विद्यालय बन्द गरेर भए पनि बालबालिका बचाउनुपर्छ

काठमाडौं । नेपालमा देखिएको नयाँ भाइरस ‘युके भेरियन्ट’बाट पछिल्लो दुई साता बालबालिका संक्रमित हुने क्रम बढेको छ । अघिल्लो वर्ष बालबालिकामा अत्यन्तै न्यून देखिएको कोभिड-१९ को संक्रमण दोस्रो लहरमा भने २० वर्षभन्दा कम उमेर समूहमा बढी देखिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सोमबारसम्म नेपालमा १५८ जनामा युके भेरियन्ट पुष्टि भएको छ । जसमध्ये २६ जना २० वर्षमुनिका व्यक्ति छन् । यूके भेरियन्ट पहिले फैलिएको भाइरसभन्दा ७० प्रतिशत बढी घातक हुने जनस्वास्थ्यविद् बताउँछन् ।

  • कोभिड-१९ को दोस्रो लहरको अवस्था कस्तो छ र जोगिन के गर्न सकिन्छ ? हेरौ, जनस्वास्थ्यविद् डा‍‍. रवीन्द्र पाण्डेको सुझाव :-

-गत साल फैलिएको (कोरोना) महामारीभन्दा अहिलेको फरक छ । लक्षणविहीन धेरै छन् भने लक्षण देखिएका गम्भीर भएर अस्पताल भर्ना भएका छन् ।

-बेलायतको नयाँ प्रजातिले बालबालिका तथा युवालाई तुलनात्मक रूपमा धेरै असर गरेको छ ।

-बेलायतको प्रजाति गत सालको कोरोना भाइरसभन्दा ७० प्रतिशत धेरै संक्रामक छ ।

-दीर्घरोग नभएका व्यक्ति पनि गम्भीर भएर अस्पतालमा छन् ।

-गत साल देखिएका कोभिडका लक्षण यसपटक फरक छन् । यसपटक ज्वरो, खोकी नभए पनि पखाला, बान्ता, थकान, बिमिरा आदि लक्षण मात्र भएका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ ।

-कुनै लक्षण देखियो भने वा संक्रमितसँग भेट भएको अवस्था भए परीक्षण गर्न ढिला नगरौं ।

-केही बालबालिकालाई लक्षण नदेखिएर एक्कासि निमोनिया देखिएको र जाँच गर्दा कोभिड पुष्टि भएको छ ।

-केही संक्रमितलाई पटकपटक पीसीआर नेगेटिभ देखिए पनि कोभिड निमोनिया भएर फोक्सो ड्यामेज भएको उपचाररत चिकित्सकले बताएका छन् ।

-हरेक अस्पतालमा संक्रमितको चाप बढेको छ ।

-भारतसँग धेरै देशको हवाई सम्पर्क बन्द छ । दैनिक हजारौं भारतीय नेपाल आएर अरबलगायतका देशमा जाँदैछन् । भारतबाट नेपाल आउने सबैलाई अनुगमन, निगरानी र परीक्षणमा चुक्नु हुँदैन । सीमा नाकामा व्यापक कडाइ, परीक्षण, क्वारेन्टिन, आइसोलेसनको पूर्ण तयारी गर्न ढिला गर्नु हुँदैन ।

-संक्रमण थोरै भएका बेला कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुन्छ । अहिले कन्ट्याक्ट ट्रेसिङ निकै फितलो छ । मापदण्ड पालनाका लागि सरकार कडा नहुने हो भने योपटकको लहरले ठूलो क्षति गर्ने सम्भावना छ ।

-जनस्वास्थ्यका मापदण्डमा कडाइ, अनुगमन, निगरानी तथा जरिवाना नगर्ने देश नेपाल मात्र हो ।

-संक्रमण फैलिएपछि दुःख पाउनुभन्दा संक्रमण रोकथामका लागि सरकार र नागरिक अत्यन्तै जिम्मेवार हुन जरुरी छ । गत साल गरेका गल्ती दोहोर्‍याउनु भएन ।

-हामी आम नागरिक अत्यन्तै जिम्मेवार हुन जरुरी छ। हाम्रै लापरबाहीले संक्रमण सर्ने हो । संक्रमित भएर भौतिक, आर्थिक, मानसिकलगायत असर भोग्नुपर्ने हामीले नै हो । तसर्थ हामी अत्यन्तै जिम्मेवार भएर अनिवार्य रूपमा नाक र मुख छोपिनेगरी डबल मास्क लगाऔं। मान्छेबाट मान्छेमा सर्ने भएकाले मान्छेसँग दूरी कायम गर्न नचुकौं ।

-जोखिम अवस्थामा विद्यालय बन्द गरेर भए पनि बालबालिकालाई बचाउनुपर्दछ । एक वर्ष पढाइ ढिला भए केही असर होला तर जीवन अमूल्य छ । अनलाइन पढाइको विकल्प छैन । विद्यालयबाट संक्रमण घरघरमा पुग्यो भने अकल्पनीय अवस्था हुन सक्छ ।

-धेरै दौडधुप गरेर जोखिम मोल्नुभन्दा सम्भव भएसम्म घरमा बस्ने बानी गरौं। कार्यस्थललाई सुरक्षित बनाऔं ।

-सरकारले जारी गरेका सूचना तथा निर्देशन पालना गरौं। आधिकारिक संस्था वा विज्ञको मात्र कुरा सुनौं । भ्रमको पछाडि नलागौं। भ्रम सबैभन्दा घातक महामारी हो ।

-पाएसम्म कोरोनाको खोप लगाएर सुरक्षित बनौं। यसका अतिरिक्त इन्फ्लुएन्जा र निमोनियाको खोप पनि लगाऔं।

–पौष्टिक खाना, व्यायाम, निद्रा, सकारात्मक सोंच तथा प्रकृतिको उपभोग नै सबैभन्दा ठूलो इम्युन बुस्टर हुन् ।

-नलागुन्जेल कोभिड केही होइन, लागेपछि बर्बाद हो । आईसीयूबाट फर्केका व्यक्तिलाई थाहा हुन्छ, कोभिड के हो ?

-देश लकडाउनको बाटोमा जानु हुँदैन । लकडाउनमा नजानका लागि जनस्वास्थ्य मापदण्ड पालना गर्ने/गराउने प्रमुख उपाय हो ।

-यो पटक एकदम सिरियस बनौं । डरत्रास, अत्यास मानेर हैन, योजनापूर्वक सतर्क बनौं ।

-सबैले प्रण गरौं- म संक्रमित हुनेछैन, मेरो परिवार र समाजलाई मैले बचाउनेछु ।

प्रतिक्रिया