विवेकशील साझा : न नजिक, न टाढा

मिश्रले बोलाएको केन्द्रीय समिति बैठक, पाण्डे पक्षले बहिष्कार गर्ने

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले केन्द्रीय समितिको बैठक बोलाएका छन् । अध्यक्ष मिश्रले आउँदो बिहीबारका लागि बैठक बोलाएका हुन् । केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले अध्यक्ष मिश्रले बैठक बोलाएको पुष्टि गर्दै जूममार्फत बस्ने बैठकबारे सबै केन्द्रीय सदस्यलाई जानकारी गराइएको बताए । सबै केन्द्रीय सदस्य उपस्थित हुने उनले दाबी गरे ।

तर संयोजक मिलन पाण्डे पक्ष भने बैठकमा सहभागिता नजनाउने पक्षमा छ । केन्द्रीय सदस्य महेश पाठकले आफूहरूले बैठक बहिष्कार गर्ने बताए । ‘सहमतिविपरीत बोलाइएको बैठकमा हामी जान सक्दैनौँ,’ पाठकले मकालुखबरसँग भने, ‘सहमतिअनुसार भन्ने हो भने बैठक बस्न अध्यक्ष र संयोजक दुवैजनाको सहमति चाहिन्छ । त्यो भएको छैन । रवीन्द्रजीले आफ्नो मनमौजी रूपमा बोलाउनुभएको बैठकमा हामी जाँदैनौँ, बहिष्कार गर्छौँ ।’

यो पनि : वैकल्पिक राजनीतिको सिकाइ

नेता केशव दाहाल पनि बिहीबारको बैठक कुनै पनि हालतमा रोकिनुपर्ने बताउँछन् । ‘दुई दल एकीकरण गर्दा एउटा भद्र सम्झौता भएको छ । त्यो सम्झौतालाई हामीले विधानकै एउटा अंशको रूपमा मान्ने भन्ने छ । त्यसअनुसार अध्यक्ष र संयोजकको सहमतिमा मात्रै पार्टीको बैठक बोलाउने र अजेन्डासमेत साझा सहमतिमा तयार गर्ने भन्ने थियो । त्यसमा बिहीबार बैठक बस्यो भने त्यो विधानविपरीत हुन्छ । त्यो रोकिनुपर्छ‚’ दाहालले भने ।

वर्षदिन नबित्दै एकतामा ‘धरमर’
तत्कालीन साझा पार्टी र विवेकशील नेपाली दलबीच ०७७ मसिंर २४ गते पुनःएकता भएको हो । त्यसअगाडि नै ०७४ साउन ११ गते एकतामा बाँधिएर ०७५ पुस २७ गते पूर्ववत् अवस्थामा फर्किएका साझा–विवेकशील अन्ततः सँगै रहने निर्णय गर्दै पुनः एकतामा बाँधिएका थिए ।

एकचोटी एकतापछि विग्रहको बाटो रोजिसकेका यी दुई पार्टीबीच क्षमायाचनासहित पुनः एकता हुनु सुखद् पक्ष थियो । तर, एकताको वर्ष दिन पनि नबित्दै पार्टी पुनः ‘धरमराउनु’ले वैकल्पिक राजनीतिको नामलाई नै ‘कलङ्क’ भनेजस्तै भएको टिप्पणी गर्न थालिएको छ ।

एकतापछि विवेकशील साझा पार्टीको राजनीतिक रूप धारण गरेर ‘वैकल्पिक राजनीति’को हवाला दिएको यी दुई पार्टी अहिले आएर उही पुरानो राजनीतिक शैली देखिएको भन्दै समर्थकहरूले पनि आलोचना गर्ने गरेका छन् ।

दुवै समूहका नेताहरूले पार्टीभित्रको यो किचलोमा एक-आपसलाई दोष दिने क्रम जारी राखेका छन् । नेता पाठक भन्छन्, ‘रवीन्द्रजीले ‘कू’ गर्दै आउनुभयो । मार्ग परिवर्तन भनिदिनुभयो । त्यसबाहेक पार्टीभित्र विभिन्न खाले अडान, भाषण र विचार सुनाउँदै हिँड्नुभयो । यसैले अहिले पार्टीलाई यो भासमा फसायो ।’

यो पनि : मिश्रको दस्ताबेजले जन्माएको वैकल्पिक राजनीतिको प्रश्न

मिश्र पक्षका नेताहरूको पारा पनि फरक छैन । नेता प्रकाशचन्द्र परियार व्यक्तिगत दस्तावेजमार्फत मिश्रले नयाँ राजनीतिक बहसको सुरुवातमात्रै गरेको जिकीर गर्छन् । ‘पार्टीमा असन्तुष्टि सिर्जना हुनुमा उहाँ (मिश्र) मात्रै जिम्मेवार हुनुहुन्न,’ परियार भन्छन्, ‘नारामा भनिएझैँ सुसंस्कृत राजनीतिमा सबैको कारण पार्टी चुक्यो र यो आरोपप्रत्यारोपसम्म आइपुगियो ।’

‘पार्टीको नारा र व्यवहार मिलेन’
नेता केशव दाहाल पार्टी आफैँले अवलम्बन गरेको सुसंस्कृत राजनीतिको बाटोमा हिँड्न नसकेको बताउँछन् । ‘हामीले जसरी सुसंस्कृत राजनीतिको कुरा गर्‍यौँ, वैकल्पिक राजनीति गर्ने भनेर भन्यौँ, ती सबै नारामा मात्रै सीमित भए,’ नेता दाहालले मकालुखबरसँग भने, ‘पार्टीको नारा र व्यवहारमा स्पष्ट भेद देखियो ।’

पार्टीलाई विग्रहमा जान नदिन र एकता कायम राख्न आफूहरू हर्दम प्रयासरत रहेको बताउँदै नेता दाहालले थपे, ‘हामी वैचारिक बहसमार्फत् सुसंस्कृत र वैकल्पिक राजनीतिमा होमिने भन्ने थियो । त्यसमा पार्टी कतै पछाडि नै छुट्यो । हामीले यो संस्कारले हुँदैन भनेर भनेका छौँ ।’

एकता अझै कायम नै रहन्छ भन्नेमा तपाईं कति विश्वस्त हुनुहुन्छ ? भन्ने मकालुखबरको जिज्ञासामा नेता दाहालले भने, ‘अहिले पार्टीमा केही भएको छैन । सानातिना असन्तुष्टिहरू भइहाल्छन् । यसपछि दोस्रो तहको विवाद आयो भने चाहिँ पार्टीलाई विग्रहबाट बचाउन गाह्रो हुनसक्छ । तर, अहिले त त्यस्तो हुँदैन भन्नमै छौँ । र, त्यो दोस्रो तहको विवादबाट पार्टीलाई बचाउन प्रयास गरिरहेका छौँ ।’

मिश्रको दस्तावेजले बढाएको दूरी
अध्यक्ष रविन्द्र मिश्रले केही समयअघि सार्वजनिक गरेको प्रस्तावसँगै विवेकशील साझाभित्रको दूरी फराकिलो भएको थियो । मिश्रको व्यक्तिगत प्रस्ताव भनिएपनि राजनीतिका महत्वपूर्ण विषयमा दलभित्र छलफलै नगरी प्रस्ताव आउनुले दुई पक्षबीचको दूरी बढेको सहजै अनुमान गर्न सकिन्थ्यो । त्यसको केही दिनमा पाण्डे, दाहालसहितका नेताले अर्को प्रस्ताव सार्वजनिक गर्दै मिश्रलाई काउन्टरमात्र दिएनन् दलभित्र दुवै पक्ष सँगसँगै जान सक्ने अवस्था कम हुँदै गएको हो कि भन्ने शंकामा थप मलजल पुग्यो ।

अहिले पनि दुवै पक्षका नेताहरू यो मानिहाल्न त तयार छैनन् । तर दलभित्रका गतिविधिले भने यी दुई पक्षबीच दूरी बढ्दै गएको देखाउँछ । पछिल्लो उदाहरणका रुपमा अध्यक्ष मिश्रले संयोजक पाण्डेसँँग समन्वय नगरी केन्द्रीय समितिको बैठक बोलाउनु यसैको एक उदाहरण हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *