जसपा संसदीय दलकाे बैठक बस्दै, सरकारबारे निर्णय गर्ने

काठमाडाैं । नयाँ सरकार गठनकाबारेमा छलफल गर्न जनता समाजवादी पार्टीकाे संसदीय दलको बैठक शुक्रबार बस्ने भएकाे छ । बैठक बिहान १० बजेपछि सिंहदरबारमा बस्ने र नयाँ सरकार गठनका सम्बन्धमा निर्णय गर्ने जसपाका एक सांसदले जानकारी दिए ।
जसपाले यसअघि केपी शर्मा ओली नेतृत्वकाे सरकारमा सहभागि नहुने बरु आफैंले सरकारकाे नेतृत्व गर्ने अवस्था आए तयार रहने निर्णय गरेकाे थियाे । जसपाभित्र महन्थ ठाकुर र राजेन्द्र महताे प्रधानमन्त्री ओलीप्रति र डा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष विपक्षी गठबन्धनसँग नजिक छन् ।
एमालेले ठाकुर महताे पक्षलाई लिएर बहुमत दाबी गर्ने तयारी गरेकाे छ । यसबारेमा दुवै पक्षका शिर्ष नेतृत्वबिच पटकपटक छलफल भइसकेकाे छ । जसपाकाे संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानकाे धारा ७६ (५) अनुसार नै सरकार गठन गर्न अरु दललाई आग्रह गरेका छन् । बैठकमा जसपाको उपेन्द्र यादव समूह सहभागी हुने नहुने निश्चित भैसकेको छैन।
राष्ट्रपति विद्यादेवीभण्डारीले संविधानकाे धारा ७६ (५) अनुसार सरकार गठनका लागि बहुमतको दाबी पेश गर्न दलहरुलाई शुक्रबार साँझ पाँच बजेसम्मको समय दिएकी छिन् ।








