५ लाख घुस लिँदै गर्दा पक्राउ परे लहानका कर अधिकृत

काठमाडौं । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई बिहीबार कार्यालय परिसरमै रंगेहात पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा पालले अडिट प्रक्रिया अगाडि बढाइदिने भन्दै ५ लाख रुपैयाँ घुस मागेका थिए ।
अनुसन्धानमा संलग्न स्रोतका अनुसार पालले आफूभन्दा माथिका कर अधिकृत प्रकाश राईसहित अन्य व्यक्तिलाई पनि मिलाउनुपर्ने भन्दै सेवाग्राहीसँग रकम मागेका थिए । रकम नदिएसम्म अडिट प्रक्रिया अघि नबढ्ने बताएपछि कम्पनीबाट आवश्यक कागजातसमेत संकलन गरिएको थियो ।
कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसो १ देखि २ बजेसम्म कुराइए पनि रकम बुझाइएको थिएन । त्यसपछि साँझ ६ः५६ बजे पालले फोन गरी आफू गोलबजार क्षेत्रमा रहेको जानकारी दिएका थिए । उनले भोलिपल्ट बिहान ९ देखि १० बजेको बीचमा भेट्ने भन्दै एक बिचौलियाको सम्पर्क नम्बरसमेत उपलब्ध गराएका थिए ।
बिचौलियाले आफू बाहिर रहेको भन्दै आफ्ना भाइमार्फत रकम बुझाउन प्रस्ताव गरे पनि अन्ततः पालले रकम कार्यालयमै ल्याउन निर्देशन दिएका थिए । सोही क्रममा अख्तियारको टोलीले उनलाई घुस रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो ।








