संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड

काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदीय बहसलाई तथ्यमा आधारित, मर्यादित र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् ।

६८ औँ संसद दिवसका अवसरमा मङ्गलवार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष दाहालले लोकतन्त्रको प्राण संवाद भएको उल्लेख गर्दै संसदलाई जनताको सार्वभौम इच्छाको संस्थागत अभिव्यक्ति दिने सर्वोच्च मञ्चका रूपमा परिभाषित गरे ।

संसद्मा उठ्ने आवाजहरू जनप्रतिनिधिको व्यक्तिगत विचार मात्र नभई जनताको भावना र आवश्यकताको प्रतिबिम्ब हुनुपर्ने उनको भनाइ थियो ।

कानून निर्माण, कार्यपालिकामाथिको निगरानी, बजेट तथा सार्वजनिक नीतिको समीक्षा र जनचासोका विषयमा उत्तरदायित्व सुनिश्चित गर्नु संसदको मूल दायित्व भएको अध्यक्ष दाहालले स्मरण गराए ।

यस प्रक्रियामा संसद कति सफल भयो भन्नेबारे निर्मम समीक्षा गर्नुपर्ने बेला आएको उनले बताए । नेपालको ठूलो हिस्सा ओगटेको युवा जनसङ्ख्याका विषयमा बोल्दै अध्यक्ष दाहालले युवाहरूलाई वर्तमानको सक्रिय साझेदारका रूपमा आत्मसात गर्नुपर्ने धारणा राखे ।

युवा पुस्ताले रोजगारी, उद्यमशीलता, गुणस्तरीय शिक्षा र सुशासनको अपेक्षा राखेको उल्लेख गर्दै उनीहरूको ऊर्जालाई राष्ट्रिय विकाससँग जोड्नु राज्यको साझा दायित्व भएको उनले बताए ।

अध्यक्ष दाहालले भने, ‘लोकतन्त्रको प्राण भनेकै संवाद हो, र संवादको सर्वोच्च मञ्च भनेकै संसद् हो । संसद जनताको सार्वभौम इच्छाको संस्थागत अभिव्यक्ति हो र हुनुपर्छ ।

यहाँ उठ्ने प्रत्येक आवाज केवल प्रतिनिधिहरूको व्यक्तिगत विचार होइन; त्यो जनताको भावना, आवश्यकता र आकाङ्क्क्षाको प्रतिबिम्ब हो ।’

अध्यक्ष दाहालले युवाहरूलाई केवल अवसर खोज्ने पुस्ताका रूपमा मात्र नभई अवसर सिर्जना गर्ने शक्तिका रूपमा हेर्नुपर्नेमा जोड दिए ।

साथै, समयसापेक्ष रूपान्तरणका लागि संसदलाई ‘डिजिटल संसद्’ को अवधारणामा लैजान आवश्यक रहेको र यसका लागि पर्याप्त गृहकार्य र मेहनत जरुरी रहेको उनको भनाइ छ ।–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =