बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गर्न सांसद लामाको माग

काठमाडाैं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले बाल सुधार गृहहरूलाई केवल थुन्ने ठाउँका रूपमा मात्र नभई पारिवारिक वातावरण र बाल मनोविज्ञान बुझ्ने दक्ष जनशक्तिको व्यवस्थापन केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् ।
आइतबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद लामाले बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकार र सुधारका पक्षमा आफ्ना धारणाहरू राखेकी हुन् ।
बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले पेश गरेको प्रतिवेदनमाथिको छलफलमा उनले सुधार गृहको व्यवस्थापन र बालबालिकाको आचरण सुधारका लागि विभिन्न सुझाव दिइन् । सांसद लामाले सुधार गृहमा खटिने कर्मचारी वा अभिभावक शारीरिक र मानसिक रूपमा सक्षम हुनुका साथै बाल मनोविज्ञान बुझ्ने हुनुपर्ने बताइन् ।
सुधार गृहमा दिइने सुविधाका सम्बन्धमा चर्चा गर्दै लामाले देशको अर्थतन्त्रले धान्न सक्ने र बाहिर रहेका आम बालबालिकाले पाउने सुविधासँग सन्तुलित हुने गरी व्यवस्था गरिनुपर्ने बताइन् । बालबालिकालाई अनुशासित र नैतिकवान् बनाउन ध्यान (मेडिटेसन) का साथै उनीहरूको धार्मिक आस्था अनुसारको प्रार्थना वा प्रवचनको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।
आध्यात्मिक चेतनाले उनीहरूलाई आन्तरिक रूपमा अनुशासित बनाउन र भविष्यमा अपराधबाट टाढा रहन मद्दत पुग्ने उनले उल्लेख गरिन् । सांसद लामाले सुधार गृहभित्र कायम रहेको ‘नाइके प्रथा’ प्रति आपत्ति जनाइन् । उनकाअनुसार कैदीबन्दीमध्येबाटै नाइके छनोट गर्दा बालबालिकाहरूमाझ थप हिंसा र डरको वातावरण सिर्जना भइरहेको छ । त्यसैले, नाइके प्रथालाई पूर्णतः अन्त्य गरी सुरक्षाकर्मी वा आधिकारिक कर्मचारीबाटै प्रत्यक्ष निगरानी हुनुपर्ने उनको माग छ ।








