१४औं महाधिवेशन

यस्तो हुनेछ अबको कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटेको छ । आगामी साउन १२ गतेबाट महाधिवेशन शुरु हुने भएपछि तयारी तीव्र पारिएको हो । यसका लागि कांग्रेसले कार्यतालिकासमेत अनुमोदन गरिसकेको छ । केन्द्रीय महाधिवेशन भदौ १६—१९ मा काठमाडौंमा हुनेछ । त्यसअघि वडाबाट क्षेत्र, जिल्ला र प्रदेशका अधिवेशनहरु गरिसक्नुपर्नेछ ।

यसका लागि कांग्रेसले विधानको धारा ४ अनुसार क्रियाशील सदस्यता टुङ्ग्याउने काम गरिरहेको छ । क्रियाशील सदस्यताको प्रक्रियासँगै गाउँ, नगर तथा वडा तहमा महाधिवेशनको चहलपहल शुरु भइसकेको छ ।

कांग्रेसको यो महाधिवेशन विगतभन्दा फरक हुनेछ । वडादेखि नै कार्यसमितिहरु पूर्ण समावेशी बनाइनेगरी कांग्रेसले आफ्नो विधानको नवौं संशोधन गरेको छ । यसपालीको महाधिवेशनबाट संघीय संरचनाअनुसार नेतृत्व चयन गरिनेछ । बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा व्यवस्था भएको समानुपातिक समावेशी सिद्धान्तका आधारमा नेतृत्व चयन गरिने कांग्रेसले जनाएको छ ।

०००
नेता रमेश लेखकको संयोजकत्वमा गठित छानबिन समितिले क्रियाशील सदस्यतासम्बन्धी समस्या समाधानको काममा व्यस्त छ । तल्लो तहमा महाधिवेशन शुरु हुन करिब ३ साता मात्रै बाँकी छँदा पनि क्रियाशील सदस्यतासम्बन्धी विवाद मिलिसकेको छैन । समितिले प्रभावकारी काम गर्न नसकेको इतर पक्षको आरोप छ ।

कांग्रेसमा नेतृत्व चयनको महत्वपूर्ण हिस्सेदार क्रियाशील सदस्यहरु हुन् । त्यसैले पनि क्रियाशील सदस्यतामा सबैको चासो र चिन्ता रहने गरेको छ । कांग्रेसको विधानअनुसार क्रियाशील सदस्य नरहेको व्यक्ति टोल कार्यसमितिबाहेक अन्य कुनै तहमा सदस्य हुन सक्दैन । यस्तै विधानअनुसार क्रियाशील सदस्य संख्याको आधारमा वडाको कार्यसमितिको संख्या निर्धारण हुने गर्छ । जसमा प्रत्यक्ष र समानुपातिक समावेशीका आधारमा प्रतिनिधि पनि छनोट गरिन्छ ।

८ तहको समावेशी संरचनाको परिकल्पना

कांग्रेसले पार्टी संरचनामा ८ तहको परिकल्पना गरेको छ । विधानमा टोल, वडा, पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मको कार्यसमिति चयन गर्नुपर्ने व्यवस्था छ । जहाँ सबै समितिमा सबै समुदाय र वर्गबाट सबैको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ । समावेशी सिद्धान्तका आधारमा महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको समुदाय लगायतबाट नेतृत्वमा आउनुपर्ने व्यवस्था गरिएको छ ।

नयाँ विधानअनुसार महिला र दलितलाई उच्च प्राथमिकता दिंदै लिङ्ग, वर्ग, भूगोल र समुदायको प्रतिनिधित्व अनिवार्य समेट्नुपर्ने व्यवस्था छ । कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य समावेशी सिद्धान्तका आधारमा मनोनित गर्नसक्ने व्यवस्था गरिएको छ ।

०००
क्षेत्रीय प्रतिनिधित्वको दृष्टिले १५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडामा क्रियाशील सदस्यमध्येबाट प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि कम्तीमा ३ जना महिलासहित ९ जना प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्नेछ । त्यस्तै १ सय ५० भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ जनाको सीमाभित्र रही प्रति १ सय थप क्रियाशील सदस्यमा २ महिलासहित ६ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्नुपर्ने व्यवस्था छ ।

अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वका लागि पनि विधानले स्पष्ट व्यवस्था गरेको छ । गाउँ, नगर अधिवेशनले अपाङ्गता भएका क्रियाशील सदस्यमध्येबाट १ महिलासहित दुईजना प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधि अनिवार्य निर्वाचित गर्नुपर्नेछ ।

०००
प्रदेश सभा क्षेत्रीय नेतृत्वको हकमा अधिवेशनले प्रदेश अधिवेशन प्रतिनिधिको निर्वाचन गर्नेछ । प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तिमा ३ महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट छ जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ ।

०००
महाधिवेशन प्रतिनिधिका लागि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तिमा ४ महिलासहित १४ जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट १० जना प्रतिनिधि समानुपातिक आधारमा प्रतिनिधि सभा क्षेत्रको जनसंख्याको बनोटअनुसार निर्वाचित गर्नेछ ।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट २ महिलासहित ७ जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ४ जना प्रतिनिधि सभा क्षेत्रको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा महासमिति सदस्य निर्वाचित गर्नेछ । यसका अतिरिक्त विभिन्न भातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिहरुबाट समेत तोकिएबमोजिम महाधिवेशन र महासमिति सदस्य आउन सक्ने व्यवस्था गरिएको छ ।

०००
कांग्रेसको यस पटकको केन्द्रीय समिति अघिल्लो भन्दा दोब्बर ठूलो बन्नेछ । अब १६९ सदस्यीय हुने समितिमा १ सय ३६ जनाको निर्वाचन हुनेछ भने ३३ जना मनोनित हुनेछन् । अघिल्लो समिति ८५ सदस्यीय थियो जसमा ६४ जनाको निर्वाचन हुन्थ्यो ।

यसरी चयन हुन्छन् प्रतिनिधि

  • कुल १ सय ५० जना क्रियाशील सदस्य रहेको वडामा प्रत्यक्षतर्फबाट तीन महिलासहित नौ जना र समानुपातिक समावेशीतर्फबाट ६ जना र एक सभापतिसहित १६ जना प्रतिनिधि चयन हुनेछन् । जसमा थप प्रत्येक सय क्रियाशील सदस्य बराबर ७५ को सीमामा रही समावेशी आधारमा थप १० प्रतिनिधि चयन हुनेछन् ।
  • प्रदेश सभा क्षेत्रभित्रका गाउँ, नगर, उपमहानगर र महानगरका कार्यसमितिका सभापति स्वतः प्रतिनिधि हुनेछन् ।
  • उक्त क्षेत्रका पार्टी केन्द्रीय समितिमा रहेका बर्तमान एवम पूर्वपदाधिकारी तथा सदस्यहरु, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसद्का सदस्य तथा उम्मेदवार, प्रदेश सभाका सांसद, सांसदका उम्मेदवार एक अवधिका लागि क्षेत्रीय अधिवेशनका सदस्य हुन्छन् । तर निर्वाचनमा सहभागी भएको हकमा निर्वाचन परिणामअनुसार हुनेछन् ।
  • प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट प्रदेश अधिवेशन प्रतिनिधिको निर्वाचन हुनेछ ।
  • प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तिमा तीन महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना प्रदेश सभाको जनसंख्याअनुसार समानुपातिकको आधारमा १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ ।
  • प्रदेश सभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति पदेन प्रदेश अधिवेशन प्रतिनिधि हुनेछन् ।
  • प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । जसमा केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रदेश अधिवेशनको पनि प्रतिनिधि हुनेछन् ।
  • केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तिमा चार महिलासहित चौध जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट दश जना प्रतिनिधि समानुपातिक आधारमा प्रतिनिधि सभा क्षेत्रको जनसंख्या बनोट अनुसार निर्वाचित गर्नेछ । तर केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनका लागि क्रियाशील सदस्यता प्राप्त गरेको चार वर्ष हुनुपर्नेछ ।
  • प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको सभापति पदेन महाधिवेशन प्रतिनिधि हुनेछन् ।
  • तर प्रदेश अधिवेशन प्रतिनिधि केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवार भएमा नीजको प्रदेश अधिवेशन प्रतिनिधि स्वत समाप्त हुनेछ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *