कसैसँग नचिढाउने, शान्त र भद्र नेताको अवसान

काठमाडाैँ । पूर्वमन्त्री नवीन्द्रराज जोशी कांग्रेसमा जुझारु नेताको छवि बनाएका नेता मात्र थिएनन । उनी कसैलाई नचिढाउने, शान्त र भद्र स्वभावका थिए । जोशी नेपाल विद्यार्थी संघको साधारण सदस्य हुँदै नेपाली कांग्रेसको केन्द्रीय सदस्य र सरकारको उद्योगमन्त्रीसम्म भए ।

बुवा गजेन्द्रराज जोशी र आमा गीता जोशीबाट २०१८ साल असार ३ गते काठमाडौंमा जन्मिएका जोशी १८ वर्षको उमेरदेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आबद्ध भएर राजनीतिक आन्दोलनमा भाग लिएका थिए । उनी ०३६ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय थिए । पञ्चायतकालमा प्रजातन्त्रका लागि लड्दा उनी पटक-पटक जेलसमेत परे । जोशी ०४४ देखि ०४८ सालसम्म नेविसंघको महामन्त्री रहे ।

पछि २०४८ सालको महाधिवेशनमा एनपी साउदसँग चुनाव लडे र साउदले नेविसंघ सभापति जिते । त्यसपछि जोशी काठमाडौंको स्थानीय राजनीतिमा सक्रिए भएका थिए । काठमाडौंको उपमेयर बनेर जनताको सेवा गरेका जोशी लोकप्रिय नेतामध्येमा पर्छन् । उनले तीनवटा संसदीय निर्वाचनमा भाग लिएकामा दुई पटक जित र एक पटक हार व्यहोरे ।

२०६४ को पहिलो संविधानसभा निर्वाचन कांग्रेसका लागि प्रतिकूल हुँदा पनि उनी विजयी भएका थिए । त्यसपछि २०७० को दोस्रो संविधानसभा निर्वाचन पनि उनले जिते । ०७० सालको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका जोशीले नेपाल औषधि कम्पनी पुनःस्थापित गरेर चर्चा कमाएका थिए । जोशीले बन्द अवस्थामा रहेका उद्योग सञ्चालन गर्ने नीति मात्र ल्याएनन्, नेपाल औषधि लिमिटेडको सञ्चालन नै गरेपछि उनको चर्चा चुलिएको थियो ।

जोशी २०७४ को चुनावमा काठमाडौंको निर्वाचन क्षेत्र नं ८ मा उनी एमालेका उम्मेदवार जीवनराम श्रेष्ठसँग ४ सय ४४ मतले हारेका थिए । चुनाव हारे पनि उनी जनताको घरदैलोमा पुग्ने गरेका थिए । कोभिड-१९ का बेला जोशीले जनचेतना फैलाउन र जनताको सुखदुःख बुझ्न घरदैलो अभियान चलाएका थिए । दस वर्षअघिदेखि उनी कांग्रेसको केन्द्रीय सदस्य थिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा उनलाई एक असल र कुशल नेताका रूपमा लिन्छन् । उनी समाजिक सञ्जालमा लेख्छन्– ‘उहाँको मृत्यु भएको छैन, फेरि पनि लेख्न मन छ यो खबर झुठो हो । तर लेख्नु परेको छ अलबिदा नवीन्द्र दाइ। तपाईंको आत्मालाई शान्ति मिलोस् स्वर्गमा । देशले एक असल र कुशल नेता गुमाउनुपरेको छ ।’

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद गगन थापा एक समन्वयकारी, सालिन नेताका रूपमा जोशीलाई चिन्छन् । ‘अत्यन्त मर्माहत भएको छु । नवीन्द्र दाइ हामीमाझ हुनुहुन्न भनेर पत्याउन सकिरहेको छैन । पार्टी संगठनका, विचार अनि विकासका थुप्रै कुरा सिक्न र सँगै काम गर्न बाँकी थियो। हामीले एक समन्वयकारी, सालिन नेता र विद्यार्थी कालदेखिका अग्रज मार्गदर्शक गुमाएका छौं । हार्दिक श्रद्धाञ्जली नवीन्द्र दाइ उनी लेख्छन् ।

युवा नेता प्रदीप पौडेलले पनि जोशी निष्ठा र इमानको पहिचान बोकेको नेता रहेको बताए । ‘उहाँ अत्यन्तै निष्ठावान, इमानदार र इमानदारिताले नै उन्नति हुने मान्यता भएको व्यक्ति हो,’ पौडेल भन्छन् ।

प्रतिक्रिया