्यावस्थामा खेलिने खेल राखिएका हुन्छन्‚ ६ वटामध्ये कुनै पनि गेममा हार्नेले ज्यान गुमानुपर्ने हुन्छ ।

नेटफ्लिक्समा रिलिज भएको २८ दिनमा यो सिरिज ११ करोडभन्दा बढीले हेरिसकेका छन् । ब्लुमबर्गको एक रिपोर्टअनुसार नेटफ्लिक्सले ‘स्क्विड गेम’को मूल्य करिब ९ सय मिलियन हुने अनुमान लगाएको छ ।

स्क्विड गेमका मुख्य कलाकार : पार्क हे सू र ली जुंग जे

योभन्दा पहिले नेटफ्लिक्समा सबैभन्दा धेरै हेरिएको सिरिजमा ‘ब्रिजस्टोन’ थियो । यसको रेकर्डलाई ‘स्क्विड गेम’ले तोडेको छ । यसबाट पनि कोरियन ड्रामालाई विश्वभरिका दर्शकले कति मन पराउँछन् भन्ने अड्कल काट्न सकिन्छ ।

‘कोरियाली सभ्यताको सूनामी’

स्क्विड गेम सर्वाधिक चल्नुको अर्को कारण पश्चिमी देशमा केही वर्षयता आएको ‘कोरियन सभ्यताको सूनामी’लाई पनि लिन सकिन्छ । ‘के–पप’का कलाकार बीटीएस र ब्ल्याक पिङ्कले सांगीतिक संसारमा आफ्नो ठूलो नाम स्थापित गरिसकेका छन् ।

चलचित्रको कुरा गर्ने हो भने प्यारासाइट र मिनारीले ओस्कार अवार्ड जितेका थिए भने स्क्विड गेमले अहिले यहि ट्रेन्डलाई पछ्याएको छ । सामान्य रुपमा सोच्दा कोरियन ड्रामालाई रातारात सफलता मिलेको छ भन्ने लाग्न सक्छ‚ तर त्यस्तो भने होइन । कोरियन ड्रामा एसियामा दशकौँदेखि प्रचलित छ ।

गत वर्षको ओस्कार अवार्डमा ‘प्यारासाइट’ चलचित्रबाट बेस्ट डायरेक्टर, बेस्ट स्क्रीनप्ले र बेस्ट पिक्चर जितेका ‘बोंग जून हो’

१९९० को दशकमा जापानको अर्थतन्त्र दिन प्रतिदिन खस्कँदै गएको थियो भने चीनको अर्थतन्त्र भने उक्सिँदै गइरहेको थियो । ठ्याक्कै त्यही दशकमा दक्षिण कोरियाको सभ्यता विश्वसामु परिचित हुन सुरु भयो ।

 अमेरिकी कार्यक्रमको तुलनामा दर्शकहरू कोरियन ड्रामाप्रति बढि लगाव राख्न थाले । कोरियन ड्रामा चिनिया संस्कृति र सभ्यतासँग धेरै नजिक छ । पछिल्लो एक दशकमा कोरियन ड्रामाले जापानी वर्चश्वलाई समेत चुनौती दिएको थियो ।

सन् २००३ मा रिलिज भएको कोरियन ड्रामा ‘विन्टर सोनाटा’ जापानका २० प्रतिशत दर्शकले हेरेका थिए । ‘कोरियन कल्चर एन्ड इन्फरमेसन सर्भिस’ले २०११ मा तयार पारेको रिपोर्टअनुसार ‘एशियाली देशहरूमा कोरियन ड्रामाले त्यहाँको रहनसहन र वस्तु खरिद(बिक्रीमा समेत प्रभाव पारेको’ उल्लेख गरिएको थियो । यस्तो ड्रामाले कोरियन सभ्यताकै बारेमा बताउँछ ।

प्यारासाईटको सफलता 

ड्रामा फिबरजस्ता स्ट्रिमिङ सर्भिस आउन थालेपछि संसारभरका मानिसहरूका लागि कोरियन ड्रामा हेर्न सम्भव र सहज हुँदै गयो । यसले गर्दा कोरियन ड्रामाले नयाँ दर्शक पनि त्यतिकै मात्रामा पाउन थाल्यो ।

जब यो प्रचलित हुँदै गयो‚ नेटफ्लिक्स र हुलुजस्ता ओटीटी प्ल्याटफर्मले पनि कोरियन ड्रामाप्रति चासो देखाउन थाले । सन् २०१८ मा जब वार्नर ब्रदर्सले ड्रामा फिबरलाई बन्द गरिदिए । त्यसपछि नेटफ्लिक्सले आफ्नो लगानी अझै बढायो ।

कोरियन नाटकका प्रख्यात कलाकार : जी चैंग के

त्यसपछिको २ वर्ष नेटफ्लिक्सको सब्सक्राइबर पनि बढे र कोरियन ड्रामाका दर्शक पनि । सन् २०१९ मा रोमान्टिक ड्रामा ‘क्रस ल्यान्डिङ अन यू’ले दर्शकको धेरै माया पायो । जापानमा २ सय २९ दिनसम्म यो उत्कृष्ट १० को सूचीमा रह्यो ।

 यो ड्रामा अमेरिकामा सन् २०२० को मार्च २१ देखि मार्च २७ सम्म सबैभन्दा धेरै हेरिएको कार्यक्रमको सूचीमा ६ नम्बरमा रहन सफल भएको थियो । योसँगै चलचित्र प्यारासाईट दर्शकले अत्यधिक हेर्नररुचाउन थाले ।

त्यसपछि कोरोना महामारी फैलियो । महामारी फैलिएसँगै पश्चिमी देशको मनोरञ्जन उद्योग करिब करिब बन्द भयो । तर कोरियन ड्रामाको क्रेज भने अझै बढ्दै गयो । नेटफ्लिक्सले बताएअनुसार एसियामा कोरियन ड्रामा हेर्ने दर्शक सन् २०१९ को तुलानामा २०२० मा ४ गुणाले बढेका थिए ।

यथार्थभन्दा टाढाको कथा 

‘धेरैजसो कोरियन ड्रामा स्टाइलिस र चमकधमकले भरिएको र यथार्थभन्दा धेरै परको हुन्छ । त्यसैले यस्ता ड्रामाले मानिसलाई कल्पनामा बाँच्न र यथार्थबाट टाढा जान सहयोग गर्छ ।

केही अप्रिय वर्षपछि मानिसहरू त्यस्तै किसिमका मनोरञ्जनतर्फ ढल्किँदैछन्‚ जसले उनिहरूको मनलाई खुसी पार्न सकोस्‚’ कोरियन ड्रामा मन पराउने बेलायतकी एक लेखक टेलर-डिओर रंबल भन्छिन्, ‘यस्ता धेरै कोरियन सिरिज‚ फिल्महरू छन्‚ जुन फरक एङ्गलबाट बनाइएका छन् । कथा पनि अरुभन्दा फरक हुन्छ । ब्रिटिस अथवा अमेरिकन च्यानलमा यस्ता कार्यक्रम नै हेर्न पाइँदैन ।’

फेन्टासी, हाइफाई, थ्रिलर सबै भएको र परिवारसँग सँगै बसेर हेर्न मिल्ने गरी निर्माण गरिने भएकाले पनि कोरियन ड्रामालाई विश्वभरका दर्शकले मन पराएको हुनसक्ने उनको आकलन छ । ‘कोरियन ड्रामामा नग्नता र यौनजन्य दृश्य छैनन् ।

कोरियन समाज तुलनात्मक रुपमा बढी रुढीवादी भएकाले पनि अरु सभ्यताका मानिसले त्यहाँ निर्मित फिल्म‚ सिरिजहरूलाई सहजै स्वीकार्न सक्छन्‚’ उनी भन्छिन्‚ ‘युवा पुस्ताको तनावलाई पर्दामा उतार्ने भएकाले युवा पिढी पनि कोरियन ड्रामाप्रति आकर्षित हुँदै गएका छन् ।’

युवाहरूसँगको प्रत्यक्ष सम्बन्ध 

संसारभर धनी र गरिबबीचको दूरी बढ्दै गएको छ । यो दूरी अझ बढ्दै जाने प्रक्षेपणहरू पनि उत्तिकै भएका छन् । चलचित्र प्यारासाईटले यो वास्तविकतालाई सबैको अगाडि ल्याएको छ । ‘स्क्विड गेम’ले पनि यस्ता धेरै तनावलाई देखाएको छ ।

टेलर भन्छिन्, ‘यसमा धेरै समस्या र तनावलाई देखाइएको छ । ऋणका कारण हुने तनावले गर्दा दर्शकले यसलाई आफूसँग तुलना गर्ने भएकाले पनि यस विषयलाई नजिकबाट महसुस गर्छन् । खासगरी महामारीको समयमा‚ जुन समयमा व्यक्तिका लागि आर्थिक रुपमा परिस्थिति अन्य समयको भन्दा कठिन रह्यो ।’

बीबीसी हिन्दीबाट अनुवादित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *