विद्यालय बन्द गर्न चौतर्फी दबाब, अभिभावक भन्छन्- ज्यान रहे फेरि पढौंला

काठमाडौं । कोभिड-१९ को दोश्रो लहर बढ्न थालेपछि विद्यालय बन्द गर्न चौतर्फी दबाब बढेको छ । कोभिडको नयाँ भाइरस यसअघिको भन्दा बढी संक्रामक र खतरनाक तथा बालबालिकालाई बढी प्रभावित गर्न थालेपछि अभिभावकलगायत सरोकारवालाले विद्यालय बन्द गर्न दबाब दिइरहेका छन् ।

तर, सरकार र विद्यालय सञ्चालकले यसबारे निर्णय नगर्दा थप समस्या भएको अभिभावकले बताएका छन् ।

ललितपुरको बुङ्मतीकी राधिका पौडेल अब छोराछोरीलाई विद्यालय नपठाउने निर्णयमा पुगेकी छन् ।

राधिकाको कक्षा ८ मा पढ्ने छोरी र कक्षा १ मा पढ्ने छोरा छन् । उनलाई कारोनाको महामारी बढेपछि सरकारले आवश्यकताअनुसार निर्णय गर्ला भन्ने लागेको थियो । भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गरिदिए हुन्थ्यो भन्ने लागेको थियो । सरकारले यसबारे अझैसम्म केही निर्णय नगरेको तर कोभिडको जोखिम झन् झन् बढ्दै गएकाले छोराछोरी विद्यालय नपठाउने निर्णय गरेको उनले बताइन् । ‘सास रहेमात्र आश रहन्छ, ज्यानभन्दा ठूलो केही होइन, स्वस्थ रहे भने अर्को साल पढ्छन् ।’ उनले मकालु खबससँग भनिन् । राधिकालाई अन्तिम परीक्षाको मुखमा यसरी बच्चाको पढाइ बिगार्नु परेकोमा दुःख भने लागेको छ ।

ललितपुरकै भैँसेपाटी बस्ने कल्पना ढुङ्गानाले भने आफ्ना ३ छोरीलाई विद्यालय पठाइरहेकी छन् । विद्यालयले अन्तिम परीक्षा छिट्टै लिने भनेकाले परीक्षा भइनसक्दासम्म विद्यालय पठाउनैपर्ने बाध्यता रहेको तर विद्यालय पठाउँदा मानसिक रुपमा भने तनाव हुने गरेको उनले बताइन् । विद्यालयले अनलाइन पढाई गरे हुन्थ्यो भन्ने लागेपनि त्यसो नहुँदा तनाव झनै बढेको उनको भनाइ छ ।

भक्तपुरको श्रीकृष्ण माध्यमिक विद्यालयका शिक्षक इन्द्र न्यौपानेले आफूले बाध्य भएर छोरालाई विद्यालय पठाउनु परिरहेको बताए । उनले भने‚ ‘सरकारले निर्णय नगर्नाले भर्चुअल क्लास सुरु भएको छैन, चार वर्षको छोरोलाई डराई डराई विद्यालय पठाइरहेको छु, पठाउन मन छैन तर नपठाउँ भने पढाइ छुट्छ, अब महामारी बढ्दै गयो भने त पठाउन सकिन्न ।’

जनस्वास्थ्यविदहरुले पनि बालबालिकाको स्वास्थ्य संवेदनशील भएकाले हेलचेक्र्याइँ नगर्न आग्रह गरेका छन् । जनस्वास्थ्यविद् डा रविन्द्र समिरले विद्यालय बन्द गरेर भएपनि बालबालिकालाई जोगाउन सुझाव दिएका छन् ।

कोभिडका नयाँ संक्रमितमध्ये १० प्रतिशत बालबालिका रहेको तथा विभिन्न ठाउँमा विद्यालयमा समेत संक्रमण फैलिएकाले विद्यालय बन्द गरेर अनलाइन मार्फत कक्षा सञ्चालन गर्नुपर्ने अभिभावकको माग छ । यसबारे सरकारले पनि तयारी गरिरहेको तर अहिले नै विद्यालय बन्द गर्ने निर्णय भने भइनसकेको शिक्षा मन्त्रालयले जनाएको छ । विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा शिक्षा मन्त्रालयले केही दिनअघि सरोकारवालासँग छलफल गरी तत्काल बन्द नगर्ने निर्णय गरेको थियो ।

अभिभावकहरुले पढाइभन्दा आफ्ना बालबालिकाको स्वास्थ्य महत्वपूर्ण रहेको भन्दै विद्यालय नपठाउने निर्णय गर्न थालेका छन् ।

अभिभावक संघका पूर्व अध्यक्ष सुप्रभात भण्डारी संक्रमणको अवस्था हेरेर विद्यालय बन्द गर्नुपर्ने बताउँछन् ।

भण्डारी भन्छन्, ‘जहाँ धेरै संक्रमण फैलिएको छ, विद्यार्थीको संख्या पनि धेरै छ‚ त्यस्तो ठाउँमा प्रदेश सरकारसँग समन्वय गरेर विद्यालय बन्द गर्नुपर्छ । तर संक्रमण नफैलिएको स्थानमा पठनपाठन ठप्प गर्नुपर्दैन । किनभने विद्यालय पूर्ण रुपमा बन्द गर्नाले संक्रमण नफैलिएका ठाउका विद्यार्थीको समय यत्तिकै खेर जान्छ । त्यसैले स्वास्थ्य मापदन्डलाई अपनाएर त्यस्तो स्थानमा विद्यालय सञ्चालन गर्नुपर्छ । सो कार्यको लागि स्थानीय तहले प्रदेश सरकारसँग समन्वय गर्दै जानुपर्ने देखिन्छ ।’

सामाजिक सञ्जाल प्रयोग गर्ने अभिभावकले आफ्ना बच्चालाई विद्यालय नपठाउने प्रतिकृया दिन थालेका छन् ।

अरु अभिभावकहरुले पनि छोराछोरी विद्यालय पठाउने विषयमा आफू दोधारमा रहेको बताएका छन् ।

ट्विटरमा लेनिन बन्जाडे लेख्छन्, ‘सरकारले निर्णय गरोस्/नगरोस्, प्याबसनले स्कुल बन्द गरोस्/नगरोस् । हामीचाहिँ आजबाट छोरालाई स्कुल नपठाउने निर्णयमा पुग्यौं । मिले अनलाइनमा नमिले घरमा आफैँ पढ्ला । परीक्षा दिन नपाए अर्को वर्ष ५ कक्षा पास गर्ला । यस्तो स्वाँठ सरकारको भर पर्ने हो भने हातमा पछुतोबाहेक अरु विकल्प हुन्न ।’

ट्विटरमै दिपेन्द्र बडुवाल लेख्छन्, ‘विद्यालय सञ्चाकज्यूहरु, कोरोना संक्रमणको यति तीव्र र व्यापक प्रसार भइसक्दा पनि केही समयका लागि भर्चुअल कक्षा चलाउँछौ भन्न किन हिचकिचाउनुहुन्छ ? विद्यार्थी स्वस्थ रहे भने फी त अर्को साल पनि उठाउँला न, हुन्न ? शिक्षाको व्यापारसँगै अलिकति विवेक पनि देखाउने की ?’
ट्विटरमै उज्ज्वल आचार्य लेख्छन्, ‘कोभिड अन्य रोगजस्तो संक्रमणमुक्त भएपछि निको हुने रोग होइन रहेछ । यसले जीवनभर असर गर्न सक्ने रहेछ । यस्तो बेला बालबालिकाको भविष्य कि उनीहरुको एक दुई वर्षको पढाइ ?’

फेसबुकमा प्रकाश प्याकुरेलले पनि लेखेका छन्, ‘सरकारले निर्णय गरोस्/नगरोस्, प्याब्सनले स्कुल बन्द गरोस्/नगरोस् हामीचाहिँ आजबाट छोरालाई स्कुल नपठाउने निर्णयमा पुग्यौँ । मिले अनलाइनमा, नमिले घरमा आफैँ पढ्ला । पछुतो बाहेक अरु विकल्प रहन्न । ’

विद्यालय सञ्चालकप्रति सरकारको शंका
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले विद्यालय कम्तिमा १ महिना बन्द गरी अनलाइनबाट पठनपाठन गर्नेगरी सिफारिस गरिएको तर विद्यालय सञ्चालकहरुले भने समस्याका बेलामा पनि नाजायज फाइदा लिन खोजेको हो कि भन्ने शंका भइरहेको बताएका छन् । ‘उहाँहरुले राहतलगायत नाजायज फाइदा लिन खोज्नुभएको हो भने सरकारका लागि त्यो कुनैपनि हालतमा मान्य हुँदैन ।’ मन्त्री त्रिपाठीले भने ।

निजी तथा आवासीय विद्यालयको एक संगठन नेपाल प्याब्सनले सरकारलाई विद्यालय बन्द नगर्न अनुरोध गरेको छ । अनलाइन माध्यमबाट ५० प्रतिशत विद्यार्थीलाई मात्र समेट्न सकिने भन्दै प्याब्सनले विद्यालय बन्द गर्नु नै उत्तम विकल्प नभएको बताउँदै आएको छ ।

प्याब्सनका अध्यक्ष टिकाराम पुरीले मापदण्ड र सुरक्षामा कडाइ गर्दै भौतिक उपस्थितिमा नै पठनपाठन सञ्चालन गर्नुपर्ने आफूहरूको मान्यता रहेको बताए । ‘सरकारले के गर्छ त्यो थाहा भएन तर मापदण्ड पुर्‍याएर विद्यालय सञ्चालन गर्नुपर्छ‚’ उनले भने ।

तर अभिभावकहरू भने जोखिम बढ्दै गएको र बालबालिका पनि धेरै संक्रमित हुन थालेकाले अब विद्यालय चलाउने वा खोल्ने भन्ने बहसमा नअड्की तत्काल विद्यालय बन्द गरेर यसअघिकै जस्तो भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिइरहेका छन् ।

प्रतिक्रिया