अध्यक्षद्वयलाई विष्णु पौडेलको आग्रह : ‘प्रदेश नं. ५ को राजधानीबारे पुनर्विचार गर्नुस्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी दाङ राख्ने निर्णय सच्याउन अध्यक्षद्वयसमक्ष माग राखेका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा महासचिव पौडेलले दाङ राजधानी राख्ने निर्णयबारे पुनर्विचार  गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आग्रह गरेका हुन् ।

शनिवार सचिवालयका ४ सदस्य र बालुवाटारका ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारका लागि तय गरिएको सचिवालय बैठक स्थगित भएको थियो ।

सचिवालय बैठक स्थगित भएपनि अध्यक्षद्वयबीच भेटवार्ता भएको छ । भेटवार्तामा अध्यक्षद्वय, महासचिव पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि उपस्थित भएका थिए ।

भेटमा मुख्यमन्त्री पोखरेलले दाङमै राजधानी राख्ने अडान राखेका एक मन्त्रीले बताए । यस्तै महासचिव पौडेलले उक्त निर्णयबारे पुनर्विचार गर्नुपर्ने माग राखेको स्रोतले जानकारी दिएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डले भने दाङमै राजधानी हुनुपर्ने सहमति जनाइसकेको र यसबारे सर्कुलर पठाइसकेको स्रोतको भनाइ छ । अध्यक्षद्वय ओली र दाहालकै सहमतिमा प्रदेश नं. ५ को राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव प्रदेश सरकारसमक्ष पठाइएको  हाे ।

यस्तै नेकपाको ९ सदस्यीय सचिवालयमा बुटवललाई स्थायी राजधानी बनाइनुपर्ने माग महासचिव पौडेलको मात्रै छ । अध्यक्षद्वय र वामदेव गौतमको पनि दाङमै राजधानी हुनुपर्नेमा सहमत छन् । सचिवालयका अन्य सदस्य रामबहादुर थापा ‘बादल’ र ईश्वर पोखरेल पनि दाङमै राजधानी हुनुपर्ने पक्षमा उभिएका छन् ।

तर, नेकपा प्रदेशसभाका १४ जना सांसदहरुले भने बुटवलमै प्रदेशको राजधानी रहनुपर्ने भनदै दाङ राजधानीको निर्णयमा विरोध जनाएका छन् । त्यसैगरी नेकपाको रुपन्देही जिल्ला कमिटीले संस्थागतरुपमै निर्णय गरेर दाङमा राजधानी सार्ने प्रस्तावको विरोध गरेको छ । केही स्थानीय तहहरुले पनि बुटवलमै राजधानी हुनुपर्ने माग गरेका छन् ।

यद्यपि सचिवालयका ९ सदस्यमध्ये दाङमा राजधानी हुनुपर्नेमा असहमती जनाउँदै बुटवलमै राजधानी हुनुपर्ने माग महासचिव पौडेल एक्लैको रहेको छ ।

प्रतिक्रिया