‘८ मन्त्री र २ राज्यमन्त्रीसहित जसपा सरकारमा जान्छ’

काठमाडौं । महन्थ ठाकुर—राजेन्द्र महतोपक्षीय जनता समाजवादी पार्टी (जसपा) ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र ठाकुर—महतोबीच भएको ४ घण्टा लामो वार्तापछि जसपा सरकारमा जाने लगभग ‘फिक्स’ भएको हो । नेता लक्ष्मणलाल कर्णले वार्तापछि भने— ‘प्रधानमन्त्रीले सरकारमा आउनुस्, सँगै काम गरौँ भनेर भन्नुभयो । ८ मन्त्री र २ मन्त्री चाहिन्छ भनेर महन्थजीले भनिसक्नुभएको छ ।’

आफूहरुले पार्टीमा सल्लाह गर्ने र प्रधानमन्त्रीलाई जवाफ दिने नेता कर्णले बताएका छन् । ‘उताबाट सकारात्मक कुरा छ । हामीले चाहिँ पार्टीमा सल्लाह गर्छौँ र भन्छौँ भनेका छौँ’, नेता कर्णले भनेका छन् । यस्तै नेता कर्णले मधेश आन्दोलन र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेका केही मुद्दा फिर्ता लिने प्राविधिक काम पूरा भएपछि सरकारमा सहभागीताबारे निर्णय लिइने बताएका छन् ।

जसपा पनि सरकारमा सामेल हुने पक्का भयो ? भन्ने प्रश्नमा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले भने— ‘यो कुरा हो । उहाँहरु ढिलाचाँडो आउनुहुन्छ । तर, यो अहिले पनि वार्ताको चरणमै छ । पक्का नै भइसकेको भने होइन । तर, उहाँहरु आउनुहुन्छ ।’

यता उपेन्द्र यादवपक्षीय जसपाले भने जसपा अहिले सरकारमा नजाने बताउँछ । नेता मोहम्मद ईस्तियाक राईले भने— ‘जसपा अहिले सरकारमा पनि जाँदैन पनि, जानेलाई कारबाही हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *