ओलीप्रतिको ‘आशक्ति’ले जन्माएको अन्योल

काठमाडौं । ०७७ फागुन २३ गते सर्वोच्च अदालतले भन्यो, ‘एमाले र माओवादी पूर्ववत् अवस्थामै फर्किएका छन् ।’ त्यसअघिदेखि नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र पूर्वमाओवादी र पूर्वएमालेको कित्ताकाटकै अवस्था रहेका दुई पक्षको दूरी पछिल्लो समय झन्झन् बढ्दो थियो ।

तर सर्वोच्चको फैसलापछि केही पूर्वमाओवादी पृष्ठभूमिका नेताहरु भने एमाले बन्न तयार भए । रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापालगायत २२ जना नेता एमालेको कित्तामा उभिए । सरकारमा सहभागी भएका बादलसहितका २२ जना नेताहरु उनीहरु माओवादी भए सत्ता छोड्नुपर्ने भएकाले पनि आफैंले शुरु गरेको दल त्याग्न र एमाले बन्न राजी भएका थिए ।

विशेष समारोहमार्फत एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका पूर्वमाओवादी नेताहरुलाई माओवादी केन्द्रले कारबाही गर्यो, त्योसँगै सांसद् पद गुमाएका नेताहरु सर्वोच्चको फैसलापछि सत्ताबाट पनि बाहिरिनुपर्यो ।

हुँदाखाँखाको दल माओवादी केन्द्र त्यागेर एमाले बनेका उनीहरु अहिले ‘माओवादी छैनौं एमाले भएनौं’ हामीलाई न्याय चाहियो भन्दै सर्वोच्चको ढोका ढकढक्याउन पुगेका छन् । न एमाले न माओवादीको मझधारमा रहेका उनीहरु केहीअघि माओवादी केन्द्र नै अवैध रहेको जिकिर गर्दै निर्वाचन आयोग पुगेका थिए ।

त्यसअघि वैशाख २९ को राजनीतिक परिदृश्यपछि पुनः मन्त्री बनेका पूर्वमाओवादी नेताहरुलाई सर्वोच्चले नै हटाइदियो । गैरसांसद पटक–पटक मन्त्री बन्न नमिल्ने भन्दै सर्वोच्चले मन्त्री पद नै खारेज गरिदिएपछि डाँको छोड्न मात्रै नसकेका नेताहरुलाई अन्ततः ‘हातलागी शून्य’ भनेझैँ भयो ।

कहिले निर्वाचन आयोग त कहिले सर्वोच्च अदालतमा भेटिने उनीहरु कहिले पूर्वमाओवादी धु्रवीकरणको कुरा गर्दै माओवादीमा फर्किन तयार रहेको बताउँछन् त कहिले आफूलाई एमाले भनेर नचिनाउन आग्रह गरिरहेका सुनिन्छन् । यसले उनीहरुलाई परेको सकस र छटपटीको परपुष्टि गर्छ ।

सांसद पद पुनःबहालीको माग गर्दै सर्वोच्च पुग्ने नेताहरुमध्येका एक नेता गौरीशंकर चौधरीले मकालुखबरसँग भने, ‘पूर्वमाओवादीहरुको ध्रुवीकरण भयो भने हामी पनि फर्किन्छौँ ।’ तत्कालीन समयमा एमालेको कित्तामा उभिएको सम्झिएर पश्चताप लाग्दैन भन्ने प्रश्नमा नेता चौधरीको जवाफ थियो, ‘पश्चाताप किन लाग्छ र ? राजनीतिक विषयवस्तुहरु यस्तै नै हुन् । हामीले विगतलाई सम्झेका छैनौं । अबको राष्ट्रिय रानजीतिलाई नियाल्दै अगाडि बढ्दैछौँ ।’

माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’को मात्रै होइन, विप्लव, वैद्य अनि टोपबहादुरहरुको पनि हो ।

‘हामी अहिले दलविहीन अवस्थामा छौँ,’ अर्का नेता टोपबहादुर रायमाझीले मकालुखबरसँग भने— ‘माओवादीले हटाइदियो । कारबाही गर्यो । एमालेको १०औं महाधिवेशनले मान्यता पाएन । निर्वाचन आयोगमै पनि हामी एमाले हौं भन्ने प्रमाण केही छैन र भेटिएन । हामी अन्यायमा पर्यौँ ।’
एमालेको कित्तामा उभिएको ४ महिनापछि आफ्नै पूर्वदल माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोग पुगेका नेताहरु बुधबार (आज) सर्वोच्च अदालतमा भेटिए । पार्टी खारेजीको सवालमा निर्वाचन आयोगले टेरपुच्छर नलगाएपछि सर्वोच्चमा दुःख बिसाउन पुगेका नेताहरुले रिट निवेदनमार्फत माग गरेका छन्— हामीलाई सांसद पद चाहियो ।

कुनै बेला एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाललाई एमालेमै स्वागत गर्ने भाषण छाँट्नसमेत पछि नपरेका पूर्वमाओवादी नेताहरु एउटै कुरा धेरै दोहोर्याए, भन्थे— हामी व्यक्तिको पक्षमा होइन, विचारको पक्षमा उभिएका हौँ ।

ओलीप्रतिको अति विश्वास र सर्वोच्चले समेत ओलीको कदममा साथ दिन्छ भन्ने विश्वासमा लागेका उनीहरु सर्वोच्चको फैसलापछि तनावमा परेका हुन् । अर्कातिर माओवादी केन्द्र सरकारमा जाने भएपछि सम्भवतः उनीहरु केन्द्रमै रहेको भए मन्त्री बन्न पाइने थियो भन्ने लोभ पनि गरिरहेका हुँदा हुन् ।

पूर्वमाओवादी नेताहरु ढिलोचाँडो माओवादीमै फर्किन्छन् ।

माओवादी खारेज गर्ने उद्देश्यबाट विमुख बनाउँदै निर्वाचन आयोगले माओवादी केन्द्र वैधानिक नै रहेको मान्यता दिएपनि ‘अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गर्न पाउँछ ?’ भन्ने प्रश्न तेर्स्याउँदै आएका नेताहरु पछिल्लो पटक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध खनिन थालेका छन् । नेता रायमाझी थप्छन्, ‘माओवादी केन्द्र प्रचण्डको मात्रै होइन, विप्लव, वैद्य अनि टोपबहादुरहरुको पनि हो ।’

०००
यस्तै ओलीप्रतिको अति विश्वासले मझधारमा पुगेका छन् जसपाका महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष । गत साउन ११ गते निर्वाचन आयोगले डा. बाबुराम भट्टराई–उपेन्द्र यादवपक्षीय जसपालाई पार्टीको आधिकारिकता दिएपछि तत्कालीन समयमा ओलीको साथ लागेका ठाकुर–महतोपक्षीय जसपा अहिले के गर्ने भन्ने चौबाटोमा पुगेको छ ।

हामीले ओलीलाई साथ दिएका थिएनौँ, सरकारले केही माग पूरा गरेको भएर सरकारलाई समर्थन गरेका थियौँ ।

ओली नेतृत्वको सरकारले आफ्ना मागहरु पूरा गरेको भन्दै ८ मन्त्रालयसहित सरकारमा ‘धमाकेदार इन्ट्री’ गरेका ठाकुर–महतोपक्षीय जसपा सरकारबाट फिर्ता त हुनु पर्यो नै । निर्वाचन आयोगले अर्को पक्षलाई आधिकारिकता दिएपछि अब के गर्ने भन्ने रनभुल्लमा परेको छ । संविधान संशोधन, नागरिकता प्रावधान, नेताहरुको रिहाइलगायतका मागलाई आफ्नो ‘बटमलाइन्’ बनाएको ठाकुर–महतोपक्षीय जसपाले जम्माजम्मी केही नेता÷कार्यकर्ताहरुको रिहाइमै चित्त बुझाउनुपर्यो । ०७८ जेठ ७ गते ५ सदस्यीय संविधान संशोधन कार्यदल बनाएको ओली नेतृत्वको सरकार जेठ ८ मा गरेको दोस्रो प्रतिनिधि सभाको विघटन सदर नभएपछि हट्यो ।

त्यसपछि अपरिपक्व देखिएको ठाकुर–महतोपक्षीय जसपाले हुँदाखाँदाको आफ्नो पार्टीसमेत गुमायो ।

नेताहरु भने ‘ओलीप्रतिको आशक्ति’ का कारण यस्तो भएको मान्न रुचाउँदैनन् । नेता लक्ष्मणलाल कर्ण भन्छन्, ‘हामीले ओलीलाई साथ दिएका थिएनौँ, सरकारले केही माग पूरा गरेको भएर सरकारलाई समर्थन गरेका थियौँ ।’ एकताबद्ध हुनु, विभाजन हुनु पार्टीको नितान्त आन्तरिक विषय भएको बताउने नेता कर्ण थप्छन्, ‘हामीले विचारको साथ लिएका थियौँ । आफ्नो राजनीतिक एजेण्डाहरु पूरा भएको खण्डमा सरकारलाई साथ दिएका थियौँ । विचारको राजनीति गरेका थियौँ । त्यो पनि हाम्रो जनताको लागि । त्यो भएर अहिले त्यस्तो पश्चाताप लाग्ने केही कुरा छैन ।’

नेता एकवाल मियाँ आफूुहरु सत्ताका लागि सरकारमा नगएको जिकिर गर्छन् । उपेन्द्र यादव आफैं पनि ओली नेतृत्वको सरकारमा १८ महिना बसेको दृष्टान्त सुनाउँदै नेता मियाँ थप्छन्, ‘कमसेकम ओली नेतृत्वको सरकारले हाम्रो मागलाई सम्बोधन गर्दै १२० जना नेता÷कार्यकर्तालाई रिहा गर्यो । नागरिकतासम्बन्धी अध्यादेश आयो । यसपछि हामी सरकारमा जान बाध्य भयौँ । पछि सर्वोच्चले हामीविरुद्ध फैसला गर्यो । यसमा केही भन्दिनँ ।’

अध्यक्ष यादवले निम्तो दिएको खण्डमा आफूहरु पुनः पार्टी एकताको लागि तयार रहेको बताउँदै मियाँले भने, ‘हाम्रो अध्यक्ष महन्थ ठाकुरलाई निम्तो आएको खण्डमा हामी तयार नै छौँ । पार्टीमा अगुवा नेता पनि हुनुहुन्छ महन्थजी । निम्तो गर्नैपर्ने पनि हो ।’

०००
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पछिल्लो पटकको सर्वोच्चको फैसलापछि एमालेतिर लागेका नेताहरु ढिलोचाँडो माओवादीमै फर्किने दाबी गर्छन् । ‘उनीहरु कुनै न कुनै दिन माओवादीमै फर्किन्छन् कि राजनीतिबाटै सन्यास लिन्छन्,’ विश्लेषक आचार्य भन्छन्— ‘किनकी, उनीहरु माओवादी हुन्, एमाले होइनन् ।’

पूर्वमाओवादी पृष्ठभूमिबाट आएको नेताहरुका लागि एमाले अनुकूल पार्टी नभएको विश्लेषक आचार्यको विश्लेषण छ । ‘उनीहरुलाई एमाले फाप्दैन । नफापेको पनि देखिरहेका छौँ,’ विश्लेषक आचार्य भन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *