विष्णु पौडेलको असन्तुष्टि : ओलीलाई राहत, दाहाललाई आहत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको असन्तुष्टिका कारण आइतबार (आज) ४ बजेका लागि तय गरिएको नेकपा सचिवालय बैठक स्थगित भयो ।

प्रदेश नं. ५ को राजधानी तोक्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट बनेका महासचिव पौडेलको कारण आजको सचिवालय बैठक स्थगित भएको एक सचिवालय सदस्यले बताए ।

राजदूत नियुक्तिलगायतका विषयमा प्रधानमन्त्रीसमेत रहेका ओलीसँग असन्तुष्ट बनेका अर्का अध्यक्ष दाहालको जोडबलमा डाकिएको सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएपछि दाहाल अप्ठ्यारोमा परेका छन् ।

पौडेलको यो अडानले ओलीलाई भने फाइदा पुगेको छ । ओलीले पनि सचिवालय बैठक राख्ने सोच भने बनाएका थिएनन् । शनिबार (हिजो) बस्ने भनिएको सचिवालय बैठक थप गृहकार्य गर्नुपर्ने भन्दै आइतबार (आज)का लागि सारिएको थियो ।

प्रदेश नं. ५ को राजधानी बुटवल हुनुपर्ने अडान राख्दै आएका महासचिव असन्तुष्टि बनेसँगै नेकपा वृतमा भताभुङ्ग देखिएको हो । प्रदेशको राजधानी तोक्ने नसकेपछि मुख्यमन्त्री तथा प्रदेशस्तरीय नेताहरुले शीर्ष नेतृत्वसँग गुहार मागेकामा शीर्ष तहबाट दाङ राजधानी बनाउन प्रस्ताव दिइएका थियो ।

उक्त विषयमा आफूसँग परामर्श नै नगरेको भन्दै असन्तुष्ट बनेका महासचिवका कारण आजको लागि तोकिएको नेकपा सचिवालय बैठक स्थगित भएको पौडेललाई उदृत गर्दै एक सचिवालय सदस्यले भनेका छन्, ‘उहाँकै कारण आजको बैठक स्थगित भयो ।’

सचिवालय बैठक नबस्ने सोच बनाएका ओलीलाई थप राहत आफ्ना सल्लाहकारहरुसँगै सचिवालयका कर्मचारीहरुमा देखिएको कोरोना संक्रमणले पनि दिएको कतिपय नेताहरु बताउँछन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि नेपाली राजदूत बनाएपछि नेकता वृतमा असन्तुष्ट देखिएको हो । उक्त विषयहरुको सम्बोधन गर्नेगरी बस्ने भनिएको सचिवालय बैठक स्थगित बनेको छ ।

राजदूत नियुक्तिको विषय बाहिरिएपछि नेकपा वरिष्ठ नेता झलनाथ खनालसँगै नेकपा नेतृद्वय रामकुमारी झाँक्री र भगवती चौधरीलगायतका अन्य नेताहरुलेसमेत विरोध जनाएका थिए ।

योसँगै यी समस्याहरु अब पूरैका लागि सेल्टिएको अनुमान गरिएको छ । पछि केही समयपछि यी विषयहरुको उठान भएपनि समसामयिक नहुने भन्दै पन्छ्याउन सजिलो हुने एक नेताको भनाइ छ ।

प्रतिक्रिया