यसपटक सहज छैन कांग्रेसका ‘दाइ’हरूलाई

काठमाडौं । १३औं महाधिवेशनबाट कांग्रेसको महामन्त्री पदमा पौडेल समूहबाट डा. शशाङ्क कोइराला १,४१७ मतसहित निर्वाचित भए । शेरबहादुर देउवा टिमबाट उम्मेदवार बनेका अर्जुननरसिंह केसीले १,०१७ र सिटौला टिमका उम्मेदवार गगनकुमार थापाले ५४८ मत पाए ।
त्यो प्रतिस्पर्धा तीनवटा ‘प्यानल’ को त थियो नै, सँगै बुढा, मझौला र युवा पुस्ताबीचको प्रतिस्पर्धा थियो ।

गिरिजाप्रसाद कोइरालाकै पालामा सह–महामन्त्री र पार्टीको प्रवक्ता भइसकेका केसीविरुद्ध १२औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका कोइराला हाबी भए । तर, कांग्रेसजनमा त्योभन्दा ठूलो चर्चा उनीहरुको ‘छोरा पुस्ता’ का नेता थापाको भयो । महामन्त्रीमा थापाको उम्मेदवारीले कांग्रेसजनमा नेतृत्वको पुस्तान्तरण र युवा हस्तक्षेपको प्रष्ट सन्देश दिएको थियो । त्यसको पाँच वर्षपछि कांग्रेस अब १४औं महाधिवेशनको संघारमा छ । र, पार्टीको पदाधिकारीका धेरै पदमा प्रतिस्पर्धा गर्न अब थापाको उमेर समूह अग्रसर छ ।

उनै थापा पुनः महामन्त्रीको स्वाभाविक दाबेदारका रुपमा हेरिएका छन् । भलै उनले अहिलेसम्म आफू कुन पदमा उम्मेदवारी दिने भनेर बोलेका छैनन्, तर १४औं महाधिवेशनमा पदाधिकारीमै चुनाव लड्ने नयाँ पुस्ताको उम्मेदवार उनी एक्लै नहुने निश्चित छ । महामन्त्रीमा अहिलेका प्रवक्ता विश्वप्रकाश शर्माको नाम पनि उत्तिकै चर्चामा छ ।

नयाँ पुस्ताले नेतृत्वमा दाबी गर्न थालेपछि पहिलो र दोश्रो पुस्ताका नेताहरुमाथि दबाब सिर्जना भएको छ । कांग्रेसमा युवा भनिएका नेताहरु नै ५० वर्ष आसपासको उमेरका भइसकेका छन् । आसन्न महाधिवेशनमा यो उमेर समूहका नेता महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारीमा आकांक्षी बन्ने तयारीमा देखिन्छन् ।

कांग्रेसको पहिलो पुस्ता ७० कटिकसेको छ । पहिलो पुस्ताका शेरबहादुर देउवा, र रामचन्द्र पौडेलले त सभापतिमा फेरि चुनाब लड्ने बताइसकेका छन् । उनीहरुभन्दा केही कान्छा पुस्ताका कृष्ण सिटौला, रामशरण महत, अर्जुननरसिंह केसीलगायतका नेताहरु छन् भने त्यसपछि विमलेन्द्र निधी, प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. सशांक कोइरालाहरु छन् । त्यसपछि ज्ञानेन्द्रबहादुर कार्की, पूर्णबहादुर खड्का, चन्द्र भण्डारी, बालकृष्ण खांण, एनपी साउदहरुको पुस्तालाई समेट्दा थापा, शर्मासहित धनराज गुरुङ, गुरुराज घिमिरे, कल्याण गुरुङ, प्रदीप पौडेलहरु त्यसपछिको पुस्तामा पर्छन् । अहिले देउवा पौडेलदेखि थापा, शर्मा, गुरुङ्ग, र पौडेलहरुले पनि पदाधिकारीका लागि तयारी गरिरहेका छन् ।

नयाँ पुस्ताका कल्याण गुरुङले त सभापति मै उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । यस्तै सहमहामन्त्रीसम्म पछिल्लो पुस्ताका नेताले उम्मेदवारी दिने घोषणा गरिरहेको छ । यसले अघिल्लो पुस्ताका नेतालाई सकस थपिदिएको छ । नयाँ पुस्तासँग चुनाव लडेर पदाधिकारी बन्नुपर्ने भएपछि कतिपय नेताहरु भागबण्डामै नेतृत्व बाँडफाँट गर्नुपर्ने कुरा पनि गर्न थालेका छन् ।

यसपटक कांग्रेसमा कोषाध्यक्षबाहेक सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री गरी १३ पदका लागि चुनावबाटै आउनुपर्छ । जबकि विगतमा सभापति, महामन्त्री र कोषाध्यक्षका लागि मात्रै चुनाव हुने गरेको थियो । जसले गर्दा बाँकी पदमा सभापतिका उम्मेद्वारले आफूले जिते ‘तिमीलाई मनोनित गर्छु’ भन्ने आश्वासन दिएर नेतृत्व दाबी गर्नेलाई थामथाम थुमथुम गर्न सक्ने सुविधा थियो ।

तर, अहिले चुनावै लड्नुपर्ने भएपछि महाधिवेशन आउन लगभग डेढ महिना जति मात्र समय हुँदा पनि नेताहरुले आफू कुन पदमा उम्मेदवार बन्ने भनेर खुल्न सकेका छैनन् । एक पटक पदाधिकारी भइसकेका नेताहरु अब नेतृत्वमा आउन नयाँ पुस्ताका लोकप्रिय नेताहरुसँग चुनाव लड्ने वा बाहिरिने ? भनेर दबाबमा परेका छन् ।

‘नयाँ साथीहरु आइसक्नुभयो । बुढा नेताहरुले छाड्नुभएको छैन । त्यसको बीचमा परेका हामीहरु अप्ठ्यारोमा परेका छौँ,’ एक पूर्वपदाधिकारीले स्वीकारे । नेतृत्वमा एकपटक परीक्षण भइसकेका सभापति देउवा हुन् वा बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालगायत पहिलो पुस्ताका अहिले पनि विश्राम लिइहाल्ने पक्षमा छैनन् । बरु आफूले छाडे पार्टी र देशलाई ठूलै संकट पर्छ भन्ने उनीहरुको दलिल छ । जबकि सभापतिमा एक पटक पदाधिकारी समेत नभएका डा. शेखर कोइरालादेखि कल्याण गुरुङसम्मले दाबी गरिरहेका छन् ।

त्यस्तै बाँकी पदाधिकारीमा पनि नयाँ पुस्ताका उमाकान्त चौधरी, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, बद्री पाण्डे, गगन थापा, धनराज गुरुङ, रामकृष्ण यादव, गुरुराज घिमिरे, जीवन परियार र प्रदीप पौडेलहरु अघि सरेका छन् ।

नयाँ पुस्ताले पदाधिकारीमा दाबी गर्दै गर्दा दोश्रो पुस्ताका नेताहरु कुन पदमा उम्मेदवार बन्ने ? खुल्न सकेका छैनन् । न त पार्टी राजनीतिबाट विश्राम लिन्छु भन्नै सकिरहेका छन् । उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह अब नेतृत्व पुस्तान्तरण हुनुपर्नेमा एकमत छन् । तर, उनीहरु आफैँ पनि एक अर्कालाई छोड्न र अहिल्यै राजनीतिबाट विश्राम लिन तयार छैनन् ।   पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि आफूले एकपटक नेतृत्व गर्न पाउनुपर्ने भनिरहेका छन् ।

उपसभापति विजयकुमार गच्छदार अहिले भर्खर कांग्रेस प्रवेश गरेको र भ्रष्टाचारको मुद्दा खेप्नु परेकाले चुपचाप छन् । देउवाले मनोनित गरेर महामन्त्री बनाएका पूर्णबहादुर खड्का पनि बोलेका छैनन् । त्यस्तै, सहमहामन्त्री डा. प्रकाशसरण महत आफूलाई महामन्त्रीको दाबेदार भनिरहेका छन् । राप्रपाबाट आएर सह–महामन्त्री पाएका सुनिलबहादुर थापाले पनि कुन पदमा उम्मेदवार बन्ने बोलेका छैनन् ।   पूर्वसहमहामन्त्रीहरु अर्जुननरसिंह केसी र डा. रामशरण महतले पनि आफ्नो लागि उपयुक्त ठाउँ कुन हो ? मेसो पाएका छैनन् । कोषाध्यक्ष सीतादेवी यादव र पूर्वकोषाध्यक्ष चित्रलेखा यादव पनि मौन छन् ।

विगतकै महाधिवेशनदेखि पार्टीको पदाधिकारी बन्न चाहेपनि केन्द्रीय सदस्यमै चित्त बुझाउँदै आएका नेताहरु ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, डा.मिनेन्द्र रिजाल, महेश आचार्य, एनपी साउद, डा.नारायण खड्का, रमेश लेखक, शंकर भण्डारी, भीष्मराज आङदेम्बे, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्माहरु पनि आफ्नो उम्मेदवारीबारे अहिले बोलेका छैनन् ।

उपसभापति विमलेन्द्र निधि अब पार्टीको पहिलो पुस्ताले कार्यकारिणी भूमिका छाडिदिनुपर्ने बताउँछन् । ‘अहिले नेतृत्वमा शेरबहादुरजी, रामचन्द्रजी र सिटौलाजी हुनुहुन्छ । तीनै जना उम्मेदवार हुनुहुन्छ कि हुँदैन ? थाहा छैन । तर, अब उहाँहरुले कार्यकारिणी भूमिका छाडिदिनुपर्छ । उहाँहरुको अवमूल्यन गर्ने कुरा पनि छैन । जबरजस्ती हटाउन चाहेको पनि होइन । उहाँहरु आफैँले छाडिदिनुभयो भने झन् राम्रो हो,’ उपसभापति निधिले भन्ने गरेका छन् । पार्टीमा गुटबन्दीका कारण एकै व्यक्ति पटक पटक पदमा आइरहने प्रवृत्ति हाबी भएको उनको भनाइ छ ।

केन्द्रीय सदस्य डा. शेखर कोइराला पार्टीमा अब युवा पुस्तालाई अवसर दिनुपर्ने बताउँछन् । सभापतिको दाबी गर्दै गर्दा उनले अघि सारेको ‘एक व्यक्ति एक पद’ को एजेण्डा युवा नेतामाझ लोकप्रिय बनेको छ । ‘म एकपटक सभापति हुने हो । म पार्टीलाई व्यस्थित रुपले चलाउँछु । अरु कोही प्रधानमन्त्री बन्नु, अरु पदमा बसुन्,’ डा. कोइराला भन्छन्— ‘राजनीतिलाई जनताको सेवामा केन्द्रित गर्नुपर्छ ।’ उनले महामन्त्रीमा युवा पुस्ताका नेतालाई समेटेर टिम घोषणा गर्ने भन्दै आफ्नो टिमबाट गगन थापा महामन्त्रीको उम्मेदवार हुनसक्ने संकेत गर्दै आएका छन् ।

एकै व्यक्तिले धेरै पद लिँदा नयाँ पुस्ताले मौका नपाएको उनको तर्क छ । पार्टीलाई मुलुककै ठूलो पार्टी बनाउन गाउँदेखि केन्द्रसम्म ६०–४० को अवधारणा अपनाउनुपर्ने उनी बताउँछन् । ‘तल्ला तहमा ६० प्रतिशत युवालाई ठाउँ दिनुपर्छ । किनकि त्यहाँ संगठन बनाउनुपर्ने हुन्छ । केन्द्रमा ४० प्रतिशत युवा सहभागिता गराउनुपर्छ,’ उनले भनेका छन् ।

केन्द्रीय सदस्य धनराज गुरुङ पनि माका नेताहरुले विश्राम लिनुपर्ने बताउँछन् । ‘एकै व्यक्तिले लामो समयसम्म पार्टी सत्ता कब्जा गरेर राख्ने कुरा राम्रो होइन । त्यसैले अब पहिलो पुस्ताले नेतृत्व हस्तान्तरण गर्नुपर्छ,’ उनले भने, ‘नभए हामीहरु हस्तक्षेप गरेरै भएपनि नेतृत्व लिन तयार हुनुपर्छ ।’

महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा यसपटक सधैं भन्दा फरक परिदृष्य देखिने पक्काजस्तै छ । यसअघि ‘दाइ’ लाई वा दाइले भनेअनुसार पद छोडेका नेताहरु यसपटक त्यसरी चुप लाग्ने देखिँदैनन् । किन पनि भने कांग्रेसको दोस्रो र तेस्रो पुस्ता स्वयम् सकसमा छ । यो पुस्ताका लागि पदाधिकारी वा नेतृत्व दाबी गर्ने यो अन्तिम महाधिवेशन पनि हुन सक्नेछ किनभने अर्को महाधिवेशनमा कांग्रेसको नेतृत्वको दावी स्वाभाविक रुपमा विश्वप्रकाश—गगन पुस्ताले गर्ने सम्भावना अधिक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *