जसपा विवाद

‘जसपा सरकारमा जाँदैन, जानेलाई कारबाही हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई सघाउने कि नसघाउने भन्नेबारे आन्तरिक विवादका रुमलिएको जनता समाजवादी पार्टी (जसपा) फुटको सन्निकट पुगेको छ । महन्थ ठाकुर—राजेन्द्र महतोपक्षीय जसपाले केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारी थालेसँगै पार्टी एकता भाँडिने सम्भावना बढेको हो । सरकारमा सामेल हुनको लागि अहिले ओली—ठाकुर र महतोबीच निर्णायक वार्ता भइरहेको छ । वार्तापश्चात् आज वा भोलिभित्र जसपा सरकारमा गइसक्ने एक सांसदले मकालु खबरलाई बताए । भने— ‘जसपाले ८ मन्त्रीसहित २ राज्यमन्त्री मागेको हो । कुरा लगभग मिलिसकेको छ । आज वा भोलिमा सरकारमा जान्छौं होला ।’

तर, यता डा. बाबुराम भट्टराई—उपेन्द्र यादवपक्षीय जसपाले भने जसपा सरकारमा नजाने बताएको छ । नेता मोहम्मद ईस्तियाक राईले मकालु खबरसँग भने— ‘अहिले जसपा सरकारमा जाँदैन । कोही केहीगरी गयो भने पार्टीले कारबाही गर्नेछ ।’ पार्टी नफुट्ने दाबी गर्दै नेता राईले जसपा सरकारमा जाने मनस्थितिमा नरहेको बताए । ‘जसपा सरकारमा जाँदै जाँदैन । यो खाली बहस मात्रै हो,’ नेता राईले भनेका छन् । यस्तै अर्का नेता महेन्द्र राय यादवले पनि जसपा अहिले सरकारमा नजाने बताएका छन् । नेता यादवले भने— ‘जसपा अहिले कहाँबाट सरकारमा जान्छ र ? अहिलेका प्रधानमन्त्रीको नेतृत्वको सरकारमा जसपा सरकारमा जाँदै जाँदैन ।’

प्रधानमन्त्री ओलीकै कारण हतार—हतार पार्टी एकता गरेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी पुनः प्रधानमन्त्री ओलीकै कारण फुटतिर धकेलिँदैछ । ठाकुर—महतोपक्षीय जसपाले ओली नेतृत्वकै सरकारमा जाने अडान लिइरहँदा भट्टराई—यादवपक्षीय जसपाको अडान ओली विस्थापित हुनैपर्ने भन्ने छ । यस विषयमा नै लामो समययता कुरा नमिलिरहेको जसपा अन्ततः फुटको सन्निकट पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *