मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको छ ।
बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । यसअघि नै नेकपा र नेपाली कांग्रेसका १६ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव प्रदेश सभामा दर्ता गराइसकेका छन् ।
नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले पूर्वसहमतिअनुसार नै अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, ‘हामीले यसअघि नै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेका छौं । अब निर्णय परिवर्तन हुने अवस्था छैन ।’
यता, संघीय तहमा नेकपा र एमालेबीच कर्णाली प्रदेशको सत्ता समीकरणबारे छलफल चलिरहेको चर्चा भइरहेका बेला नेकपा कर्णाली संसदीय दलले भने काठमाडौंमा भइरहेका राजनीतिक छलफलले प्रदेशको निर्णयलाई असर नगर्ने स्पष्ट पारेको छ।
गत बिहीबार कांग्रेस र नेकपाका प्रदेशसभा सदस्यहरूले संयुक्त रूपमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ ।








