भद्रगोल खाजा कार्यक्रम : विद्यार्थी जाउली खाएर घर फर्किन्छन्

रौतहट (यमुनामाई) । आइतबार दिउँसोको २ बजेको थियो । विद्यार्थीहरू विद्यालयको मुख्य गेटबाट बाहिर निस्कन लाइनमा बसेका थिए । कोही गेट ठेल्दै थिए भने कोही लाइनमा कतिबेला बाहिर निस्कन पाइएला भनेर बसेका थिए । मुख्य गेटको लाइन बसेका विद्यार्थीको कारण बाहिरबाटभित्र पस्नेलाई पनि निक्कै अप्ठेरो थियो । गेटमा विद्यार्थी छेक्न बसेकी विद्यालयकी सहयोगी ईस्लामुन कवारिनलाई रोक्न हम्मे परेको देखिन्थ्यो ।

मुख्य गेटको भित्र भोज खान लाइनमा बसेको जस्तै गरी विद्यार्थीहरू भुईँमा लाइन लागेर केही खाँदै थिए । गेटमा पुगेका विद्यार्थीहरू पनि त्यसै गरी लाइन लागेर केही खाएरै घरतर्फ जाने तयारीमा गेटमा पुगेका हुन् । गेटमा बसेकी कवारिनले विद्यार्थी रोक्दै भन्दै थिइन्, ‘खाजा खायो हिँडिहाल्यो ।’

कोही हतारमा खाएर निस्किएका, कोही खाँदै गरेका त कोही आफूले खाएको थाल धुँदै गरेको देख्दा विद्यालयको अवस्था भद्रगोल देखिन्थ्यो । विद्यालयका प्रधानाध्यापक विद्यार्थीको खाजाको लेखाजोखा गर्न खाजा बनाएको कोठा तिरै देखिन्थे । उनलाई विद्यार्थीको सङ्ख्या जोड घटाउन मिलाउनु पर्ने व्यस्तता जस्तै देखिन्थ्यो । खाजा खानभन्दा पहिला न विद्यार्थीले हात धोए न खाजा खाएपछि नै हात धुन पाए । उनीहरू हतारमा गएर खाजा खान भुईँमा बस्थे, हतार हतार खाएर आफूले खाएको थाल बाल्टीमा चोबल्थे र चौरमा फालेर विद्यालयबाट बाहिरिने हतारोमा देखिन्थे ।

यो अवस्था प्रदेश २ को रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नम्बर ४ सरुअठामा रहेको जनता माध्यमिक विद्यालयको हो । आइतबार दिउँसोको यो दृश्य विद्यालयको लागि नयाँ थिएन । तर बाहिरबाट जाने जो कोहीलाई यो दृश्यले तानिरहेको थियो । विद्यालयबाट बाहिर निस्कनेको ठेलमठेल त थियो नै खाएर बाल्टिनमा रहेको पानीमा भाँडा चोबल्न पनि उस्तै । विद्यालयका शिक्षक तथा अन्य कर्मचारी रमिते देखिन्थे । नेपाली भाषा नबुझ्ने र बोल्न पनि नजान्ने कक्षा ६ का दिलसाद मोहम्मदले इसाराको भरमा यस्तो समस्या सधैँ हुने गरेको सुनाए ।

आइतबार बालबालिकालाई दिवा खाजाको रूपमा जाउलो खुवाइएको थियो । थालमा दिइएको जाउलो खानका लागि उनीहरू टाढा टाढाबाट विद्यालय आउँछन् । यसरी विद्यालय आउने बालबालिकाहरू दिउँसोको टिफिन टाइमसम्म विद्यालयमा बस्ने र खाजा खाए लगत्तै फेरी घर जाने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् ।

विद्यालयका प्रधानाध्यापक विन्दाराम यादवले विद्यार्थीको सङ्ख्या बढेको बताए । ४ वर्ष अघिसम्म ३ सय जना विद्यार्थी पुर्‍याउन गाह्रो परेको अवस्थामा अहिले विद्यार्थीको सङ्ख्या २ हजार नाघेको यादवले सुनाए । दिवा खाजा कार्यक्रमबाट विद्यार्थीको आकर्षण बढेको भन्न उनले छुटाएनन् । सामान्य स्वास्थ्य मापदण्डको समेत ख्यालै नगरी स-साना बालबालिकालाई विद्यालयको चिसो भुईँमा राखेर खुवाउनु अनि भाँडासमेत धुन लगाउनुले  सामुदायिक विद्यालयको अवस्थाको चित्रण गर्थ्यो । प्रधानाध्यापक यादवले विद्यालयमा दैनिक ४ सय देखि ५ सय ५० जनाले दिवा खाजा कार्यक्रममा सहभागिता जनाउने गरेको बताए । ‘कहिले ४ सय मात्र पनि हुन्छन्, उनले भने, बढी आएको बेला ५ सय ५० जना पनि हुन्छन्, यति नै भन्ने हुन्न ।’

शिक्षक नै अनुशासित भएनन् 
कक्षा ७ देखि माथि पढ्ने विद्यार्थीले अलिअलि नेपाली बोल्ने र बुझ्ने भएपनि साना कक्षाका बालबालिका नेपाली भाषा जान्दैनन् । कक्षा ८ का अमितकुमार साहले विद्यालयमा अनुशासन नै नभएको बताए । ‘पहिला शिक्षकहरू नै अनुशासित हुनु पर्ने हो, उनले भने, सरहरुले कहिल्यै पढाउनुहुन्न आएर हाजिर गरेर हिँड्ने गर्नुहुन्छ ।’

विद्यार्थी अमितले अहिलेसम्म पनि दुईवटा किताव विद्यालयले नदिएको गुनासो गरे । विद्यालयमा ६ जना शिक्षकहरू राम्रा भएपनि अरू शिक्षकले पढाउँदा पनि नपढाउने गरेको उनको भनाई छ । ‘विद्यालयलाई राम्रो गराउने हो भने पहिला कुरा त हेडसर नै दह्रो हुनु पर्छ, ती विद्यार्थीले भने, हेड सर दह्रो नहुँदा विद्यालयमा पढाई नै राम्रो हुँदैन ।’ विद्यालयमा रहेको बाल क्लबका अध्यक्ष राजनकुमार साहले  विद्यालयमा विद्यार्थीलाई अनुशासनमा राख्ने हो भने शिक्षक पनि पहिला अनुशासनमा बस्नु पर्ने बताए ।  ‘हामीले राम्रो काम गर्न खोज्दा पनि सहयोग नै हुँदैन, साहले भने, विद्यालय सरसफाइ, विद्यालयमा फुल रोप्ने राम्रो बनाउने भनेर सरह रु छलफल पनि गर्नुहुन्न ।’

विद्यालय व्यवस्थापन समितिका सदस्य तथा यमुनामाई गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष असवनी राय यादवले आफू जनप्रतिनिधिमा आएपनि विद्यालयमा धेरै काम भएको दाबी गरे । ‘विद्यालय सुधारको कामहरू हुँदैछन्,’ उनले भने, ‘भोलिका दिनमा विद्यालयलाई नमुना बनाउने तयारी गरेका छौँ ।,’ अहिलेको विद्यालयको गतिविधिलाई पनि उनले राम्रो नै भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *