के गर्दैछन् कांग्रेस सभापतिका आकांक्षीहरु ?

काठमाडौं । कांग्रेसमा १४औं महाधिवेशनको रन्को लागेको छ । भदौ १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका अनुमोदन गरेसँगै कांग्रेस महाधिवेशनकेन्द्रित भएको हो ।

यसपटकको महाधिवेशनमा सभापतिका लागि दह्रै प्रतिस्पर्धा हुने देखिएको छ । अहिलेसम्म सभापतिको उम्मेदवार घोषणा गरेका नेताहरुका कुरा सुन्दा प्रतिस्पर्धा सधैंकोजस्तो दुई वा तीन पक्षबीच मात्रै नहुने देखिएको छ । सँगै, अहिलेसम्मका गुटहरु पनि भत्किने देखिएको छ ।

बहालवाला सभापति शेरबहादुर देउवाले पुनः सभापतिको उम्मेदवार बन्ने बताइरहँदा उनीपक्षीय नेता तथा उपसभापति विमलेन्द्र निधिसमेतले सभापतिको दौडबाट पछि नहने बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल वा कांग्रेसमा ‘तेस्रो धार’ चलाइरहेका कृष्णप्रसाद सिटौला मात्र होइन, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला र युवा नेता कल्याण गुरुङ्गले समेत आफूलाई १४औं महाधिवेशनको सभापतिको उम्मेदवारको रुपमा आफूलाई चिनाइरहेका छन् ।

विधानको नवौं संशोधनपछि हुन लागेको यो महाधिवेशन कांग्रेस पार्टीकै लागि पनि नयाँ हो ।

भलै नेताहरुले ‘लोकतान्त्रिक पार्टी’ भएकाले सभापतिको आकांक्षी धेरै हुनुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँदै आएका छन् । तर, सभापतिको आकांक्षीहरुबीच ‘शीतयुद्ध’ ले समेत प्रभाव पार्ने विश्लेषणहरु हुन थालेका छन् । नेता ज्ञानेन्द्रबहादुर कार्की भन्छन्— ‘कांग्रेस आफैंमा लोकतान्त्रिक पार्टी हो । त्यसैले कुनै पनि पदको लागि आकांक्षी धेरै हुनुलाई फरक ढङ्गबाट परिभाषित गर्नु हुँदैन । कांग्रेसमा कम्युनिष्टको जस्तो हुँदैन । कांग्रेसको आफ्नै सिद्धान्त, नीति र विधान छ । जहाँ कांग्रेस सधैं अडिग रहन्छ र रहँदै आएको पनि छ ।’

०००
बहालवाला सभापति देउवाले यसअघि नै आफूनिकटका नेताहरुसँग छलफल गरिसकेका छन् । गत असार ४ गते कांग्रेसले १४औं महाधिवेशनको कार्यतालिका अनुमोदन गरेसँगै पुनः सभापतिको उम्मेदवार बन्नेगरी तयारी थालेका देउवाले सातै प्रदेशका आफूनिकटका केन्द्रीय सदस्यहरुसँग छलफल गरिसकेका छन् । ७ प्रदेशका केन्द्रीय सदस्यहरुसँग ३ दिनभरी छलफल गरेका देउवालाई अधिकांश नेताहरुले ‘उपसभापति विमलेन्द्र निधिलाई मिलाएर तपाईं नै सभापति बन्नुस्’ भन्ने सुझाव दिएका थिए । देउवानिकट नेता एनपी साउदले मकालुखबरसँग भने— ‘सभापति देउवाले सातै प्रदेशका नेताहरुसँग गरेको बैठकमा सबैले उहाँलाई नै सभापतिको उम्मेदवार बन्न भन्नुभएको छ । यहीअनुसार उहाँले पार्टीभित्र सम्वाद तथा छलफललाई तीव्र पार्नुभएको छ ।’

उपसभापति विमलेन्द्र निधिले पनि नेताहरुसँगको भेटघाटलाई तीव्र पारेका छन् । यसअघि नै महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग पटक–पटक छलफल गरिसकेका निधिले आफू ‘कुनै हालतमा ब्याक नहुने’ गरि तयारी थालेको बताएका छन् ।

निधिलाई फेरि फकाउने र आफैं अगाडि बढ्ने रणनीतिमा रहेका देउवाललाई निधिले ‘काउन्टर’ दिइरहेका छन् । समानान्तर गतिविधिमा उत्रिएका निधिले १३औं महाधिवेशनदेखि नै सभापतिको उम्मेदवार बन्ने घोषणा गरेको र या महाधिवेशनमा कुनै पनि हालतमा ब्याक नहुने उनका प्रेस संयोजक रामजी दाहालको भनाइ छ ।

कहिले निधिनिवास बानेश्वरमा त कहिले कोइरालानिवास महाराजगञ्ज त कहिले सिंहनिवास चाक्सिबारीमा ‘लञ्च मिटिङ्ग’ गरेका निधि, कोइराला र सिंहबीच पटक–पटक महाधिवेशनकेन्द्रित छलफल भएका छन् । तर, सभापतिका आकांक्षी तीनैजना भएकलो उनीहरु कसले कसलाई छोड्ने भन्ने सहमति हुन कठिन रहेको कांग्रेस नेताहरुकै बुझाइ छ ।

विधानको नवौं संशोधनपछि हुन लागेको यो महाधिवेशन कांग्रेस पार्टीकै लागि पनि नयाँ हो ।

एक कार्यकाल महामन्त्री बनिसकेका प्रकाशमान सिंहले पनि सभापतिको दाबेदारी प्रस्तुत गरिरहेका छन् । प्रत्यक्ष भेटघाट, फोनसम्वाद तथा अन्य भर्च्यूअल रुपमासमेत निकटका नेताहरुसँग लगातार छलफलमा रहेका नेता सिंहले मकालुखबरसँग भने— ‘अब सभापतिको उम्मेदवार बन्ने भइसकेपछि तयारी त गर्नुपरिहाल्यो नै । महाधिवेशन नजिकिँदैछ । नेताहरुसँग छलफल गर्दैछौँ । छलफलमै छौँ । साथीहरुसँग निरन्तर छलफलमा छौँ ।’ महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग देउवा र पौडेलले पार्टी हाँक्न नसक्ने निष्कर्ष निकालेका नेता सिंहले आफैं उम्मेदवार बन्नेगरी तयारी गरिरहेका छन् । नेता सिंहले भने— ‘अब पछाडि हट्ने त कुरै भएन ।’

अबको नेतृत्व दोहोरिन नहुने अडानमा रहेका नेता सिंह थप्छन्— ‘नेतृत्वमा दोहोरिनु हुँदैन भन्ने हामी सबैको भनाइ र बुझाइ हो । साथीहरुसँग हामी छलफलमै छौँ ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजोआज आफूनिकटका केन्द्रीय सदस्यहरुसँगको छलफललाई झनै तीव्र बनाएका छन् । बिहीबार मात्रै पनि आफूनिकटका केन्द्रीय सदस्यहरुसँग महाधिवेशनकेन्द्रित छलफल गरेका नेता पौडेलले यसअघिदेखि नै कांग्रेसलाई हाँक्न आफू योग्य भएको दाबी प्रस्तुत गर्दै आएका छन् । सभापति देउवाले अब काँध फेर्नुपर्यो भन्दै उनी अबको नेतृत्व वरीयताको हिसाबले पनि आफ्नो काँधमा आउनुपर्ने बताइरहेका छन् । तर उनी पक्षकै कोइरालाद्वय र सिंह नै अब देउवा र पौडेलको विकल्प खोज्नुपर्ने बताइरहेकाले पौडेललाई यसपटक कठिन रहेको सहजै बुझ्न सकिन्छ ।

महाधिवेशनको मिति तय भएसँगै महाधिवेशजकेन्द्रित गतिविधिमा लागेका नेता पौडेलले कांग्रेसले आफ्नो सभापतित्व मागेको ‘ब्रिफिङ्ग’ गर्दै आएका छन् ।

कांग्रेसमा ‘तेस्रो धार’ चलाइरहेका कृष्णप्रसाद सिटौलाले पनि आफू सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन् । १३औं महाधिवेशनको समीकरण नभत्किने उल्लेख गर्दै आएका सिटौलाले वर्तमान नेतृत्वसँग असन्तुष्टि पोख्दै आएका छन् । सिटौलाले अन्तरवार्ताहरुमा भनेका छन्— ‘महाधिवेशनलाई प्रभावित पार्ने कुत्सित मनसाय बोक्नुहुन्न । अबको नेतृत्व परिवर्तन हुनुपर्छ । अबको सभापति बन्छु र पार्टी हाँक्छु । लोकतान्त्रिक पार्टीमा जोकोही सभापति बन्न सक्षम हुन्छ । त्यहीअनुरुप म सभापतिको उम्मेदवार हुँ ।’

सिटौलाले पनि आफूनिकका नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन् । यसअघि रामचन्द्र पौडेल, सुजाता कोइरालालगायतका नेताहरुसँग महाधिवेशनकेन्द्रित छलफल गरिसकेका छन् ।

यता दोश्रो पुस्ताका शशांक कोइराला, शेखर कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहले अब नेतृत्व दोस्रो पुस्तामा आउनैपर्ने बताइरहेका छन् । तर उनीहरुले आफुहरुबीचमा एकजना मात्र उम्मेदवार बन्न सक्ने सम्भावना नभएकाले आफुहरुबीचको कलहले फेरि नेतृत्व पहिलो पुस्तामै फर्किने खतरा रहेकोबारे भने केही बताउने गरेका छन् । यी चारजनामध्ये तुलनात्मक रुपमा डा. शेखरले भने केही बढी तयारी गरेका छन् । उनले आफू एकपटकका लागि मात्र सभापति बन्ने, प्रधानमन्त्री नबन्ने र कार्यसमितिमा युवाहरुलाई बढी समेट्ने सार्वजनिक प्रतिबद्धता नै व्यक्त गरेका छन् । बाँकी तीनजनाले भने तयारी भइरहेको र आफू नै उम्मेदवार बन्ने बताएपनि थप प्रतिबद्धताहरु भने सार्वजनिक गरिसकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *