मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले मानिस विदेश निर्यात गरेर मात्रै देश नबन्ने बताएका छन् ।
मंगलवार तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री साहले देश बनाउन मानिस नभई मान्छेले उत्पादन गरेका सामग्री निर्यात गर्नुपर्ने बताएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले जानकारी दिए ।
प्रधानमन्त्री साहले तयारी पोसाकको निर्यातमा विशेष जोड दिएको अध्यक्ष पाण्डेले बताए । प्रधानमन्त्री साहले सरकारले तयारी पोसाक उद्योगका समस्या समाधान, निर्यात विस्तार र लगानी प्रवर्द्धनलाई प्राथमिकतामा राखेको पनि बताए । प्रधानमन्त्री साहले तयारी पोसाक उद्योग बंगलादेश, भियतनाम, चीन, भारत र श्रीलंकाभन्दा पछाडि पर्नुको कारणबारे पनि जिज्ञासा पनि राखेका थिए ।
अध्यक्ष पाण्डेकाअनुसार तयारी पोसाक उद्योगलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने विषयमा बुँदागत छलफल भएको छ । पोसाक उद्योगसँग सम्बन्धित मन्त्रालयमा रोकिएका काम तत्काल समाधान गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् । अमेरिका लगायतका मुलुकसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए), वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई) भित्र्याउने, बहुराष्ट्रिय कम्पनी आकर्षित गर्ने तथा दुई दशकदेखि बन्द रहेका हेटौँडा कपडा उद्योगजस्ता रुग्ण उद्योग पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको अध्यक्ष पाण्डेले बताए ।
अध्यक्ष पाण्डेकाअनुसार ग्रीन गार्मेन्ट भिलेज स्थापना गरी काठमाडौँ उपत्यकाभर छरिएका गार्मेन्ट उद्योगलाई एकीकृत गर्ने तथा त्यसलाई औद्योगिक पर्यटनसँग जोड्ने अवधारणामा पनि प्रधानमन्त्रीले चासो देखाएका थिए । प्रधानमन्त्री साहले उद्योगीहरूलाई स्पष्ट कार्ययोजना ल्याउन आग्रह गर्दै प्लान्ट–बेस्ड र एनिमल–बेस्ड फाइबर उत्पादन, कपास खेती, फाइबरदेखि फ्याब्रिक र फ्याब्रिकदेखि फेसन तथा निर्यातको विस्तारमा जोड दिए ।
उनले अमेरिकामा ‘फ्लेमेबिलिटी’ परीक्षणका कारण रोकिएका नेपाली तयारी पोसाकको निर्यात सहजीकरणको लागि परराष्ट्र मन्त्रालयलाई आवश्यक पहल गर्न पनि निर्देशन दिए । सरकारले आवश्यक नीतिगत सुधार, एफटीए विस्तार र अन्तर्राष्ट्रिय बजारसँग प्रभावकारी समन्वय हुन सकेमा निर्यातलाई १० देखि २० गुणासम्म विस्तार गर्न सकिने अध्यक्ष पाण्डेले बताए ।
अध्यक्ष पाण्डेले गिरिजाप्रसाद कोइरालापछि पहिलो पटक नेपालको प्रधानमन्त्रीले तयारी पोसाक उद्योगीहरूसँग छलफल गरेको बताए । यसले आफूहरूलाई उत्साहित बनाएको उनको भनाई छ ।
उनले भने ‘सम्माननीयज्यूले विशेष गरेर तयारी पोसाक उद्योग संघसँग आबद्ध उद्योगहरूको के समस्या छ, यसलाई कसरी बढाउन सकिन्छ, बंगलादेश, भियतनाम, चाइना, इन्डिया, श्रीलंका लगायतका मुलुकहरू धेरै अगाडि बढे, हामी किन पछाडि पर्यौं, यसका लागि के गर्न सकिन्छ भनेर बोलाउनुभएको थियो । यसमा चुनौती के छ, अवसर के छ, खुल्ला बोर्डरले गर्दा चोरी पैठारी कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो । सन् २००५ भन्दा अगाडिको मल्टिफाइवर एग्रिमेन्टको अवस्थामा तयारी पोसाकलाई फर्काएर अर्थतन्त्रलाई कसरी माथि पुर्याउन सकिन्छ भनेर बुँदागत रूपमा छलफल भयो । यो हाम्रो इतिहासमै सराहनीय छ । पहिला गिरिजाप्रसाद कोइराला आफैँ आउनुहुन्थ्यो, त्यसपछिको समयमा यस्तो सकारात्मक भाइब्रेसन र आत्मीयता महसुस भएको पहिलो पटक हो । हामीले मन्त्रालयहरूमा रोकिएका कामहरूको जानकारी दियौँ । उहाँले तुरुन्तै निर्देशन दिएर सम्बन्धित मन्त्रालयमा समस्या समाधान गर्न भन्नुभयो । एफ.टी.ए. कसरी विस्तार गर्ने, अमेरिकासँग व्यापार कसरी बढाउने, फरेन डाइरेक्ट इन्भेष्टमेन्ट र बहुराष्ट्रिय कम्पनीहरूलाई कसरी भित्र्याउने भन्ने विषयमा कुरा भयो । २० औँ वर्षदेखि बन्द रहेका तयारी पोसाकका रुग्ण उद्योगहरू, जस्तै हेटौँडा कपडा उद्योग, खुलाउने बारेमा पनि कुरा भयो । मन्त्रालयमा समन्वय गरेर काउन्सिलको रूपमा यसलाई विकास गर्ने र अर्थतन्त्रको मेरुदण्ड बनाउने उहाँको चाहना छ । वाणिज्य मन्त्रालयका सचिवसँग पनि भेटघाटको समन्वय भएको छ । ग्रीन गार्मेन्ट भिलेजको कुरा भयो, शहरभरि छरिएका गार्मेन्टहरूलाई एकै ठाउँमा व्यवस्थित गर्ने र इन्डस्ट्रियल टुरिजमको रूपमा विकास गर्ने उहाँको सोच छ । सम्माननीय ज्यूसँग करिब एक घण्टा छलफल भयो, हामी धेरै सकारात्मक छौँ । उहाँले भन्नुभयो–तपाईँहरूले नै प्लान ल्याउनुस्, के के गर्ने हो भन्नुस् । प्लान्ट बेस्ड फाइबर, एनिमल बेस्ड फाइबर, कपास खेती, फाइबरदेखि फ्याब्रिक र फ्याब्रिकदेखि फेशन अनि निर्यातको चक्र कसरी पूरा गर्ने भन्नेमा जोड दिनुभयो । युवाहरूलाई ट्रेनिङ स्कुल, लगानीको वातावरण र विकास साझेदारहरूसँगको सहकार्यका कुरा भए । अमेरिकामा ‘फ्लेमेबिलिटी’ टेस्टको कारणले रोकिएका सामानहरूको सहजीकरणको लागि परराष्ट्र मन्त्रालयलाई तुरुन्तै निर्देशन दिनुभयो । सरकार पूर्ण निजी क्षेत्रमैत्री छ भन्ने हामीलाई भान भएको छ, देशको अर्थतन्त्र सुधार नगरीकन देश बन्दैन, मान्छे निर्यात गरेर देश बन्दैन, मान्छेले उत्पादन गरेको बस्तु निर्यात गरे मात्रै देश भन्छ, भन्ने उहाँले प्रस्ट धारणा राख्नुभएको छ, त्यसबाट हामी सम्पूर्ण उत्साहित भएका छौँ ।’
प्रधानमन्त्री साहले उद्योगीसँग समस्या मात्रै नभएर समाधान पनि लिएर आउन आग्रह गरेका छन् । तयारी पोसाक उद्योग संघका महासचिव भीमकुमार गिरीकाअनुसार समस्यासँगै समाधान पनि लिएर आए तत्काल समस्या समाधान गर्न सकिने प्रधानमन्त्रीको भनाई छ । साथै सहरमा मात्रै केन्द्रित नभई ग्रामीण क्षेत्रमा पनि उद्योग सञ्चालन गर्न आग्रह गरेको उनले बताए ।
साथै, तयारी पोसाक उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थलगायत समाग्रीहरु नेपालमै उत्पादन गर्न सक्षम हुनुपर्ने प्रधानमन्त्री साहको भनाइ छ । संघकाअनुसार नेपालबाट वार्षिक करिब १० अर्ब रुपैयाँ बराबरको तयारी पोसाक निर्यात भइरहेको छ । छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष वसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा थिए ।








