कोभिडको नयाँ स्वरुप पहिलेको भन्दा ७० प्रतिशत बढी संक्रामक

काठमाडौं । अलि मत्थरजस्तो भएको कोभिड–१९ को संक्रमण विश्वभरि नै बढ्न थालेको छ । नेपालमा सोमबार कोभिड- १९ बाट १३ जनाको मृत्यु भएको छ भने ४९६ जना संक्रमित थपिएका छन् । आइतबार कोभिड–१९ का कारण एकजनाको मृत्यु भएको थियो भने ३ सय ३ जनामा संक्रमण देखिएको थियो । छिमेकी देश भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघिसकेको छ । पछिल्लो २४ घन्टामा मात्र भारतमा कोभिडका कारण ९ सय ४ जनाको मृत्यु भएको छ ।

विज्ञ भन्छन्- नयाँ भाइरस अझ खतरनाक
नेपालमा पनि पछिल्लो समय फैलिँदै गएको संक्रमणमा कोभिडको यूके भेरियन्ट देखिएकोे आशंका गरिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता तथा भाइरोलोजिस्ट डा.अनुप बास्तोला नेपालमा फैलिइरहेको भाइरस नयाँ भेरियन्टको नै भएको बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय सक्रिय रहेको भाइरस यूके भेरियन्ट भनिएको नयाँ भेरियन्टको नै हो, किनभने अहिले जति पनि बिरामी आउँछन्‚ उनीहरुको समूह र सम्पर्कमा रहेका सबैलाई यो भाइरस छिटो सरेको पाइएको छ ।’ संक्रमितको संख्या पनि एक्कासी बढेको तथा समुदायमा रुघा, खोकी र निमोनियाका बिरामीको संख्या धेरै बढिरहेको पाइएकाले पनि यो नयाँ भेरियन्ट हो भन्ने पुष्टि हुने उनको भनाइ छ ।

यो भेरियन्टको संक्रमतिमा पहिलेको भन्दा केही नयाँ लक्षण पनि देखिएको डा. बाँस्तोलाले बताए । यो भेरियन्टको संक्रमण हुँदा सुरुमा सामान्य रुघाबाट छिटै निमोनिया हुने र संक्रमितको मृत्यु नै हुने गरेको छ । त्योबाहेक थकान महशुस हुने, ज्वरो आउने लक्षण पनि नयाँ भेरियन्टबाट संक्रमितमा देखिएको छ ।’

नयाँ भेरियन्टबाट संक्रमित हो/होइन भन्ने पत्ता लगाउन ‘एस जीन’ रिपोर्टलाई आधार मानिएको डा. बाँस्तोला बताउँछन् । उनी भन्छन्, ‘अस्पतालमा ह्वात्तै बिरामी बढेका छन् । तर धेरैजनामा लक्षण देखिए पनि अस्पताल आएका भने छैनन् । नयाँ भेरियन्टको तीव्रता पहिलेको भेरियन्टभन्दा ७० प्रतिशतसम्म बढी भएकाले यो धेरै फैलिसकेको छ ।’

यसअघिको कोभिड- १९ मा संक्रमित सय जनाको मृत्यु हुन्थ्यो भने अहिले त्यहि अनुपातका संक्रममितमध्ये १ सय ६० जनाको मृत्यु हुने गरेको डा. बाँस्तोला बताउँछन् । यो उदाहरणमात्र भएको र मृत्युदर अझ बढ्ने खतरा रहेको उनले बताए । अबको एक महिनापछि अझ भयावह र त्रासको स्थिति सिर्जना हुनसक्ने डा. बाँस्तोलाको भनाइ छ ।

कोरोनाकै कारण मृत्युको संख्या पनि बढ्ने भएकाले संक्रमण भएको शंका लागेमा अस्पताल गएर जाँच गराइहाल्नुपर्ने र सम्भव भएसम्म घरबाहिर ननिस्कने र भिडभाड नगर्ने‚ साबुनपानीले हात धुने, मास्क अनिवार्य गर्ने र स्यानिटाइजर प्रयोग गर्ने जस्ता सावधानी अपनाउन उनले सुझाव दिएका छन् ।

तर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक तथा सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले भने नेपालमा अहिले फैलिरहेको भाइरस यूके भेरियन्ट नै हो भनेर पुष्टि गरिहाल्न नसकिने बताउँछन् ।

अहिले फैरिहेको भाइरस यूके भेरियन्ट हो वा होईन भनेर जाँच गर्ने प्रविधि नेपालमा नभएकाले यूके भेरियन्ट हो कि भन्ने अनुमानमात्र गर्न सकिने उनले बताए ।

उनी भन्छन्, ‘सामान्यतया ‘पिसिआर’ परीक्षणमा ‘एस जीन’लगायतका अरु दुई जीन परिक्षण गरिन्छ । वैज्ञानिकहरुले गरेको अनुसन्धान र यूके भेरियन्ट देखिएको भनिएका बिरामीमा देखा परेको लक्षणअनुसार पिसिआर परीक्षण गर्दा ‘एस जीन’ देखिँदैन भने त्यस्ता संक्रमितलाई यूके भेरियन्टको भाइरसद्वारा संक्रमण भएको हुनसक्छ । यसमा वैज्ञानिकहरू पनि खोज नै गरिरहेको भएर यसै हो भन्न सकिँदैन ।’

यदि यूके भेरियन्टकै भाइरस हो भने त्यो पहिले फैलिएको भाइरसभन्दा ७० प्रतिशत बढी घातक हुने उनी बताउँछन् । मकालु खबरसँगको कुराकानीमा डा. पुनले भने‚ ‘यूके भेरिएन्ट पहिलेको भेरियन्टभन्दा ४३ देखि ९० प्रतिशतसम्म तीव्र गतिमा फैलिन सक्छ । यो भेरियन्टबाट मृत्यु हुनेको दर पनि तुलानात्मक रुपमा बढी छ । बेलायतको आँकडालाई हेर्दा यूके भेरियन्टको प्रभाव युवा र बालबालिकामा धेरै परेको देखिन्छ । यो भेरियन्टबाट प्रभावितमा निमोनियाको समस्या देखा परेको छ । अरु लक्षण पहिलेको भेरियन्टका संक्रमितमा देखिएजस्तै हो ।’

यो भेरियन्टले पहिलेको भेरियन्टलाई तीव्र गतिमा विस्थापन गरेको पनि बेलायतका अनुसन्धानकर्ताले बताउँदै आएका छन् ।

विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिँदै गएपछि बेलायतमा २०२० नोभेम्बरमा दोस्रोपटक लकडाउन भएको थियो ।

लकडाउनपछि बेलायतका केही ठाउँमा संक्रमण घट्दै गयो । तर सोही समयमा बेलायतको ‘केन्ट’ भन्ने ठाउँमा भने संक्रमणदर बढ्दै गयो । पछि खोजी गर्दा अत्यधिक म्युटिङ भएको नयाँ भेरियन्टको भाइरस पत्ता लागेको थियो । त्यही भाइरसलाई अहिले यूके भेरियन्ट भनिन्छ । सेप्टेम्बरको अन्तिमतिर यूकेमा देखिएको यो भेरियन्ट डिसेम्बरमा बेलायतको आधाभन्दा बढी संक्रमितमा देखा परेको थियो ।

जनस्वास्थ्यविद् रविन्द्र समीर भने संक्रमण फैलन नदिन तत्काल सरकारले ठोस कदम चाल्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘स्थिति भयानक बन्दैछ । सरकारले ठोस निर्णयसहित अगाडि बढ्नुपर्छ ।’

प्रतिक्रिया