पक्राउ परेपछि झाँक्रीले भनिन्– यो अन्तिम लडाइँ हो

काठमाडौँ । राज्यविरुद्धको कसूर गरेको अभियोगमा पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्रीले आफ्नो समर्थकहरुलाई धैर्य गर्न आग्रह गरेकी छन् ।

पक्राउपछि अपराध अनुसन्धान महाशाखा, मिनभवनमा रहेकी झाँक्रीले फेसबूकमा स्थिति राख्दै भनेकी छन्, ‘मलाई राज्यविरुद्धको कसूरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ ।’

यसैबीच झाँक्रीले यो अन्तिम लडाइँ भएको पनि बताएका छन् । ‘अहिले मिनभवनमा छु’, झाँक्रीले उल्लेख गरेकी छन्, ‘यो अन्तिम लडाइँ हो ।’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वकी नेतृ झाँक्रीलाई बिहीबार बिहान प्रहरीले उनकै निवास शंखमूलबाट पक्राउ गरेको थियो ।

पक्राउ पूर्जीविना पक्राउ गर्न शंखमूल पुगेको प्रहरी टोलीलाई झाँक्रीले पक्राउ पूर्जी लिएर आउन भनेकी थिइन् । लगत्तै प्रहरीले पक्राउ पूर्जी झाँक्रीलाई थमाएको थियो । पूर्जीमा राज्यविरुद्धको कसूर ५८ अनुसार पक्राउ गर्ने व्यहोरा जानकारी गराइएको थियो । यद्यपि यता कानूनविद्हरुले भने झाँक्रीको अभिव्यक्तिप्रति धारा ५८ आकर्षित नहुने बताउँदै आएको छन् ।

केही दिनअगाडि आफूनिकटको भेलालाई सम्बोधन गर्न गोरखा पुगेकी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बडामहारानी भन्दै बालकोटको प्रसङ्ग जोडेकी थिइन् ।

प्रतिक्रिया