बाँदर चकचके होइन

बाँदरलाई एकदमै चकचके जनावरका रूपमा लिइन्छ । धेरै चकचक गर्ने भएकाले अलि चुलबुले र छटपटे मानिसलाई कस्तो बाँदर जस्तो भन्ने गरिन्छ । तर खास कुरा त्यसो होइन । बाँदर चकचके नभएर एक उत्सुक जनावर हो ।

हामी यो संसारमा भएका जीवित प्राणीमध्ये बाँदर प्रजाति मानिसपछि सबैभन्दा बढी मस्तिष्क क्षमता विकास भएको प्राणी हो । मानिसजस्तै वन मान्छे भनिने बाँदर प्रजातिकै चिम्पान्जी, सानो चिम्पान्जी संसारमै मानिसपछिको सबैभन्दा बुद्धिमान प्राणी हो । यसको हामी मानिससँग ९८ प्रतिशत क्षमता मिल्छ । बाँदरको मस्तिष्क क्षमताकै कारणले गर्दा बाँदरले हरेक कुरा खोजतलास गर्ने, हेर्ने/बुझ्ने, अनि आफूलाई निश्चित भइसकेपछि मात्र उपयोग गर्ने गर्दछ ।

त्यसैले बाँदरलाई हामीले हेर्दा चकचके भएको, केही न केही बिगारिरहेको, उफ्रिरहेको भन्छौँ‚ तर त्यसो होइन । रुखका हाँगा हाँगामा ऊ यसै कुदिरहेको हुँदैन । वास्तवमा बाँदरले ती हाँगाहरू भाँचिन्छन् कि भाँचिँदैनन् भनेर जाँच/पडताल गरिरहेको हो । ऊ हाँगा नभाँचिने निश्चित गरेर मात्र हाँगा समातेर यता उता उफ्रन्छ ।

त्यस्तै कुनै चिज देख्यो भने आफूले चपाएर स्वाद लिएर हेर्नैपर्ने स्वभाव हुन्छ बाँदरको । त्यही भएर बाँदर हरेकजसो कुरा पहिलोपटक टोकेर हेर्छ, स्वाद लिन्छ, के कस्तो छ बुझ्छ‚ अनि मात्र खाने नखाने निर्णय गर्छ । जस्तो: सहर बजारतिर बिजुलीका वा अरू पनि तारहरू अथवा खान नहुने अरू चिज पनि उसले खान हुन्छ कि भनेर टेस्ट गरिरहेको हुन्छ । जङ्गली अवस्थाका हरेक चिज जनावर र प्राणीले हरेक दिन जाँचिरहेका हुन्छन् । यदि उनीहरूलाई अनुकूल हुन्छ भने उपयोग गर्छन् र अनुकूल नहुने छ भने उपयोग गर्दैनन् ।

उनीहरूले कुनै पनि चिज परीक्षण गरेर वा चाखेर प्रमाणित गर्छन् । अनुभव बटुलिरहने हुनाले हरे कचोटी हरेक चिजलाई जाँच गरिरहेका हुन्छन् ।

तपाईँ हामीले पनि देख्छौँ कि कुनै खेलौना अथवा कुनै चिज ल्याएर अगाडि राखियो भने  भर्खर बामे सर्नै बच्चाले समातेर जिब्रोले छुन्छ वा मुखमा हाल्छ । यसको मतलब‚ उसको मुखमा भएका तन्तुबाट‚ नशाबाट उसले त्यो काम लाग्ने हो/होइन, मिठो छ/छैन, तातो छ कि चिसो छ, स्वाद छ/छैन अथवा घोच्छ/घोच्दैन भन्ने कुरा खुट्याइरहेको हुन्छ । जिब्रोबाट थाहा पाउँछ । यस्तै जनावरमा पनि बाँदर प्रजातिकै प्रायः मुखले चाख्ने हुनाले हामीले चकचक गरेको भन्छौँ । तर त्यो वास्तवमा बाँदर प्रजातीये अनुसन्धान गरिरहेको हो । आफूलाई काम लाग्ने अथवा नलाग्ने,नोक्सान हुने वा नहुने, स्वाद वा बास्ना मन पर्ने वा नपर्ने भनेर जाँचिरहेको हो ।

अरूले गरेको सिक्ने काम सबैभन्दा बढी बाँदरले नै गर्छ । अन्य प्रजातिहरूले देखेर कममात्र सिक्छन् । धेरै दिनपछि मात्रै सिक्छन् । जस्तो: जङ्गलका मृगहरूले भात नखान सक्छन्‚ तर हाम्रो घरमा पालेको गाई, गोरु, बाख्राहरूले सबै मानिसले खाएको देखेर धेरै वर्षपछि भात‚ दाल‚ खोलेहरू खान थालेका हुन् । बाँदरले चाहिँ देखेर पनि थाहा पाउँछ । अनुसन्धानबाट मैले के थाहा पाएको छु भने मानिसले खनेको देखेर माटोमुनि पनि केही चिज छ भनेर बाँदरले याद गरिहरेको हुन्छ । त्यो खनेको आलुको बोट उखालेर हेर्दा डल्लो देखेपछि त्यो खानहुन्छ कि भनेर टेस्ट गर्दै हेर्दा उसले आलु खान सिकेको हो ।

त्यस्तै पूर्वी नेपालतिर बाँदरले धेरै दुःख दियो भनेपछि अलैँचीको बिरुवा लगाइयो । फलेको पहिलो वर्ष बाँदरले अलैँचीको केही पनि नोक्सान गरेनन्‚ किनभने उनीहरूले त्यो के हो भनेरै चिनेनन् । दोस्रो वर्ष मानिसले अलैँची टिपेर बोरामा वा डोकोमा राखेर लगेको देखेपछि त्यो पक्कै काम लाग्ने वा खान मिल्ने कुरा रहेछ भनेर बाँदरहरूले अनुमान गरे । त्यसपछि उनीहरूले अलैँची चाखी हेरे‚ अनि बिग्रेको वा कुहिएको बाहेक अलैँची पनि खान थाले । त्यस्तै मानिसले खाइरहेको देखेर बाँदरले पिँडालु पनि खान थाले । खुर्सानी पनि खान थाले । खुर्सानीको त बाँदरले कतिसम्म थाहा पायो भने रातो भएपछि पिरो हुन्छ भनेर हरियोमै खाइदिने गर्न थाले । यसरी सिक्ने मामिलामा मानिस पछि सबैभन्दा जान्ने भनेकै बाँदर हो । त्यसकारणले बाँदरलाई चटकेहरूले नचाउन,नाटक गर्न, स्वाङ गर्न, नक्कल गर्न सिकाएर खेलाउने गरेको पनि देखिन्छ ।

नेपालमा पाइने बाँदरहरू
नेपालमा जम्मा ६ प्रजातिका बाँदर पाइन्छन् । त्यसमध्ये तीनवटा मुख्य जाती हो । सहर बजार, काठमाडौँ अथवा धार्मिक ठाउँहरूमा पाइने राता जातका बाँदरहरू, जसलाई अङ्ग्रेजीमा रेसस मङ्की भनिन्छ । अर्काै पहाडतिर पाइने अलि ठुला खालको‚ अलि कालो खालको‚ तर हेर्दाखेरि रातो नै देखिने बाँदर हुन्छ‚ जसलाई पहरे बाँदर भनिन्छ । पहरे बाँदरको दुईवटा उपजात छ । पूर्व र पश्चिमको ।

अर्को, लामो पुच्छर भएको‚ सेतो रङ् भएको बाँदर हुन्छ, त्यो लङ्गुर बाँदर हो । यसको तराईतिर, मध्यपहाडमा र हिमालतिर पाइने गरी तीनवटा उपजात छ ।

यसरी ६ वटा उपजात र तीनवटा मुख्य जातका नेपालमा पाइन्छ । संसारभरि नै पाइएका २ सय ३४ प्रजातिका बाँदरहरूमा सबैभन्दा बढी बाँदरहरू यिनीहरू नै हुन् । जसमध्ये पनि सबैभन्दा बढी औषधि विज्ञानमा प्रयोग हुने रातो बाँदर हो ।

बाँदरबाट बालीनाली कसरी जोगाउने ?
मानिसले बाँदरबाट मात्र होइन‚ सबै खालका जनावरहरूबाट जोगिन जुन उपायहरू छन्‚ तिनको कार्यान्वयन मोटामोटी रूपमा मात्र गरे ।  र संसारभरि अहिलेसम्म हेर्दा के देखिन्छ भने‚ जनावरसँग परपर हुने प्रविधिहरू अपनाउनलाई रैथाने प्रवृत्तिहरू, रैथाने ज्ञानहरू, देश अनुकूलको, हावा पानी अनुकूलका ठाउँ अनुकूलका उपायहरू नगरेर कसैले भनेको‚ दिएको वा सिकाइदिएको भरमा गरेको संसारभरि पाइयो ।

जस्तो अमेरिका बेलायत‚ अथवा युरोपतिर या जापानतिर के गरियो‚ त्यही नक्कल यहाँ गर्न खोजियो ।

जसले गर्दा बाँदरलाई पनि पटका पड्काएर वा बन्दुक पड्काएर धपाउन सकिने उपाय अपनाइयो । तर वास्तवमा बाँदर प्रजातिहरू सिक्नका लागि अति चलाख हुने, अभ्यस्त हुँदै गएपछि केही कुरासँग पनि नडराउने चरित्रको हुन्छ भन्ने कुराबारे बुझ्नै खोजिएन । जस्तो: हामीले देख्छौँ कि सहर बजारका मठमन्दिरतिर बाँदरहरू मान्छेसँग डराउँदैनन् । मानिसले हातमा बोकेको कुरा नडराई खोसेर लान्छन् । मोटरहरू वा कुनै त्यस्तो आवाजसँग डराउँदैनन् । तर‚ गाउँघरका जगंलका बाँदरचाहिँ मानिसले एउटा सामान्य लौरो देखाउँदा पनि किन भाग्छन् त भन्दा सहरका बाँदरहरू मानिससँग वा मोटरसँग वा त्यसको आवाजसँग धुन र बोलीसँग अभ्यस्त भइसके । उनीहरू डराउँदैनन् । तर जङ्गली बाँदर अभ्यस्त हुन सकेका छैनन्, त्यही भएर डराउँछन् ।

त्यसकारण अब नेपालमा बाँदर धपाउने वा बाँदरलाई अन्नबालीबाट टाढा पार्ने हो भने नेपालको परिस्थितिमा अध्ययन हुनुपर्दछ । त्यो अध्ययन भनेको त्यो ठाउँमा कति बाँदर छन्‚ किन बाँदरहरू आए, बाँदरहरू बाली नालीमा आकर्षित हुनुको कारण के हो, त्यसको सङ्ख्या कति हो ? कुन जातको हो ? त्यसलाई के के कुराले अप्ठ्यारो पर्दछ ? के के कुरा देखेपछि बाँदर आकर्षित हुन्छ ? भन्ने कुराको अध्ययन नभइकन बाँदरलाई सोलोडोलो हात्तीलाई जस्तै बन्दुक पड्काएर, आगो देखाएर वा गैँडालाई जस्तो बिजुलीको तारमा झड्का लगाएर धपाउन सकिन्छ भन्ठान्नु नै गलत हो । किनभने बाँदरले एकचोटी त्यहाँ नोक्सान नहुने थाहा पायो भने त्यो ठाउँमा जाँदै जाँदैन । त्यो कुरालाई हेर्दै हेर्दैन । तर‚ एकपटक केही भएन भने त्यसलाई टेर्दै टेर्दैन ।

त्यसले गर्दाखेरि खास खास ठाउँका बाँदरहरूको अलग अलग अध्ययन हुनुपर्दछ । अध्ययन पश्चात्‌को प्रविधि मात्र काम लाग्छ । हाम्रा पालिकाहरूले यतातिर ध्यानै दिएनन् । हचुवाका भरमा बन्दुक किन्ने‚ पड्काउने काममा बजेट छुट्याए । एक दुई वर्ष त बाँदर हच्किए‚ तर त्यसले केही बिगार नगर्ने रहेछ भन्ने भएपछि उनीहरू डराउन छाडे, भाग्न छोडे । किनभने नोक्सान हुँदैन भन्ने बुझेपछि बाँदरले टेर्दैन ।

ठाउँअनुसार पनि बाँदरको फरक फरक स्वभाव हुन्छ । कुनै बाँदर जङ्गल घटेकाले बालीनालीमा आएको हुन्छ भने कोहीचाहिँ जङ्गलको छेउमा बालीनाली लगाएको देखेर अनि खानलाई पनि खेतबारीमा पुग्छ । यसबारे बुझ्न जरुरी छ ।

संरक्षणबारे पनि बुझ्न जरुरी
अर्को कुरा के पनि बुझ्न जरुरी छ भने संरक्षण भनेको भजनमात्रै गाउने होइन । संरक्षण भनेको मानवीय हितमा कसरी प्रयोग गर्ने भन्ने हो । मानिसलाई फाइदा भएन भने त संरक्षणको भजनमात्र गाएर के अर्थ छ र ? वन्यजन्तुको दिगो संरक्षण भनेको मानवीय हित र आय आर्जन अनि उक्त वन्यजन्तुको स्वस्थ्य र आवश्यक सङ्ख्या कायम गर्नु हो, सङ्ख्या बढाउने र छुनै हुँदैन भन्ने मात्र होइन ।

बाँदरले बाली खान्छ भने बालीनालीमा विविधीकरण गर्ने, हरेक वर्ष अलग अलग किसिमका बाली लगाउने र लगाउन प्रोत्साहन गर्ने काम गर्नुपर्छ । उपयुक्त जातका बाँदरलाई कति सङ्ख्यामा कुन जङ्गलमा अटाउन सकिन्छ‚ त्यसको अध्ययन गरी धान्न सक्ने क्षमताअनुसार राख्ने गरेर व्यवस्थित गर्न सकिन्छ ।

बाँदरको स्वभाव ठाउँअनुसार फरक हुन्छ । जस्तो: अर्घाखाँचीका बाँदरले महिलालाई बढी दुःख दिन्छ । अनि कास्कीमा फलफूल खाइदिन्छ भने मकालुतिर मकै खाएर दुःख दिने गरेको छ । मेलम्चीतिर विद्यालय जाने विद्यार्थी सबैलाई लखेट्छ । यसरी हेर्दा सबै ठाउँको समस्या फरक फरक छ । फरक फरक समस्यालाई त्यही ठाउँमा गएर अध्ययन गरेर त्यही अध्ययनका आधारमा कुनै ठाउँका बाँदर औषधि विज्ञानमा काम लाग्छन् कि लाग्दैन भन्ने बारेमा उपयोग गर्ने भनेर सोच्नुपर्दछ । यसरी सोचियो भने बाँदरका समस्या बिस्तारै समाधान गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *