जंगली जनावर पीडितका बयान- कतिबेला मार्छ पत्तै छैन

विराटनगर ।

घटना- १
बिहीबार बिहान अरु दिनको जस्तो झरी परेको थिएन । पानी पर्न खोजेको थियो तर‚ पानी पर्न सकिरहेको थिएन । सुनसरीको कोशी गाउँपालिकामा हल्ला चल्यो‚ जंगली हात्ती गाउँ पसेको छ । गाउँलेहरू तर्सिन थाले । प्रहरी र नेपाली सेनाको सक्रियता बढ्दै गयो । हात्तीले कहाँ के क्षति गर्ने हो भन्ने त्रास फेलिन थाल्यो । कोशीटप्पु वन्यजन्तु आरक्ष आसपासमा मकुना हात्ती भनेपछि सबै त्रसित हुन्छन् । मकुना नाम गरेको हात्ती चितवनको ध्रुवेजत्तिकै आक्रामक हात्ती हो भनेर स्थानीयले बुझेका छन् ।

No description available.

हात्तीले मान्छे नमारोस् भन्ने कामना स्थानीयले सधैँ गरिरहेका हुन्छन् । जतिसुकै कामना गर्दा गर्दै पनि बिहीबार बिहान सुनसरीको कोशी गाउपालिका-४ खत्वे टोलका ५५ वर्षीय रामेखङ्ग खत्वे हात्तिको आक्रमणमा परे ।

बिहान साढे ५ बजेको समयमा खेतीतर्फ जाने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएको एउटा जंगली हात्तीले घरसँगै टाँसिएको बीपी मेमोरियल प्राथमिक विद्यालय नजिक आक्रमण गर्‍यो । खत्वेको घटनास्थलमै मृत्यु भयो । हात्तीले आक्रमण गरेको थाहा पाएको प्रहरी टोली केहीबेरमा त्यहाँ पुग्यो । त्यहाँ पुग्दा हात्ती जंगलतर्फ जाँदै थियो । स्थानीयसहितले हात्तीलाई जंगलतर्फ लखेटे ।

हात्तीको आक्रमणबाट यहाँका धेरै स्थानीयले ज्यान गुमाएका छन् भने कतिपय अङ्गभङ्ग भएर बसेका छन् । घटना बढ्न थालेपछि स्थानीयले शवलाई राजमार्ग र आसपासको परिक्रमा गराउने तयारी गरेका थिए तर‚ त्यहाँ छलफल भएर रोकिएको स्थानीय मोहम्मद मुस्ताकले बताए ।

घटना- २
सुनसरीको कोशी गाउँपालिका- ३ प्रतिकटोलका शैनी राम आफ्नो घरमा काम गर्दै थिए ।

२०७६ सालको माघे संक्रान्तिको दिन थियो । चिसो मौसम भएकाले उनी ढिलै उठे । बिहान करिब १० बजेतिर बाहिर निस्किएर घरको केही काम गर्दै थिए । घर अगाडिको आँगनमा बसेर काम गर्दै गरेका रामलाई बाँसघारी नजिकैबाट उफ्रिँदै आएको जंगली बँदेलले लडायो ।
उनीमाथि आक्रमण गर्‍यो । जंगली बँदेललाई कुकुरले लखेटेर ल्याएको थियो । बँदेलले लडाएर रामको खुट्टा टोकिदियो । लडेका शैनी राम उठ्ने बल गर्थे तर‚ उठ्न सक्दैन थिए ।

No description available.

उनलाई जंगली बँदेलले झण्डै २० मिनेटसम्म टोकिरहको उनले सुनाए । बेहोस भएका उनले त्यसपछि के भयो थाहा पाएनन् । जब ४ दिनपछि रामको होस आयो‚ त्यो बेला उनी अस्पतालमा थिए ।

स्थानीयले उनलाई लौकहीमा रहेको उपचार केन्द्रमा लगे । त्यहाँ उपचार नभएपछि जिल्ला अस्पताल ईनरुवा पुर्‍याए‚ त्यहाँ पनि उपचार नहुने भनेपछि रामलाई नोबेल अस्पताल भर्ना गरिएको थियो । देब्रे खुट्टामा भएको सबै मासु खाएको जंगली बँदेलका कारण उनी १० दिन नोबेल मेडिकल कलेजमा बस्नुपर्‍यो । अहिले पनि उनी सहज रुपमा हिँड्न सक्दैनन् ।

उनलाई बँदेलले आक्रमण गरेर घाइते बनायो भने हात्तीले पटक पटक आक्रमणको प्रयास गर्‍यो । अहिलेसम्म ३ पटक जंगली हात्ती आएर आफ्नो घर भत्काएको रामले मकालुखबरलाई बताए ।

‘मकुना हात्तीले ५ वर्षदेखि दुःख दिँदै आएको छ, कतिबेला मार्छ या के गर्छ भन्ने ठेगान छैन,’ शैनी राम भन्छन्, ‘हामीलाई तनाव हुन्छ, त्यो हात्तीलाई कुनै डर त्रास छैन, शान दिएर हिँड्छ ।’ यस्तो आक्रामक हात्तीलाई कतै लग्नुपर्ने वा बाँधेर राख्नुपर्ने उनको माग छ ।

घटना- ३
कोशी गाउँपालिका- ४ जुद्दगञ्जका बसिर मन्सुरी ४७ वर्षका भए । गाउँमा हात्ती पसेको थाहा भयो । बसिर घरका परिवारलाई हात्तीले आक्रमण गर्ने हो कि भन्ने तनावमा थिए । त्यही डरले उनी घर पछाडि हात्ती आएको ठाउँतिर गए । हात्ती परै होला भन्ने लागेर गएका बसिरलाई देख्ने बित्तिकै हात्तीले आक्रमण गर्‍यो ।

No description available.

‘हात्ती आएको/नआएको हेर्न गएको थियो, हात्ती दौडँदै आउँदा भाग्न नसकेपछि आक्रमण गरेछ,’ बसिरका बुबा मोहम्मद नयम मन्सुरीले भने, ‘पेटमा हानेको भए मर्ने थियो‚ खुट्टामा हानेर बच्यो ।’

गत माघमा हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका बसिरलाई उपचारका लागि विराट नर्सिङ होम भर्ना गरियो । उनको उपचारमा ६ लाखजति खर्च भयो तर‚ उनले जम्मा २ लाखमात्र उपचार खर्च पाए । बसिरलाई २१ दिन अस्पताल राखेर घर लगेपनि उनी अझै सहज रुपमा हिँड्न सक्दैनन् ।

No description available.

खुट्टाको भित्रपट्टि स्टील हालेकाले हिँड्न अप्ठ्यारो हुने गरेको नयमले बताए । ‘सरकारले कोशीटप्पुलाई व्यवस्थित नगर्दासम्म जंगली जनावरको आक्रमण रोकिँदैन,’ नयम भन्छन्‚ ‘हामीले भन्दै आएको १० मिटर चौडा र ५ मिटर उचाईको आरसीसी पर्खाल नलगाउँदासम्म यो समस्या जहिल्यै रहन्छ ।’

किन आक्रामक हात्ती ?
हात्तीको आक्रमण बढ्दै जाँदा स्थानीय तनावमा छन् । हरेक दिन निस्कने जंगली हात्तीले कतिबेला कसलाई कहाँ हान्ने हो‚ पत्तै छैन । हात्ती भगाउन र लखेट्नका लागि भएका प्रयासहरू पनि सफल भएको देखिँदैन । हात्तीले कोशी गाउँपालिका-३ मा मात्र हरेक महिनाजसो त्यहाँका स्थानीयलाई आक्रमण गर्दै आएको स्थानीय बताउँछन् । वडा नम्बर ३ मा मात्र ७ वर्षमा हात्तीको आक्रमणमा परी १७ जनाको मृत्यु भइसकेको वडाअध्यक्ष सुलेमान मन्सुरी बताउँछन् ।

उनका अनुसार अहिले हात्तीको आक्रमणबाट अपाङ्ग र घाइते ६५ जना छन् । कोशीटप्पुमा जंगली जनावर बाहिर निस्कनुको प्रमुख कारण भोक भएको स्थानीय जनप्रतिनिधि बताउँछन् । कोशीटप्पुमा ४९८ अर्ना रहेको र १० हजारभन्दा बढी गाईवस्तु त्यही जंगलमा रहेकाले खानका लागि घाँसको अभाव हुने भएकाले हात्ती र अर्ना गाउँमा निस्कने गरेको सुलेमानको भनाइ छ ।

क्षेत्रफल सानो भएपनि त्यहाँ चर्ने गाईवस्तु धेरै हुँदा समस्या आएको हुनसक्ने स्थानीयको अनुमान छ ।

मकुनाले धेरै क्षति गर्‍यो
कोशीटप्पुको क्षेत्र सानो हुँदा हात्ती गाउँ निस्कने गरेको कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुखको भनाइ छ । आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक रामले अहिले आरक्षमा १७ वटा हात्ती रहेको भन्दै हात्तीले आफ्नो क्षेत्र खोज्दै जाँदा बाहिर निस्किएको हुनसक्ने बताए । कोशीटप्पु वन्यजन्तु आरक्षको क्षेत्र सानो रहेकाले हात्ती गाउँमा निस्कने गरेको उनको भनाइ छ । ‘सरकारले तत्काल ३ वटा काम गर्न सक्छ, प्रमुख संरक्षण अधिकृत रामले भने, हात्तीको बासस्थानलाई व्यवस्थित गर्नुपर्छ, राहतलाई तुरुन्तै दिने व्यवस्था मिलाउने र मानवीय तथा धनजनको क्षति हुन नदिनु नै उत्तम विकल्प हो ।’

एउटा हात्तीका लागि ३१९ किलोमिटर क्षेत्र चाहिने उनको भनाइ छ । ‘अहिले भएको १७५ किलोमिटरले धान्दैन‚’ उनले भने‚ ‘तत्कालै ३१९ किलोमिटर बनाउने हो भने समस्या केही हदसम्म समाधान हुनसक्छ ।’

धेरै घटना स्थानीय हात्ती हेर्न जाँदा हुने गरेको उनको भनाइ छ । पछिल्लो केही वर्षमा मकुनाले धेरै सर्वसाधारणलाई आक्रमण गरेको भन्ने गुनासाहरू आउने गरेको बताए । एउटा हात्तीलाई १५० देखि २ सय किलोसम्म दैनिक खाद्यान्न चाहिने भएकाले खाद्यान्नका लागि हात्ती गाउँ पस्ने गरेको हुनसक्ने उनको भनाइ छ ।

हात्तीको आक्रमणबाट बच्न के गर्ने
प्रमुख संरक्षण अधिकृत अशोक राम हात्तीको आक्रमणबाट बच्न नागरिक नै सचेत हुनुपर्ने बताउँछन् । त्यसका लागि हात्तीलाई आतङ्कित गर्न नहुने बताउँछन् । हात्ती गाउँमा आएको अवस्थामा हात्तीको १५० मिटर टाढा बस्ने, हात्तीको अगाडिबाट भाग्न नखोज्ने, अन्नपात राखेको ठाउँ र भान्सामा नसुत्न उनको सुझाव छ ।

हात्तीलाई ढुङ्गाले हान्ने र धपाउने गर्दा हात्ती उत्तेजित भएर आक्रमणमा उत्रने भएकाले त्यसो गर्न नुहने उनको सुझाव छ । मदिरा सेवन गरेर हात्ती धपाउन जाँदा पनि हात्तीले आक्रमण गर्ने गरेको पाइएको छ । हात्तीले पनि मदिरा मन पराउने भएकाले त्यस्ता व्यक्तिलाई हात्तीले आक्रमण गर्ने गरेको प्रमुख संरक्षण अधिकृत रामको भनाइ छ ।

‘हात्ती धपाउन ट्र्याक्टरको प्रयोग गर्ने, नाङ्गो तार वा डोरीको प्रगोग गर्नुपर्छ‚’ उनले भने, ‘हात्तीको गोबरमा खोर्सानी मिसाएर बाल्दा पनि हात्ती भाग्ने र नआउने गरेको पाइएको छ ।’

डोरीमा मोबिल र खुर्सानीको धुलो लगाएर बाँध्ने, ड्रोनमा मौरी र बाघको आवाज राखेर घुमाउँदा पनि हात्ती भाग्ने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *