विवेकशील साझाका प्रवक्ता भन्छन्- ‘संयोजकले इगो त्याग्नुपर्छ’

अध्यक्षले बोलाएको बैठक वैधानिक

काठमाडौं । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले अध्यक्ष रवीन्द्र श्रिमले बोलाएको बैठक वैधानिक भएको दाबी गरेका छन् । ‘अध्यक्षले बोलाउनुभएको बैठक वैधानिक हो,’ प्रवक्ता पाठकले मकालुखबरसँग भने, ‘वरीयताको हिसाबले पनि अध्यक्ष भनेको अध्यक्ष नै हो । अन्य गुटगत भेलाबारे केही टिप्पणी गर्नु छैन ।’

पार्टीको बिहीबार (आज) छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दैछ । अध्यक्ष मिश्रले आह्वान गरेको बैठक साढे १२ बजे बस्ने हुँदा संयोजक मिलन पाण्डेले आह्वान गरेको बैठक ११ बजेबाट शुरु भएको छ । आफूहरुले अध्यक्षलाई एक्लाएक्लै आह्वान भएको बैठक रोकेर संयुक्त बैठक बोलाउन आग्रह गरेपनि नमानेपछि आफूहरुले पनि समानान्तर बैठक बोलाउन बाध्य भएको केन्द्रीय सदस्य महेश पाठक बताउँछन् । ‘आग्रह गर्दा पनि सम्बोधन नभएपछि समानान्तर गतिविधिमा उत्रिनु कर लाग्यो,’ पाठकले भनेका छन् ।

प्रवक्ता पाठकले भने संयोजकले आह्वान गरेको बैठकलाई गुटगत भेलाको संज्ञा दिएका छन् । विधि, विधान र सहमतिविपरीत संयोजकले बैठकको आह्वान गरेको प्रवक्ता पाठकको ठम्याइँ छ । ‘अध्यक्षले बैठक बोलाउनुभएको छ आउनुस् भनेर हामीले भनेकै छौँ,’ प्रवक्ता पाठकले भने, ‘अब उहाँहरुले नमानेर सहमतिविपरीत छुट्टै बैठक बोलाउनुहुन्छ भने त्यो गुटगत भेलाबाहेक केही हुन सक्दैन । हामीले कुनै टिप्पणी गर्नु छैन । अहिलेसम्म पार्टीलाई यसैगरी बन्दी बनाइयो । उहाँ (संयोजक) ले आफ्नो इगो त्याग्नुपर्छ ।’

‘हामीसँग केन्द्रीय समितिमा बहुमत हुनुहुन्छ’

प्रवक्ता पाठकले आफूहरुसँग झन्डै दुईतिहाइ केन्द्रीय सदस्यहरु भएको दाबी गरेका छन् । अध्यक्षले आह्वान गर्नुभएको बैठकमा कतिको संख्यामा केन्द्रीय सदस्यहरुको सहभागिता रहन्छ ? भन्ने जिज्ञासामा प्रवक्ता पाठक भन्छन्, ‘स्पष्ट बहुमत हामीसँग छ । यद्यपि अहिल्यै हामी बहुमतको धाक पनि लाइहाल्दैनौँ । पार्टीलाई एकताबद्ध रूपमै अगाडि बढाऔं भन्दैछौँ अहिले पनि । तर, बहुमतकै कुरा गर्दा त हामीसँग झन्डै दुईतिहाइ नै छ ।’

पार्टीको १३० सदस्यीय केन्द्रीय समितिमा प्रायःले बैठकमा सहभागिता जनाउने प्रवक्ता पाठकको भनाइ छ । ‘हामीलाई त लाग्छ सबै साथीहरु यही बैठकमा आउनुहुन्छ,’ प्रवक्ता पाठकले भनेका छन् ।

‘पार्टी विभाजनबारे सोचेकै छैनौँ’

पार्टी विभाजनबारे आफूहरुले नसोचेको प्रवक्ता पाठकको भनाइ छ । ‘हामीले पार्टी विभाजनसम्म सोचेका छैनौँ,’ प्रवक्ता पाठकले भने, ‘उतापट्टिका साथीहरुले पनि त्यहाँसम्म सोच्नुभएको नहोला । कसरी हुन्छ पार्टीलाई एक बनाएरै अगाडि बढाऔँ भन्ने छ हामीलाई ।’

केन्द्रीय सदस्य तथा नेता प्रकाशचन्द्र परियार पनि उही दोहोर्याउँछन् । पार्टी विभाजनतिर नजाओस् भनेरै साढे १२ बजेको बैठकअगावै अध्यक्ष मिश्रले एक आह्वान गरेको परियार बताउँछन् । अध्यक्ष मिश्रको आह्वानलाई उद्धृत गर्दै नेता परियारले भने, ‘हामी यो स्थितिसम्म कसरी पुग्यौँ भन्ने कुराको प्रष्टीकरण म मेरो तर्फबाट पनि दिन्छु । मिलनजीलगायतका साथीहरु पनि यही बैठकमा आउनुस् र आफ्नो कुरा राख्नुस् । पार्टीको हितमा निष्कर्ष निस्कन्छु भन्नेमा म विश्वस्त छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *