‘राज्यविरुद्धको कसूरको धारा ५८ केपी ओलीलाई ठ्याक्कै आकृष्ट हुन्छ’

काठमाडौँ । वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले नेकपा नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिप्रति आकर्षित भएको भनिएको राज्यविरुद्धको कसूरको धारा ५८ प्रधानमन्त्री केपी शर्मा ओलीप्रति भने ठ्याक्कै आकृष्ट हुने बताएका छन् ।

राष्ट्रिय सभा सदस्यसमेत रहेका बिडारीले उक्त धारा झाँक्रीको सन्दर्भमा लागू नहुने बताउँदै ओलीलाई भने ठ्याक्कै आकृष्ट हुने बताएका हुन् । ‘यो दफा त केपीजीलाई भने ठ्याक्कै आकृष्ट हुन्छ’, बिडारीले भनेका छन्, ‘किनकि संविधानविपरीत काम गर्न दबाब दिएकोले । तर, झाँक्रीलाई लागू हुँदैन । ध्यान दिएर पढौँ त एकफेर ।’

बिहीबार बिहान झाँक्रीलाई पक्राउ गर्न प्रहरी टोली उनकै निवास शंखमूल पुगेको थियो । विनाप्रक्राउ पूर्जी शंखमूल पुगेको प्रहरी टोलीलाई झाँक्रीले पहिले पक्राउ पूर्जी आफूलाई थम्याउन भनेकी थिइन् । तत्पश्चात् हतार–हतार प्रक्राउ पूर्जी जारी गरेको अपराध अनुसन्धान महाशाखाले झाँक्रीलाई राज्यविरुद्धको कसूरको धारा ५८ मा राखिएको प्रावधानअनुसार पक्राउ गर्नुपरेको उल्लेख गरेको थियो ।

यद्यपि पनि यता कानूनविद्हरुले भने झाँक्रीको अभिव्यक्तिप्रति राज्यविरुद्धको कसूरको उक्त प्रावधान आकर्षित नहुने बताएका थिए । सँगै सरकारको तीव्र आलोचना भएसँगै झाँक्री साँझ ६ बजेपछि छुटेकी थिइन् ।

झाँक्रीले केही दिनअघि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बडामहारानी भनेकी थिइन् भने बालकोटको प्रसङ्ग पनि जोडेकी थिइन् । गत ५ पुषमा ओलीको गरेको प्रतिनिधि सभा विघटनको सिफारिस शीतल निवासबाट सदर भएपछि प्रधानमन्त्री र राष्ट्रपति दुवैको तीव्र आलोचना हुँदै आएको छ ।

यता प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलसँगै अन्य साना दलहरुले पनि सडक संघर्ष गरिरहेका छन् भने नागरिक तहबाट पनि स्वतःस्फूर्त रुपमा विघटनविरुद्ध प्रदर्शनहरु भइरहेका छन् ।

  • Related News
    –झाँक्रीलाई प्रहरीले दियो पक्राउ पूर्जी
    राष्ट्रपतिकाे मानमर्दन गरेकाे अभियाेगमा झाँक्री पक्राउ
    झाँक्री पक्राउप्रति गगनको आक्रोश, उहिले महाराजा अहिले राष्ट्रपति !
    ‘ओलीको ठाडो आदेशमा रामकुमारी पक्राउ परिन्’
    पक्राउ परेपछि झाँक्रीले भनिन्– यो अन्तिम लडाइँ हो
    रिहाइपछि झाँक्रीले भनिन्- प्रतिगमन झुक्न शुरु भयो 
प्रतिक्रिया