माउन्ट एल्ब्रसमा चतुर तामाङको २००औँ सफल आरोहण

काठमाडौँ। नेपाली पर्वतारोही चतुर तामाङले युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) को २००औँ सफल आरोहण गर्दै नेपालको पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेका छन्। एउटै हिमाल २०० पटक सफलतापूर्वक आरोहण गर्ने यो उपलब्धिलाई विश्व पर्वतारोहण क्षेत्रकै दुर्लभ कीर्तिमानका रूपमा हेरिएको छ।
रुसी समयअनुसार शनिवार (जुलाई २५) बिहान ६ः२० बजे तामाङ माउन्ट एल्ब्रसको चुचुरोमा पुगेका हुन्। यससँगै उनले लामो समयदेखि तय गरेको २०० सफल आरोहणको लक्ष्य पूरा गरेका छन्।
यो ऐतिहासिक उपलब्धिअघि पनि तामाङले लगातार अन्तर्राष्ट्रिय टोलीहरूको नेतृत्व गर्दै सफल आरोहण गरिरहेका थिए। उनले जुलाई २२ मा १९८औँ, जुलाई २३ मा १९९औँ र जुलाई २५ मा २००औँ सफल आरोहण सम्पन्न गरेका हुन्।

२००औँ आरोहणका क्रममा तामाङले माउन्ट एल्ब्रसको शिखरमा नेपालको राष्ट्रिय झन्डा फहराएका छन्। प्रत्येक आरोहणमा राष्ट्रिय झन्डा शिखरसम्म पुर्याउने उनको निरन्तर प्रयासले अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नेपालको पहिचान र नेपाली पर्वतारोहीहरूको योगदानलाई थप उजागर गर्दै आएको छ।
सोलुखुम्बुमा जन्मिएका तामाङले पर्वतारोहणसम्बन्धी सीप हासिल गरेपछि सन् १९९५ देखि व्यावसायिक पर्वतारोहण सुरु गरेका थिए। सन् २००२ देखि रुसमा बसोबास गर्दै आएका उनले त्यहीँबाट माउन्ट एल्ब्रस २०० पटक आरोहण गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य तय गरेका थिए, जुन अहिले सफलतापूर्वक पूरा भएको हो।
हाल उनी नेपाल र रुस दुवै देशमा सक्रिय छन्। नेपालमा रुसी आरोहीहरूलाई विभिन्न हिमाल आरोहण गराउने तथा रुसमा अन्तर्राष्ट्रिय आरोहीहरूलाई माउन्ट एल्ब्रस आरोहण गराउने कार्यमा संलग्न छन्।

माउन्ट एल्ब्रसबाहेक तामाङले सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा, चोयु, मनासलु, आमादब्लम, बरुन्चे, आइल्यान्ड पिक र मेरा पिक लगायतका हिमाल सफलतापूर्वक आरोहण गरिसकेका छन्।
चतुर तामाङको यो उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित छैन। यसले विश्व पर्वतारोहण क्षेत्रमा नेपाली पर्वतारोहीहरूको क्षमता, अनुभव र नेतृत्वलाई थप स्थापित गर्दै नेपालको पर्वतारोहण इतिहासमा अर्को गौरवपूर्ण अध्याय थपेको छ।








