नेपाल-भारत फुटबल : ८ वर्षपछि नेपाललाई अवसर

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग पहिलो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ। नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

नेपाल र भारतबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ ।

८ वर्षपछि नेपाललाई अवसर
भारतलाई आफ्नो रवाफिलो इतिहास ‘चेक’ गर्ने अवसर हुँदा नेपाललाई भने सीमित सफलतामा अर्को इटा थप्ने मौका छ । अर्थात् नेपाललाई भारतसँग सन् २०१३ पछि पहिलो जित निकाल्दै साफ च्याम्पियनसिपमा आफू बलियो रहेको सन्देश र मनोवैज्ञानिक दबाब दिनुछ । खेल मैत्रीपूर्ण भएपनि यसले अर्को टिमलाई मात्र होइन‚ दक्षिण एसियाकै अरु देशलाई पनि सन्देश दिनेछ ।

याे पनि : दुवै टीमको जित्ने दाबी

भारत र नेपालबीच दक्षिण एसियाली खेलकुदअन्तर्गत १९८५ मा पहिलोपटक प्रतिस्पर्धा भएको थियो । त्योसहित यी दुई टीमले अहिलेसम्म १९ पटक प्रतिस्पर्धा गरेका छन् । अधिकांश खेल दक्षिण एसियाली देशहरूबीच हुने प्रतियोगितामै भएका छन् । योबीचमा नेपाल र भारतले सीमितमात्र मैत्रीपूर्ण खेल खेलेका छन् । तर, इतिहास नेपालको पक्षमा आक्कलझुक्कल मात्र छ । अर्थात् भारतले नेपालसँग विरलै मात्र हारेको छ । केही खेललाई छाड्ने हो भने नेपालले भारतलाई सधैँ टक्कर दिएको छ ।

तर‚ नतिजा भारतको पक्षमा गएको छ । १९ मध्ये भारतले १३ खेलमा जित निकाल्दा नेपालले केवल २ खेलमा जित आत्मसात् गरेको छ । बाँकी चार खेल बराबरीमा सकिएका छन् । यी खेलहरूमा भारतले नेपालको पोस्टमा ३३ गोल गर्दा नेपालले ९ गोलमात्र फर्काउन सकेको छ । त्यसो त २०१३ पछि पनि नेपाल र भारतबीच पाँच खेल भए‚ जसमा भारतले ४ खेल जित्यो । १ खेलमा बराबरीमा भारतलाई रोक्न सक्नु पनि नेपालका लागि सफलताको रुपमा मानिएको छ । पछिल्लो पटक नेपाल र भारतबीच ६ जुन २०१७ मा प्रतिस्पर्धा भएको थियो । मुम्बईमा भएको सो खेलमा भारत २-० ले विजयी भयो ।

चार वर्षपछि दुवै टीम एक अर्कासँग नयाँ अनुभव सँगाल्न मैदानमा हुनेछन् । घरेलु मैदानमा हुने भएकाले खेलमा नेपाल अलिकति बलियो अवस्थामा हुनेछ । बाह्रौँ खेलाडीको रुपमा रहने दर्शकको साथ भने पाउने/नपाउने निश्चित भइसकेको छैन । किनभने खेलमा दर्शकलाई जान दिने/नदिनेबारे एन्फाले कुनै निर्णय गरेको छैन ।

थप : टिकटदर २ हजार र १ हजार

यी दुई टिमबीच दशरथ रंगशालामा भने २०१५ पछि प्रतिस्पर्धा हुन लागेको हो । विश्वकप छनोटको दोस्रो लेगको त्यो खेलमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । त्यसपछि सन् २०१३ मा साफ च्याम्पियनसिपको समूह चरणमा नेपालले २-१ को रोमाञ्चक जित हात पारेको थियो । त्यो जीत नै नेपालको सम्झनाका रुपमा अहिलेसम्म ताजै छ ।

नेपाली टिम
गोलकीपर : किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु
डिफेन्डर : सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द
मिडफिल्डर : सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, आयुष घलान
फरवार्ड : मनिष डाँगी, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशीष लामा

भारतीय टिम
गोलकिपर : अमरिन्दर सिंह, धीरज सिंह, गुरप्रीत सिंह सिन्धु
डिफेन्डर : प्रितम कोतल, चिंलेसना सिंह, मन्दर राओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभासिश बोसे, सेरिटन फर्नान्डेस
मिडफिल्डर : ललेङमाविआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेकसन सिंह, प्रोनय हल्दर
फरवार्ड : मनवीर सिंह, रहिम अली, सुनील क्षेत्री, फारूख चौधरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *