एमाले र माओवादी केन्द्रका सांसद अब छुट्टाछुट्टै लहरमा

काठमाडौँ । अबदेखि संसद् बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरु छुट्टाछुट्टै लहरमा बस्ने भएका छन् । सर्वाेच्च अदालतले नेकपा एकीकरण बदर गरी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि सांसदहरु छुट्टाछुट्टै लहरमा बस्ने भएका हुन् ।
जसका लागि संसद सचिवालयले छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाएको छ । निर्वाचन आयोगबाट नेकपा खारेजीको भएको सूचना प्राप्त भएपछि आजको बैठकमा नेकपा एमाले र माओवादी केन्द्रलाई छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाएको संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव रोजनाथ पाण्डेले मकालु खबरलाई जानकारी दिए ।
उनका अनुसार दल छुट्टै भएपनि एमाले र माओवादी केन्द्र सत्ता पक्ष नै भएकाले एउटै क्षेत्र तर छुट्टाछुट्टै लहरको व्यवस्था गरिएको छ । ‘एमाले र माओवादी केन्द्र दुवै सत्ता पक्ष नै हुन्,’ उनले भने, ‘उहाँहरुको लागि सत्ता पक्षकै एरिया तर, छुट्टाछुट्टै लहरको व्यवस्था गरिएको छ ।’
प्रतिनिधि सभाको दोस्रो बैठक दिउँसो १ बजे बस्दैछ । यसअघि प्रतिनिधिसभा विघटनको निर्णय बदरपछिको पहिलो बैठक फागुन २३ गते बसेको थियो ।








