दार्चुला घटना : छानबिन टोली स्थलगत अध्ययनपछि खलङ्गा फर्कियो

धनगढी । दार्चुलाको व्यास गाउँपालिका- २ मालघाटमा तुइन तर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाको अध्ययनका लागि घटनास्थल पुगेको छानबिन सदरमुकाम खलङ्गा फर्किएको छ ।

भारतीय बाटो हुँदै गस्कु मालघाट गएको घटनाको स्थलगत अध्ययनपछि टोली केहीबेर अगाडि जिल्ला सदरमुकाम खलङ्गा पुगिसकेको छानबिन समितिका सदस्यसमेत रहेकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिइन् । उनले टोलीले घटनास्थलको वस्तुस्थिति बुझेर फर्किएको बताइन् ।

समितिले भारतीय एसएसबी र स्थानीयले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिएको छ।

टोलीमा छानबिन समितिका संयोजक सहसचिव जनार्दन गौतम, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कडेँल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी छन् ।

बिहीबार छानबिन समितिका सदस्यबाहेक सशस्त्र प्रहरी ४४ नम्बर गण दार्चुलाका गणपति एसपी नरेन्द्र बम र जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्ट पनि टोलीसँगै घटनास्थल पुगेका थिए ।

घटनाबारे सहजीकरणका लागि नेपाली छानबिन टोलीसँग भारतको डिडिहाटका एसएसबी कमान्डेन्ट महेन्द्र प्रताप र अन्य दुई जना एसएसबी अधिकारी पनि घटनास्थलसम्म गएको बताइएको छ ।

साउन १५ गते व्यास गाउँपालिका- २ मालघाटका जयसिंह महाकालीमा तुइन तर्ने क्रममा नदीमा बेपत्ता भएका थिए । भारतीय एसएसबीले तुइनको तार निकालिदिँदा घटना भएको समाचार आएसँगै त्यसबारे अध्ययन गर्न छानबिन समिति दार्चुला पुगेको हो । भारतीय प्रशासनले भने एसएसबीले गस्ती गरेको स्वीकार गरेपनि तुइन नकाटेको दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *