प्रदेश सभामा मुख्यमन्त्रीको जवाफ : यस्ता छन् तीन मुख्य कारण

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अप्ठेरोको बिचमा प्रदेश सभाको अधिवेशन बोलाइएको बताएका छन् । कोभिडको महामारीमा पूर्वबजेट छलफल गर्दा कोभिडको संक्रमण बढ्न सक्ने भएको कारण पूर्वबजेट छलफलको समय छोट्याइएको बताए । उनले तीन कारणबाट प्रिबजेट छलफलको समय घटाएको बताएका छन् ।
उनले पहिलो कारणलाई कोभिड महामारीको डरलाग्दो अवस्था, दर्जानौँ व्यक्ति मरेको, सांसद निर्वाचन क्षेत्रमा रहेको कारण भनेका छन् । दोस्रो कारणमा प्रि-बजेट माथिको छलफल सदनबाट पास गर्ने कुरा महत्वपूर्ण छैन, सांसदालाई बोलाएर भेला गर्ने र मृत्युको मुखमा पुर्याउन कुरा ठिक हुँदै भन्ने रहेको उनको तर्क छ ।
त्यस्तै तेस्रो कारणको रुपमा संघीय सरकारले स्वास्थ्य संकटकाल लगाइहालेको अवस्थामा बैठक बस्न नसक्ने भन्ने कारणले प्रदेश सभाको अधिवेशन बोलाउन ढिला भएको स्वीकार गरेका छन् । सरकार संसदबाट छल्न, तर्किनका लागि नभई, राम्रोसँग छलफल र परामर्श गरेर मात्र प्रदेश सभा बोलाउने नबोलाउने भन्नेमा पुग्नको लागि पनि ढिला भएको उनका भनाइ छ ।
कोभिडबाट थुप्रै पाठहरु सिकेको र दोस्रो कोभिडबाट धेरै पाठ सिक्नु पर्ने अवस्था रहेको उल्लेख गर्दै मुख्यमन्त्री राईले देशमा योबीचमा कोभिड-१९ र राजनीति कोभिडले सबै क्षेत्र ग्रसित भएको बताए । ‘यो कोभिडले कतिबेला कसलाई खाने हो, कसलाई सक्ने हो‚’ उनले भने, ‘राजनीतिमा पनि त्यस्तै भएको छ, केही माननीय सदस्यज्यूहरू नयाँ रुप, नयाँ अवतार, नयाँ पोजिसनमा रुप फेरेर बस्नु भएको छ ।’
उनले जवाफ दिनुभन्दा पहिला विपक्षी दलका नेताहरुले सरकारले अध्यादेशबाट पूर्वबजेट छलफलको समय घटाएको बारेमा आलोचना गरेका थिए ।








