कांग्रेसलाई लागेकै हो महाधिवेशन ?

काठमाडौं । पटक—पटक सर्दै आएको नेपाली कांग्रेसको १४औं महाधिवेशन पछिल्लो समय भदौ १६–१९ सम्म काठमाडौंमा हुनेगरी तोकिएको छ । महाधिवेशनको संशय सकिइसकेको नभएपनि वर्तमान सभापति शेरबहादुर देउवाले बढाएको छलफलले अधिवेशन हुने छनक बढाएको ठान्न थालिएको छ ।

विधानतः चार वर्षको नियमित कार्यकालमा एक वर्ष थप गरेपछि पनि गर्न नसकिएको महाधिवेशन‚ संविधानअनुसारको थप ६ महिनापछि गर्ने तरखर गरिएको हो । यो अवधिभित्र महाधिवेशन गर्नैपर्ने भएकाले पनि महाधिवेशन हुने सम्भावना बढेको नेताहरु बताउँछन् । सँगै, सभापति देउवाले ह्वात्तै बढाएको सक्रियताले महाधिवेशनको रौनक शुरु भएको जस्तो देखाएको छ ।

यसपटक कांग्रेसभित्र सभापतिको आकांक्षी बढेका छन् । सधैंजसो संस्थापन र इतर खेमाका गरी दुई वा बढीमा तीन उम्मेद्वार हुने गरेको कांग्रेसमा यसपटक त्यसभन्दा धेरै उम्मेदवार हुने सम्भावना रहेको नेताहरु नै बताउँछन् । देउवा खेमाबाट उनी स्वयम् र विमलेन्द्र निधीले उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । पौडेल–कोइराला–श्रेष्ठ खेमाबाट रामचन्द्र पौडेल, सशांक कोइराला, शेखर कोइराला, प्रकाशमान श्रेष्ठले उम्मेद्वार बन्ने बताइसकेका छन् । ‘तेस्रो ध्रुव’ का कृष्ण सिटौला पनि उम्मेदवार बन्ने मनसायमा रहेको उनी निकटका नेताहरु बताउँछन् ।

देउवाले आफूनिकटका नेताहरुसँगको छलफललाई तीव्र पारेका छन् । बैठकमा सहभागी नेता शिवप्रसाद हुमागाईंले भने‚ ‘सभापतिजीले आफू पनि सभापतिको उम्मेदवार बन्ने मनसाय व्यक्त गर्नुभएको छ । यसकारण छलफलहरुलाई तीव्र बनाउनुभएको हो । लगातार रुपमा छलफल चलाउँदै आउनुभएको छ । नेताहरु आउने जाने क्रम जारी नै छ ।’

वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् । लामो समयदेखि कांग्रेसको नेतृत्व गर्ने ठूलो रहर पालेका पौडेलले यसअघि नै आफू सभापतिका लागि योग्य भएको र १४औं महाधिवेशनमा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । कोइराला परिवारबाट शेखर र सशांक दुवै आकांक्षी देखिएका मात्र छैनन्‚ उनीहरु एकले अर्कोलाई नछोड्ने बताउन थालेका छन् । भलै ‘कोइराला परिवारको विरासत’ थाम्न एकजना मात्र उम्मेदवार बन्नुपर्ने चर्को दबाबमा उनीहरु छन् ।

त्यसो त युवा नेता गगन थापाले पनि पुस्तान्तरणको विषयलाई पार्टीले गम्भीरतापूर्वक नलिए आफैं सभापतिको उम्मेदवार बन्ने चेतावनी दिँदै आएका छन् ।

तर, नेताहरू भने अहिले चर्चामा आएजस्तो सबै नेताहरु उम्मेदवार नबन्ने र अन्तिमसम्ममा थोरै मात्र उम्मेदवार बन्ने बताउँछन् । नेता ज्ञानेन्द्रबहादुर कार्कीले मकालु खबरसँग भने‚ ‘यो शुरुको प्रक्रिया हो । पछिसम्ममा थोरै नेताहरु मात्रै सभापतिको उम्मेदवार बन्नेमा पुग्नुहुन्छ । यसलाई ठिकै मान्नुपर्छ ।’

हुन पनि शुरुमा उम्मेदवारी घोषणा गर्ने र पछि अरु पदमा ‘सेटल’ हुने रणनीति पनि नेताहरुले अपनाउने गरेका छन् ।

आ—आफ्नै चुनौती
१४ औँ महाधिवेशनमा देउवा उम्मेदवार नबनेर आफ्नो खेमाबाट अर्का नेतालाई उम्मेदवार बनाउने सम्भावना अब नरहेको उनले नै बताइसकेका छन् । आफूलाई सहयोग गर्न आग्रह गरिरहेका नेता विमलेन्द्र निधीलाई उनले भनेका छन्, ‘ठीकै छ‚ उम्मेदवार बन्ने/नबन्ने तपाईंको अधिकारको कुरा हो, सभापतिको उम्मेदवार म पनि बन्छु ।’

दोहोरिने देउवाको मनसायलाई उनी निकटकै नेताहरुको साथ नरहने देखिएको छ । निधि स्वयम् उम्मेदवार बन्ने तयारी गरिरहेका छन् भने विजयकुमार गच्छादार, राप्रपाबाट आएका सुनिलकुमार थापालगायतका नेताहरु भने उनकै पक्षमा छन् । यद्यपि अर्को महाधिवेशनमा सहयोगको ‘ग्यारेन्टी’ गरे निधीले देउवालाई सहयोग गर्न सक्ने सम्भावना कायमै छ ।

नाम नखुलाउने सर्तमा एक नेताले मकालु खबरसँग भनेअनुसार पछिल्लो समय पार्टीबाट प्रभाव छरिरहेका गगन, विश्वप्रकाशलगायतका नेताहरुलाई पदाधिकारीमा रोक्नुपर्ने सर्तहरु पनि पार्टीभित्र अघि बढेका छन् ।

अर्का आकांक्षी वरिष्ठ नेता पौडेललाई कोइराला परिवारको सहयोग नहुने देखिएको छ । शेखर र सशांकमध्ये दुवैजना वा एकजना मात्रै उम्मेदवार भए पनि उनीहरुले पौडेललाई सघाउने छैनन् । यस्तो अवस्थामा गिरीजाप्रसाद कोइरालापुत्री सुजाताले पनि परिवारकै उम्मेदवारलाई साथ दिनेछिन् । जसले गर्दा पौडेल स्वतः कमजोर हुनेछन् । उनलाई अघिल्लो पटक सहयोग गरेका प्रकाशमान सिंह पनि आफैं अध्यक्षको प्रत्यासी बन्ने बताइरहेका छन् ।

हालका सभापति देउवाले आफूनिकटका नेताहरुलाई बोलाएर ‘पुनः सभापतिमा लड्छु’ भन्नुले पनि पौडेललाई धक्का लागेको छ । उसो त पौडेलको साथ रहेन भने कोइराला परिवारका उत्तराधिकारीहरुको अवस्था पनि बलियो हुने छैन । यसै कारण पनि हुन सक्छ‚ देउवा आफैं दोहोरिने रणनीतिमा रहेको । यदि अहिले भने जस्तै पौडेल‚ कोइराला‚ श्रेष्ठ तीन वा चारजना उम्मेदवार बनेको अवस्थामा आफ्नो खेमाबाट निधीले नछोडेपनि आफैंले चुनाव जित्ने देउवाको दाउ हुनसक्ने कांग्रेस नेताहरु बताउँछन् । तर देउवाले आफ्नो सुनिश्चितताका लागि निधीले मिलाउनैपर्ने दबाब चर्को छ । उनी निकटका एक नेताले मकालुखबरसँग भने‚ ‘सभापतिजीले आफ्नो सुनिश्चितताका लागि निधीजीलाई  मिलाउनैपर्ने हुन्छ । तर, उहाँ (देउवा) अहिलेसम्म त्यो पक्षमा देखिनुभएको भने छैन । शायद मिलाउनुहुन्छ होला ।’

शनिबार देउवाले आफ्नो निवास बुढानिलकण्ठमा बोलाएको बैठकमा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनिलकुमार थापा, ज्ञानेन्द्रबहादुर कार्की, मिनबहादुर विश्वकर्मा, सीता गुरुङ, सुजता परियार, डा. डिला संग्रौलालगायत सहभागी थिए । जहाँ उनलाई संविधान र लोकतन्त्रका लागि फेरि आफैं सभापति बन्नुपर्ने भएकाले सघाउन भनेका थिए ।

बैठकमा निधीले देउवालाई दुईवटा प्रस्ताव राखेका थिए । सहभागी ती नेताकाअनुसार निधीले कि त ‘तपाईं प्रधानमन्त्री बन्नुस्, सभापति म बन्छु, नभए अर्को महाधिवेशनमा सभापतिमा मलाई सहयोगको ग्यारेन्टी हुनुपर्छ’ भन्ने दुई सर्त राखेका थिए । जवाफमा देउवा केही नबोलेको ती नेताले जानकारी दिए ।

तर, निधीले आफू अहिल्यै सभापति बन्ने र देउवालाई अर्को महाधिवेशनमा पुनः सभापति बनाउने पनि बताएका थिए ।

नेता मिनबहादुर विश्वकर्माले भने— ‘निधीजीले पनि बरु अहिले म उठ्छु अर्कोमा तपाईंलाई सहयोग गर्छु भन्नुभएको थियो । त्यसमा उहाँहरु नै मिल्ने कुरा हो ।’ यद्यपि एकलाई अर्कोको सहयोग भने अवश्य चाहिने नेता विश्वकर्माको बुझाइ छ । देउवा पक्षका नेताहरु भने निधीले उम्मेदवार बन्छु भनेपनि अन्तिमसम्मा देउवालाई नै सघाउने बुझाइमा छन् । आफूले पनि नजित्ने र आफ्नो उम्मेदवारीले अर्को खेमाले जित्ने अवस्था आएमा निधी पछि हट्ने उनीहरुको बुझाइ छ । सभापति देउवाले पनि अहिले परिस्थितीको आकलन गरिरहेका र निधीको सहयोगमा मात्र आफूले जित्ने निर्क्यौलमा पुगे कुनैपनि सर्त मानेर अघि बढ्न सक्ने उनी निकट नेताहरुको आकलन छ ।

‘सही नेतालाई सभापतिमा चुन्छौँ’
कांग्रेस लोकतान्त्रिक पार्टी भएको र महासमिति सदस्यहरु जो-कोहीले पनि उम्मेदवार दिन पाउने नेताहरुको तर्क छ । तर, पार्टीले सभापतिमा सक्षम उम्मेदवारलाई चुन्ने उनीहरु दाबी गर्छन् ।

नेता मिनबहादुर विश्वकर्मा भन्छन्— ‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सभापतिका आकांक्षीहरु धेरै देखिनु स्वाभाविक हो । तर, पार्टीले सही र नेतृत्व गर्न सक्ने मान्छेलाई सभापति बनाउँछ । अबको नेतृत्व सक्षम आउनुपर्छ भन्ने हामी सबैको बुझाइ हो । त्यहीअनुसार अब पार्टीले सही नेतृत्वलाई छान्छ ।’

कांग्रेस सचेतक पुष्पा भुसाल भन्छिन्‚ ‘नेतृत्व जस्तो पनि हुन्छ भन्ने कुरा हुँदैन, नेतृत्व नेतृत्वदायी भूमिका खेल्न सक्ने नै हुनुपर्छ । अबको नेतृत्व हामी यस्तै छान्छौँ । जसका लागि आन्तरिक छलफलहरु पनि भइरहेका छन् । महाधिवेशनसम्ममा हामी लोकतान्त्रिक विधिबाट सक्षम र योग्य नेतृत्व छान्छौँ ।’

नेतृ डा. डिला संग्रौला पनि कांग्रेसले सक्षम नेतृत्व चुन्ने दाबी गर्छिन् । ‘सभापतिको आकांक्षी धेरै देखिनु नौलो कुरा पनि होइन र यसले कुनै खालको समस्या पैदा पनि गर्दैन । कांग्रेस यस्ता समस्यालाई मिलाएर शान्तिपूर्ण आन्तरिक चुनावमा होमिन्छ । अन्ततः मान्ने र मनाउने क्रम छँदैछ । पार्टीले आन्तरिक रुपमा छलफलसमेत गर्छ र अबको नेतृत्व गर्न सक्ने मान्छेलाई सभापति चुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *