लोपोन्मुख घाँसे भाका संरक्षणमा युवा

काठमाडौँ । नेपालमा स्थान र यामअनुसारका लोकभाका छन् । ठाडो भाका, दोहोरी, विरही भाका, असारे भाका, देउडा, हाक्पारे, जुहारी लगायतका भाका नेपालको मौलिक लोक संस्कृतिको धरोहरका रुपमा रहेका छन् ।

पूर्व, पश्चिम र काँठ क्षेत्रका ठाडो भाकासमेत भिन्न-भिन्न भएपनि पछिल्लो समय र पुस्तामाझ लोक भाकाहरुलाई चिनाउनु र जोगाउनुपर्ने अवस्था आएको छ । रैथानेपन बिर्सिँदै जाँदा लोक भाका र लय सङ्कलनको काम पनि कथा जस्तै बन्न थालेको स्वयम् स्रस्टाहरु नै बताउँछन् ।

यही अवस्थालाई मध्यनगर गर्दै केही युवाले काँठ क्षेत्रमा रहेको घाँसे भाका संरक्षणको काम थालेका छन् । पुरु लम्साल, सुशीलसिंह ठकुरीलगायत सर्जकले काँठ क्षेत्रमा गाइने लोपोन्मुख घाँसे भाकासङ्कलन गरि गीत ‘झल्को मात्रै आँखामा’ सार्वजनिक गरेका हुन् । सन् २०१८ मा बङ्गलादेशमा प्रदर्शन गर्नका लागि पुरु लम्सालले लेखेको नाटक ‘नौगेडी’ मा पहिलो पटक यो गीत समावेश गरिएको थियो । नाटक हेर्ने दर्शकहरूले मन पराएपछि गीत रेकर्ड गर्ने निर्णय गरिएको उनले बताए ।

घाँसे भाकाबाल्यकालमा आफन्तहरुबाट सुनेको नुवाकोटका सङ्गीतकार सुशीलसिंह ठकुरीले बताए । त्यही लयलाई टिपेर उनले यो गीतको लय निर्माण गरेका छन् । काठ क्षेत्र अर्थात् चक्रपथभन्दा बाहिर र काठमाडौँ उपत्यकाका पहाड नजिकका स्थानमा गाइने घाँसे भाका अन्य स्थानमा पनि रहेको तर यहाँभन्दा केही भिन्न तरिकाले गाइने उनीहरु बताउँछन् ।

घाँसे गीतमा बाजाको प्रयोग गरिँदैन भने हिलो दल्दै, खेल्दै, धान रोप्दा, घाँस काट्दा गाउँ घरमा प्रत्यक्ष दोहोरीको रूपमा गाइन्छ । तर रेकर्ड गर्दा अहिलेको पुस्तालेसमेत मन पराउने गरी बाजा समावेश गरिएको सर्जकहरू बताउँछन् । लोप हुन लागेको भाका बचाउँदै युवाले सुन्ने बनाउन मादल र बाँसुरी प्रयोग गरिएको उनीहरुको भनाइ छ ।

यो समूहले अघिल्लो वर्ष महिलाको भाव समेटेर ‘फर्क आफ्नै देशमा’ गीत निर्माण गरेको थियो । यस गीतमा विदेशमा भएका पुरुषले आफ्नो गाउँ घर र श्रीमती सम्झिएको भावसहित गीतमार्फत कथा बताउने प्रयास गरिएको छ ।

चर्चामा आउन भन्दा चुपचाप काम गर्न रुचाउने सङ्गीतकार ठकुरीले गएको एक वर्षमा २० वटाभन्दा बढी काठे लय तयार बनाएर राखेका छन् । ‘झल्को मात्रै आँखामा’ गीत काठ क्षेत्रबाट टिपिएको, भाका भएको र अरु भाकामा भने आफ्नो सिर्जना धेरै रहेको उनी बताउँछन् । ‘पुरानो भाकालाई आफ्नो ज्ञान सिप प्रयोग गरेर थप निखारेर तयार गर्ने गरेको हुँ,’ उनले भने ।

उनका अनुसार अहिले गीतको लय सङ्कलन गर्न त्यति सजिलो छैन । कारण, पहिला नै धेरै भाका रेकर्ड भैसकेका छन् । तर घाँसे भाका भने लोप हुन लागेको र खासै चर्चा समेत नभएकोले सङ्कलन गर्न सम्भव भएको उनी बताउँछन् । सानै उमेरमा सुनेको यो भाका उनको मानसपटलमा कैद भएर बसेको थियो । जब पुरुले नाटकका लागि घाँसे भाका आवश्यक पर्योभ भने, तब उनले त्यही स्मरणमा रहेको पुरानो भाकालाई टिपे र नाटकमा प्रयोग गर्न योग्य बनाए ।

गीतमापुरु लम्सालका शब्द र निर्देशन छ । यसलाई कसैले असारे भाका पनि भन्ने गरेको तर यो भाका असारमा मात्रै नगाइने र यसको वास्तविक नाम घाँसे भाका नै भएको पुरु बताउँछन् । यो भाका मेला, पर्व, जात्रा, महोत्सवहरूमा समेत गाइन्छ । मुख्य रूपमा यो गीत केटा र केटी दुई पक्षले गाउँछन् ।

यो गीतमा भने एकल गायन गराएर तथा ताल बाजा बजाएर नयाँ प्रयोग गराइएको छ । ताल बाजा प्रयोग गरी त्यसै अनुसार सङ्गीत संयोजन गरिएको छ । दोहोरी गाउँदा रमाइला शब्दहरू प्रयोग हुने, जुहारी झैँ बन्ने भएकोमा एकल गायन मात्रै गराएर गीतमार्फत कथा बुनिएको हो भन्छन्- पुरु । उनले काठे भाकामा धेरै काम गरेको भए पनि घाँसे भाकामा भने उनको यो पहिलो काम हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.