तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको विकासका लागि सरकार कटिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री शाहले आज तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा सो कुरा बताएका हुन् ।
उनले तयारी पोसाक उद्योगमा संलग्न व्यवसायीको हितमा सरकार सदैव ऐकबद्धता हुने प्रतिबद्धता जनाए ।
प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगसँग सम्बद्ध व्यवसायीसँगको भेटपछि विभागीय मन्त्रीलाई तत्काल ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन गर्न निर्देशन दिए ।
तयारी पोसाक व्यवसायीले काउन्सिल गठनले स्वदेशमा उपलब्ध कच्चापदार्थमा आधारित तयारी पोसाकको निर्यात प्रवद्र्धन र आयात व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरेका छन् ।
उद्योगी तथा व्यवसायीको माग बमोजिम प्रधानमन्त्रीले रुग्ण उद्योगलाई तत्काल सुचारु गर्न उद्योग मन्त्रालयलाई थप निर्देशन दिएका छन् ।
उनले निःशुल्क व्यापार सम्झौता (एफटीए) र वैदेशिक लगानी (एफडीआइ) ल्याउन तयारी पोसाक वस्तु अमेरिकामा रोकिएको र ‘टेस्टिङ सर्टिफिकेसन’ नभएकाले त्यसको बाटो खुलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन् ।
‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ उद्देश्य पूरा गर्नका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरिने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका छन् ।
नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा पुर्याउन आवश्यक रहेको भन्दै उनले त्यसका लागि तयारी पोशाक उद्योगले भोगिरहेका समस्या समाधान गर्न लागिपर्नेमा जोड दिए ।
छलफलमा सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा थिए ।








