दसैंमा योगेश्वरको ‘दसैं नै हो कि यो मेरो दशा…’

काठमाडौँ । दसैं हुने खानेका लागि ‘बडा’ दसैं भए पनि हुँदा खानेहरूका लागि दशा बन्ने गर्छ । त्यसैले त हरेक दसैंमा योगेश्वर अमात्यको गीत ‘दसैं नै हो कि यो मेरो दशा’ले चर्चा पाउने गर्छ । सीमित गीत गाउने योगेश्वरका अधिकांश गीत चर्चित छन् ।

जब सन्ध्या हुन्छ, लैजा चरी, तिम्रो आँखालगायत धेरै गीत चर्चाको शिखरमा छन् । करिब २ दशकअघि उनले गएको दसैं गीतले अहिले भने उनी स्वयंलाई दुखी बनाउने गर्छ ।

दसैं नै हो कि यो मेरो दशा फर्की आएको
वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको

दसैं खुसीयालीको पर्व भएकाले यो गीतले मुड बिगार्ने गर्छ । तर गहिरिएर सोच्दा घर मुलीलाई भने दसैं दशा बराबर भएको हुन्छ । उनीहरूको जिम्मेवारी पूरा गर्नेअनुसारको कमाइ नहुँदा ऋण लिएर भए पनि गर्जो टार्नुपर्ने हुँदा गीतमा सत्यता भएको उनी स्वीकार्छन् । जे भए पनि उनलाई दसैं हर्षोल्लास ल्याउने खुसीको पर्व नै हो भन्ने लाग्छ ।

मदिरा मोह
योगेश्वरको मदिराको पारखी हुन् । आफूले लेख्दा‚ सङ्गीत सिर्जना गर्दा वा गाउँदा पनि उनी मदिरा प्रेममा पर्ने गरेको उनी नै बताउँछन् । नयाँ ग्याजेट, परिकार वा भ्रमण भन्दा पनि आफूलाई मदिरा प्रिय लाग्ने उनी बताउँछन् । उनले खुल्लमखुल्ला भन्ने गरेका छन्, ‘कर तिरेको मदिरा खादा नराम्रो सोच्नुपर्ने के नै छ र ? तर आफ्नो पेटमा पुग्ने भएकाले क्वालिटीमा भने ध्यान दिनुपर्छ । मान्छे नेवारी ऐलामा समेत पानी मिसाउँछन् । यस्तो भने मलाई मन पर्दैन । मदिरा पिएर सङ्गीतमा झुम्नुको मजा नै अलग छ ।’ उनको गीत ‘जब सन्ध्या हुन्छ’मा समेत सोमरसको चर्चा कलात्मक रूपमा भएको छ ।

सञ्चार माध्यममा पातलो उपस्थिति
योगेश्वर अहिले बेलायतमा छन् । उनलाई सञ्चार माध्यमको नजिक नभएको आरोप पनि लाग्ने गर्छ । तर यो विषयलाई उनी नकार्छन् । देश बाहिर नै भएपछि त उनलाई भेट्न पनि गाह्रो छ । उनलाई गायकको रूपमा चिनाउनुमा सञ्चार माध्यमको ठुलो हात छ रे । तर झ्याप्प बोल्दा राजनीतिक विषयमा बोलिने, नेताको गलत कामको विरोध गर्दा ‘आफ्नै टाउकोमा टुटुल्को उठ्ने हो कि ?’ भन्ने डरले पनि उनी तर्किने गर्छन् । अन्यथा उनलाई आफ्नो अनुभव दर्शकसम्म पुग्दा खुसी नलाग्ने कुरै भएन ।

लाठी समाउने प्रहरीलाई फूल
गुठी विधेयकको विरोधमा आन्दोलन चल्दै थियो । नेवार समुदायविरुद्धको कदम बढ्दै काठमाडौँका अधिकांश स्थानीयबासीहरू सडकमा उर्लिएका थिए । आन्दोलन र लाठी मुङ्ग्री सामान्य नै भयो । तर योगेश केही भिन्न देखिए । उनले प्रहरीलाई पुष्प (फूल) बाँड्दै गरेको देखिए । उक्त समय उनी हातमा फूल र पानीको बोतल लिएर मुस्कानसहित खटिएको देखिन्थे ।

योगेश्वर आफ्नो संस्कार, संस्कृति, परम्पराप्रति सदैव सजग छन् । उनलाई खानामा समेत विशेष रुचि छ । अझ नेवारी खानाले त उनलाई छुट्टै रूपमा आकर्षित गर्छ । नेवारी भाषा र संस्कृति बचाउन पनि उनी लागिरहेका हुन्छन् । यस्तै यस्तै विषयले उनी अरूभन्दा भिन्न छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *