सरकारमा जाँदै ठाकुर–महतोपक्षीय जसपा, बालुवाटारमा ‘निर्णायक’ वार्ता जारी

काठमाडौं । महन्थ ठाकुर— राजेन्द्र महतोपक्षीय जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा जाने तीव्र तयारी थालेको छ । तयारीस्वरुप नेताद्वय ठाकुर—महतो बालुवाटार पुगेको नेता एकवाल मियाँले मकालु खबरलाई बताए । त्यहाँ दुई नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुनेबारे निर्णायक वार्ता गर्ने नेता मियाँको भनाइ छ । उनले भने— ‘सरकारमा जाने भन्ने कुरा त हाम्रो पहिलेकै हो । यस बीचमा जान सकिएन । अब चाहिँ मिलिहालेको खण्डमा जाने भन्ने हाम्रो पार्टीले निर्णय गरेको छ । सम्भवतः चाँडै सरकारमा हामी सामेल हुन सक्छौँ ।’

यता अर्का एक नेताले भने आज वा आज वा भोलिभित्रै जसपा सरकारमा गइसकेको हुनसक्ने दाबी गरे । मकालु खबरसँग ती नेताले भने— ‘जसपाले ८ मन्त्रीसहित २ राज्यमन्त्री मागेको हो । कुरा लगभग मिलिसकेको छ । आज वा भोलिमा सरकारमा जान्छौं होला ।’

ठाकुर—महतोपक्षीय जसपाले आफ्नो माग पूरा गरेको खण्डमा ओली नेतृत्वकै सरकारमा सामेल हुने बताउँदै आएका छन् । यसबीचमा ओलीले नागरिकता अध्यादेश, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन गरेपछि ठाकुर—महतोपक्षीय जसपा सरकारमा जाने भएको हो । ती नेताले भने— ‘वर्तमान प्रधानमन्त्रीज्यूले हाम्रो अधिकांश मागहरु पूरा गर्नुभएकोले हामी सरकारमा जाने भएका हौँ । अझै केही मागहरु पूरा हुन बाँकी छन् । त्यसलाई सरकारमा गएपछि पूरा हुने आश्वासन प्रधानमन्त्रीज्यूले दिनुभएको छ ।’

ती नेताले विपक्षी जसपाको कार्यकारिणी समितिमा बहुमत पुग्न नदिने प्रयासस्वरुप आफूहरु अहिलेसम्म सरकारमा नगएको बताए । ४० प्रतिशत पुगेको खण्डमा पार्टी फुटाएरै भएपनि आफूहरु सरकारमा जाने ती नेताको भनाइ छ । भन्छन्— ‘साह्रै भएन भने पार्टी फुटाएरकै भएपनि सरकारमा जाने मोटामोटी तयारीमा छौँ हामी । केन्द्रीय कमिटीमा त बहुमत पुग्छ नै कार्यकारिणीमा पनि पुर्याउने कोसिस गर्दैछौँ ।’ त्यसो त यता जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि पार्टी विभाजनको संकेत दिएका छन् । भट्टराईले भनेका छन्— ‘भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ । हात मिलाएर आ–आफ्नो बाटो लागौं । हिँडिरहे फेरि भेट हुनेछ ।’

प्रधानमन्त्री ओलीकै कारण हतार—हतार पार्टी एकता गरेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी पुनः प्रधानमन्त्री ओलीकै कारण फुटतिर धकेलिँदैछ । ठाकुर—महतोपक्षीय जसपाले ओली नेतृत्वकै सरकारमा जाने अडान लिइरहँदा भट्टराई—यादवपक्षीय जसपाको अडान ओली विस्थापित हुनैपर्ने भन्ने छ । यस विषयमा नै लामो समययता कुरा नमिलिरहेको जसपा अन्ततः फुटको सन्निकट पुगेको छ ।

सांसद नरहेका सात एमाले नेतालाई फेरि मन्त्री बनाउन नहुने सर्वोच्चको आदेशपछि अहिले सात मन्त्रालय खाली छन् । तर, जसपाले ८ मन्त्रालयको माग गरेको छ । बालुवाटार स्रोतकाअनुसार जसपा सरकारमा आउने भयो नै भने ७ मन्त्रालय पाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *