विष्णु पौडेल प्रकरणमा रास्वपा सांसदको प्रश्न: प्रमाण थिएन भने अभियोजन किन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्व डिएसपी गोविन्द पन्थीले एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्धको अनुसन्धान र अभियोजन प्रक्रियामाथि प्रश्न उठाएका छन् । उनले पर्याप्त प्रमाण नभए अनुसन्धान अभियोजनसम्म किन पुर्याइयो भन्दै सरकारसँग जवाफ मागेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सांसद पन्थीले अनुसन्धान र अभियोजनको विश्वसनीयतामाथि प्रश्न गरेका हुन् ।
‘आधारहरूलाई पुष्टि गर्ने पर्याप्त प्रमाण थिएन भने अनुसन्धानलाई अभियोजनसम्म किन पुर्याइयो ? र यदि अभियोजन बलियो प्रमाणका आधारमा गरिएको थियो भने २० करोड ९० लाख बिगो दाबी गरिएको मुद्दामा विशेष अदालतले साधारण तारेखमा छाड्ने आदेश किन दियो ?’ उनले प्रश्न गरेका छन् ।
आफूले उठाएको विषय कुनै व्यक्ति वा दल विशेषलाई लक्षित नभएको स्पष्ट पार्दै उनले अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियाको गुणस्तरमाथि गम्भीर समीक्षा आवश्यक रहेको बताए ।
‘अनुसन्धान कमजोर थियो, अभियोजन हतारमा भयो, वा अदालतले प्रमाणको मूल्याङ्कन फरक ढंगले गर्यो ? यसको वस्तुनिष्ठ समीक्षा हुनैपर्छ,’ उनले उल्लेख गरेका छन् ।
अनुसन्धान र अभियोजनमा कमजोरी रहेको भए त्यसको जवाफदेही को हुने भन्ने प्रश्न पनि उनले उठाएका छन् । राज्यका निकायबीच समन्वय र प्रमाण व्यवस्थापनमै समस्या भए त्यसले सुशासन तथा भ्रष्टाचारविरुद्धको अभियानलाई नै कमजोर बनाउने उनको भनाइ छ ।
विशेष अदालतले शुक्रबार एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध दायर मुद्दामा अभियोजनका आधार पर्याप्त नदेखिएको भन्दै उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।








