मन्त्रीमा दम्पतीको आलोपालो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई समावेश गर्दै गरिएको पुनःगठनमा एमालेभित्रकै मन्त्रीहरुलाई पनि थपघट गरिएको छ ।

एमालेका मन्त्रीहरु शिवमाया तुम्वाहाङ्फे, जुलीकुमारी महतो र प्रेम आलेले सम्हालिरहेका मन्त्रालयको जिम्मेवारी जसपा नेताहरूले पाएका छन् । यस्तै, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाललगायत मन्त्रीलाई पनि प्रधानमन्त्री ओलीले जिम्मेवारीमुक्त गरेका छन् ।

नेताहरु रघुवीर महासेठ र शेरबहादुर तामाङ्गले पुनः मन्त्री पद पाएका छन् ।

महासेठ, मन्त्रीबाट शुक्रबार नै हटाइएकी एमाले नेतृ जुलिकुमारी महतोका श्रीमान् हुन् । यसअघि ०७४ चैत २ गते मन्त्रिपरिषद् विस्तार हुँदा भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारी पाएका महासेठ २० महिनापछि पदमुक्त भएका थिए ।

तर, श्रीमान पदमुक्त भएपनि श्रीमती जुलीले मन्त्री पद पाइन् । गत वर्षको पुस ५ गते संसद् विघटन भएपछि एमालेका माधवकुमार नेपाल पक्ष र माओवादी केन्द्रका मन्त्रीहरू सरकारबाट फिर्ता भए ।

दाहाल–नेपाल समूहमा खुलेकी महतो मन्त्री बन्ने भएपछि पुनः ओलीतिरै लागेर महिला तथा बालबालिका मन्त्री बनेकी थिइन् ।

उनी समानुपातिक सांसद हुन् । शुक्रबार उनको मन्त्री पद गुमे पनि उनका श्रीमान् महासेठ बढुवा हुँदै तथा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् ।

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका महासेठ २०७४ सालको निर्वाचनमा धनुषा–४ बाट निर्वाचित भएका थिए । ओलीले भौतिक पूर्वाधार मन्त्रीबाट हटाएपछि उनी माधवकुमार नेपाल पक्षमा लागेका थिए । तर, ओलीले अहिले उनलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी दिँदै आफूतिरै ल्याएका छन् ।

यसरी विगत ४ वर्षयता महासेठ दम्पतीले पालैलालो मन्त्री पद पाइरहेका छन् । राजनीतिमा मन्त्रीलाई लाभको पद मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =