सिफलका गल्लीमा बौरिँदै प्राचीन काठमाडौं (तस्बिरहरू)

काठमाडाैं । काठमाडौं केवल भवनहरूको शहर मात्र होइन, यो जीवन्त कला, संस्कृति र प्राचीन इतिहासको सङ्ग्रहालय हो । आधुनिकताको नाममा मौलिक मोहडाहरू हराउँदै गएका बेला जयबागेश्वरी– सिफलका घरधनीहरूले पुरानै मोहडामा घर निर्माण गरेर संस्कृति जोगाएका छन् ।

काठमाडौं महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममार्फत भित्री शहरी क्षेत्र तथा सांस्कृतिक पदमार्गमा पर्ने घरहरूको अगाडिको मोहडा पुरानै नेवारी वास्तुकलाअनुसार निर्माण गरेमा निर्माण सामाग्री र काठको बुट्टाअनुसार निश्चित प्रतिशत अनुदान रकम उपलब्ध गराउँदै आएको छ । यसले गर्दा स्थानीय तहमा घरधनीहरू स्वयं सम्पदा संरक्षणमा आकर्षित भएका छन् ।

अनुगमन टोलीमा काठमाडौं महानगरपालिकाका सम्पदा तथा पर्यटन समितिका संयोजक, वडाध्यक्षहरू, शहरी विकास विभागका प्राविधिक तथा स्थानीय अगुवाहरूको उपस्थितिमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त क्षेत्रको अनुगमन तथा निरीक्षण गरिन् ।

महानगरपालिका क्षेत्रभित्र प्राचीन सांस्कृतिक पहिचान र परम्परागत वास्तुकलालाई पुनर्जीवित गर्ने अभियानलाई तीव्रताका साथ अघि बढाइने डंगोलले अनुगमनका क्रममा बताइन् । सिफल तथा जयबागेश्वरी क्षेत्रमा पुरानै मौलिक शैलीमा घरका अगाडिका भाग (फेस/मोहडा) निर्माण गरी भवन बनाइएका छन् ।

आधुनिक कङ्क्रिटको संरचना बनाउँदासमेत अगाडिको भागमा परम्परागत दाछीअप्पा इँटा, हस्तकलाले सजिएका काठका बुट्टेदार झ्याल, ढोका र झिङ्गाटी छाना प्रयोग गरी सहरको मौलिक स्वरूप कायम राखिएको छ । घरका अगाडिका मोहडामा प्रयोग हुने दाछीअप्पा र काठका कलात्मक झ्यालहरू केवल सजावट होइनन्, यी त पुर्खाको स्वाभिमान र काठमाडौँको आत्मा हुन् ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =