अस्ताए कांग्रेस नेता नवीन्द्रराज जोशी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुकी ८ बजेर २४ मिनेटमा मृत्यु भएको हो ।

उनको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै अस्पतालले निधनको पुष्टि गरेको हो । जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जोशीको निधन भएको जानकारी अस्पतालले दिएको बताए । ‘उहाँ रहनुभएन भन्ने खबर अस्पतालले दिएको छ,’ उनले मकालु खबरसँग भने ।

  • नर्भिक अस्पतालद्वारा जारी विज्ञप्ति

मस्तिष्कघात भई फागुन १४ नेता जोशीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको थियो । पूर्वसभासद जोशी २०३६ सालबाट विद्यार्थीकालबाटै राजनीतिमा लागेका थिए । उनले राजनीतिक यात्राका क्रममा पटक-पटक पक्राउ परी हिरासतमा बसेका थिए ।

यसैबीच, जोशीको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवा तथा प्रवक्ता विश्वप्रकाश शर्मालगायत शीर्ष नेता र शुभचिन्तकहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । सभापति देउवाले जोशीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको बताएका छन् ।

‘नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु,’ सभापति देउवाले भनेका छन्, ‘जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

प्रवक्ता शर्माले देशले एक असल र कुशल नेता गुमाउनु परेको बताएका छन् ।

प्रतिक्रिया