ट्याक्टरले जुराएको पंगेनीको प्रेम

काठमाडौं । गायक बद्री पंगेनी नवलपरासीमा जन्मिएका हुन् । तर उनको बाल्यकाल भने उनको पुर्ख्यौली थलो पाल्पाको रामपुरमा बित्यो ।
सानै उमेरबाट बद्रीलाई पढाइमा खासै रुचि थिएन । अझ अङ्ग्रेजी विषय त उनलाई फिटिक्कै मन परेन । अङ्ग्रेजी शिक्षकले उनलाई ‘तँ’ भनेर बोलाउने र उपनाम समेत राख्ने भएकोले उनी शिक्षकको नजिक हुनै सकेनन् । तर उनीसँग राम्रो व्यवहार गर्ने र ‘तिमी’ भन्ने शिक्षकको विषयमा भने उनी सधैं अब्बल रहे ।

उनको रुचि पढाइमाभन्दा बालन, पूजाआजा, विवाह, तीज, व्रतबन्धमा हुने रमझममा बढी रह्यो । अझ विशेषगरी उनलाई बालन मनपर्ने । कृष्ण बालन र राम बालनमा पनि उनी राम बालन निकट थिए । बालनका विभिन्न भूमिकामा उनी देखिने गर्थे । बालनका गीत पनि धेरै गाए ।

तँ भनेर बोलाउने शिक्षकले पढाउने अङ्ग्रेजी विषयको कक्षा छोडेर उनी साथीहरूसँग चौतारीमा जान्थे । त्यहीँ बसेर चुट्किला सुन्दै सुनाउँदै रमाइलो गर्थे । कहिले काहीँ माछा मार्न खोलासम्म पनि पुग्थे । केटाकेटीमा उनलाई माछा र चरा मार्न साथीहरुसँगै जान मनपर्थ्यो ।

उनको माछा र चरा मोह, प्रेमका कारण भङ्ग भयो । सानै उमेरमा उनी एक कार्यक्रममा गीत गाउन पुगेका थिए । उनको गीतमा नाच्ने ‘सानी नानी’ थिइन्, कल्पना भट्टराई । एउटै विद्यालय भए पनि उनीहरू एक अर्कालाई चिन्दैन थिए । उनीहरूको पछि पुनः भेट भयो । गाउँमा ट्याक्टर फसेको थियो । त्यही ट्याक्टर हेर्न जाँदा बद्रीले पुनः कल्पनालाई भेटे । आँखा जुध्यो पनि ।

अर्को दिन बद्रीलाई कल्पनाले चिठ्ठी लेखेर पठाइन् । त्यसपछि पत्र आदानप्रदानको क्रम चल्न थाल्यो । जब उनी प्रेममा डुब्दै गए, तब चरा र माछा छोडेर गायनसँगै फुटबल र राजनीतिको निकट भए । १८ वर्षकै उमेरमा बद्रीले १५ वर्षकी कल्पनालाई भगाए ।

गायनमा भविष्य बनाउने योजनासहित उनी काठमाडौं आए । एसएलसी दिनमात्रै उनी घर फर्किए । काठमाडौंमा उनले पुकार दोहोरी साँझमा करिब ६ वर्ष गीत गाए । यही क्रममा उनी गायक भगवान् भण्डारीको सहयोगमा धवलागिरी क्यासेट सेन्टरसम्म पुगे । धवलागिरीले आफ्नै लगानीमा बद्रीको पहिलो एल्बम निकालिदियो ।

त्यसपछि उनले बिस्तारै अगाडि बढ्न थाले । उनका तानसेन खस्यौलीपछि पिएन क्याम्पस, ब्युटी नम्बर वान, ससुरालीमा जस्ता एल्बम निरन्तर निस्किन थाले ।

ससुरालीमा एल्बमको ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ गीतले उनलाई धेरै दर्शक श्रोतामाझ स्थापित गर्‍यो । यो गीतमा उनलाई सिन्धु मल्लले साथ दिएकी थिइन् । उनको फोटो फिर्ता लेउ, लाऊ चेली सिन्दूर लाऊ, रातो पछ्यौरीलगायत दर्जनौं गीत चर्चित छन् । पछिल्लो समयको उनको गीत ‘तिम्रो घरमा मेरी छोरी’ ले नेपाली समाजमा स्थापित रहेको जातीय विभेदको आवाज बोलेको छ ।

उनी पछिल्लो समय कार्यक्रम सञ्चालकका रुपमा पनि अघि बढिरहेका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम लोक दोहोरी च्याम्पियनका सञ्चालक हुन् । गायिका प्रिति आलेसँग मिलेर उनले यो कार्यक्रम चलाइरहेका छन् ।

आज असार १६ अर्थात् बद्री पंगेनी जन्मेको दिन । जन्मदिनको मंगलमय शुभकामना ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *