रोडम्याप नहुँदा नेपाली राजनीतिले भाेग्नु परेकाे नियति

राजा महेन्द्र अमेरिकी राष्ट्रपति आइजनहावर निमन्त्रणामा अमेरिका जाने तयारीमा थिए । राजाकै लगानीमा निस्किने ‘हालखबर’ पत्रिकाले समाचार छाप्यो–‘राजालाई स्वागत गर्न राष्ट्रपति आइजनहावर विमानस्थल नजाने ।’ बीपी कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई सभामुख थिए । बीपीको अनुमति लिएर सभामुख भट्टराईले अमेरिकी दूताबासका कार्यबाहक राजदूत फिक्सलाई भेटेर चेतावनी शैलीमा भने–‘के हाम्रो राजालाई स्वागत नगर्ने ? हामीलाई सानो देश भनेर हेपेको हो ? यस्तै व्यवहार हो भने राजाको भ्रमण रद्द गर्न बाध्य हुनेछौं ।’

राजदूतले स्पष्टीकरण दिँदै भनेका थिए–‘हाम्रो राष्ट्रपति मुटु रोगी हुनुहुन्छ । कुटनीतिक मर्यादाका कारण विमानस्थलदेखि विमानसम्म चिसोबाट बच्न डाक्टरले दिएको टोपी लगाएर जान मिलेन । त्यस्तो चिसोमा टोपी नलाई जानु झन् घातक हुन्छ । फेरि उमेरका दृष्टिले पनि उहाँ बृद्ध हुनुहुन्छ । डाक्टरले जतिबेलै पनि स्ट्रोक हुनसक्ने भविष्यवाणी गरेका छन् । त्यसैले नजाने भनेको हो ।’

अन्तर्राष्ट्रिय मञ्चमा त्यसबेला नेपालको कुटनीतिक मर्यादा र क्षमता यति शक्तिशाली थियो कि त्यस्ता गम्भीर विरामी आइजनहावर हेलिकोप्टरमा विमानस्थल गएर राजा महेन्द्रको भव्य स्वागत गरेका थिए । घटनाको यही संवेदनशीलतालाई हेरी अमेरिकी सरकारले तत्काल प्रोटोकल फेरेर अब उप्रान्त विदेशी पाहुनाको स्वागतमा राष्ट्रपति विमानस्थल नजाने बरु पाहुनालाई हेलिकोप्टरमा ह्वाईट हाउस ल्याएर ‘गार्ड अफ अनर’ दिने प्रचलन शुरु गर्यो ।

नेपाली भीआईपी पाहुनाका कारण ६२ वर्षअघि फेरिएको त्यो चलन डोनाल्ड ट्रम्पको पालासम्म आइपुग्दा कायमै छ । त्यतिमात्र होइन, दोस्रो विश्वयुद्धमा नेपालले गरेको उल्लेखनीय सहयोगप्रति कृतज्ञता जनाउँदै जर्मनी, बेलायतलगायत पूर्वी तथा पश्चिम युरोपका थुप्रै देशले नेपालीलाई अराइभल भीसा उपलब्ध गराउँथे ।

राजनीतिमा भात जित्ने तर भविष्य हार्ने खेलका कारण हाम्रो त्यो कुटनीतिक साख घटेर रसातलमा पुगेको छ । पात्र, प्रवृत्ति र आचरणरुप र सारमा अलग देखिए पनि दुई तिहाईको समाजवादन्मुख सरकार त्यही देशले दिएको अलिकति धनराशीको निहुँमा धराशायीको अवस्थामा छ । पूँजीवादको तिलजत्रो असिनाले समाजवादको छाता धुजाधुजा बनाइदिएको छ । वर्षौंदेखि गाइएका गरिबका आँसु, युद्धका दम्भ, समानताका नारा दलालका पाउमा विसर्जन भएका छन् ।

इतिहासले प्रमाणित गर्दै आएको छ–नेपाली जनताले दिने अभिमत अंक अगाडिको शून्यजस्तै हो । जुन दृश्यमा देखिन्छ, सामर्थ्य देखिदैन । राणा र पञ्चायतको शासकीय व्यवस्थापन सुधार गर्न नसक्दा राजनीतिक पात्रहरु फगत एकपछि अर्को जोकर बनेका छन् । सुत्केरीले खान ठिक्क पारेको कालो दालसमेत खोसेर बनाइएको बज्रबाट निर्मित सेतो सिंहदरबारले नेताहरुको अभिमान लुलो बनाउँदै आएको छ ।

तथ्य र तथ्यांकले भन्छ– सिंहदरबार राजनीतिक थिएटरभन्दा माथि उठ्न सकेन । अझ नेपालको सत्ता र किराना पसलमा व्यापक समानता भेटिन्छ । र्याकमा कार्टुन त सजिएको हुन्छ तर भित्रको मालवस्तु रित्तिएको नेतृत्वलाई पत्तै हुन्न । एकहप्ता अगाडिका केपी ओलीको शीर एकहप्तापछि बिन्तीपत्र बन्न पुग्यो । बोइङ चलाएको त्यो घमण्ड फर्सी फुटेझैं असरल्ल बन्यो । मै हुँ भन्ने दम्भ र एक्लिएको प्रताडनाको मेलले अमनचैन हराएको छ ।

झण्डैझण्डै सास फेर्न पनि अनुमति लिनुपर्ने वातावरण बनाएका राजा ज्ञानेन्द्रको शासन त्यसरी ढल्छ भनेर कुन ज्योतिषले कल्पना गरेको थियो ? राजाको बेडरुम र भान्सासम्म सहज प्रवेश अनुमति पाएका बीपी र महेन्द्रको त्यो आत्मीयता देशकै राजनीतिमा ग्रहण बनेर उपस्थित होला भनेर कसले सोचेको थियो ? माओवादीको बलमा आएको संघीयता, गणतन्त्रको विरुवामा कमल थापा, पशुपतिशम्शेर, प्रकाशचन्द्र लोहनीले पानी हालिदिनुपर्ने अवस्था कसले कल्पना गरेको थियो र ?

सलहको भाषा बुझेर समाचार बनाउने कलमबाज भएको देशमा दलहरु नालायक भएर प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बन्छ भन्ने कुन राजनीतिशास्त्रीले प्रक्षेपण गर्न सकेको थियो ?

रानीलाई उपचार गर्न ल्याएकी एउटी विदेशी नर्स एरिक ल्युट्यागलाई मनपेट दिएर राजनीति कोर्स बिगार्ने राजा त्रिभुवन हुन या आफ्नी स्वास्थ्यसेवकलाई भएजति पद र प्रतिष्ठाबाट विभूषित गर्न तम्तयार हुने केपी ओली एउटै खलपात्र हुन् । राजनीति जुठ्याउन यस्तै कर्म यथेष्ट छन् । भात खाने अरु मेसोमा नबिकेपछि राजनीतिक मेलो समाएका असक्षमहरुको झुण्डका कारण नीतिहरुको राजा मानिने सर्वोत्कृष्ट नीति नै भड्खालोमा पर्यो ।

जीवनमा जम्माजम्मी खलाँसी बन्ने सपना देखेको मानिस पाइलट भयो भने के हुन्छ ? हो, गणतन्त्र त्यही प्रहसनको नाङ्गो दृश्य हो । केपी ओली, प्रचण्ड, शेरबहादुर, माधव नेपाल, झलनाथ खनालकै म्यूजिकल चियरमा अझै पनि मुलुकको राजनीतिक फित्ता घुम्ने भएपछि मान्छे त परै जाओस् , कोरोना जीवाणु समेत हार खान्छ । बलिउड अभिनेता अमिताभ बच्चनले खेलेको हिन्दी फिल्म ‘अन्धा कानुन’मा एउटा दृश्य छ । रुँदै गरेकी एउटी सानी बच्चीलाई फकाउने सन्दर्भमा हिरोले एउटा गीत गाउँछ । जुन गीतको बोल यस्तो छ–

रोते रोते हसना सिखो, हँस्ते हँस्ते रोना
जिती चाभी भरे राम ने, उतनी चली खिलोना

हो नेपालका नेताको खाँटी परिचय पनि त्यही हो । भारत र दरबार मध्ये एकले नपत्याएसम्म नेताको गन्तीमा आउनसमेत मुस्किल छ । आजका मितिसम्म त्यही विरासत कायमै छ ।

सत्ताको बर्दी थाप्न नपाएका जति दुखी आत्मा बनेर नेपाली राजनीतिमा भड्किरहेका छन् । उनीहरु राजनीतिको क्लर्कभन्दा माथि उठ्न सकेका छैनन् । लाटाले बाउ घुक्र्याएको शैलीले एक्काईशौं शताब्दीको राजनीति चलाउन खोज्नु भनेको कमाएको मलामी गुमाउनु मात्र हो ।

राजनीतिमा कुरा कसको सुनिन्छ र सुनिनुपर्छ भन्ने विषयले ठूलो महत्व राख्छ । महाभारत पात्र अर्जुन कृष्णको सल्लाह मान्दा ज्वाजल्यवान भए । सकुनी सल्लाहकार राख्दा बलबान दुर्योधन लाचार पात्र बने । जुन देश गफमा मात्र आत्मनिर्भर छ भने त्यो देशका नेताले समृद्धिको सपना देख्नु मुसाको अधिकार विषयको कार्यपत्र लेख्ने जिम्मा बिरालोलाई सुम्पिएजस्तै हो । जब देश भारतीय र चिनिया उत्पादनको शोरुमभन्दा माथि उठ्न सक्दैन भने सरकारको नीति तथा कार्यक्रमको औचित्य के रहन्छ ?

सरकारको बजेट तेलबेसार, खाद्यान्न, तलवभत्ता, पेन्सन र आन्तरिक– विदेशी ऋण चुक्ताको फाँटबारी मात्र हो । देशका ठूला मान्छे मानिने मुखियाहरु ‘म्याच फिक्सिङ’का पात्र हुन् ।

अरुले गरेको त्यही कर्म अपराध हुन्छ, नेताले गरेको सुकीर्ति । राजा त्रिभुवनलाई काठमाडौंबाट पाल्पा लगेर राणा शासक विरुद्ध जेहाद् छेड्ने घरेलु तयारी विपरीत राजा नै अपहरण शैलीमा कसरी दिल्ली पुर्याइए ? राणा शासन ढलेपछि राणाकै नेतृत्वमा सरकार कसरी बन्यो ? एकाघरका दाजुभाइ मातृका–बीपी एकअर्का विरुद्ध कसरी गोटी बनाइए ? नागरिक प्रधानमन्त्री मातृका सैनिक पोशाक कसरी उत्रिन पुगे ? क्रान्तिले भारी बिसाउँदा नविसाउँदै २ सय वर्षको कोसी सम्झौता कसरी भयो ? भारतमा जन्मिएर त्यहीँ राजनीति सिकेका बीपी अन्ततः नेहरुको आँखामा किन बिझाए ? बीपी सिध्याउन नेहरु–महेन्द्रजस्ता तरबार र घिउ व्यापारीको दोस्ती कसरी सम्भव भयो ? बहुदल आएपछि सूर्यबहादुर, लोकेन्द्रबहादुर, कमल थापा प्रवृत्ति आधा दशक नवित्दै कसरी हिरो भए ? भारतको नोएडामा ज्वाइँ पालिएझैं पालिएकाले बनाएको योजनामा मूला काटेझैं नेपाली जनता गिँडिदाको त्यो अप्रिय श्रृंखला कसरी जनयुद्ध भयो ? युद्धविराम भएपछिको परिणामले व्यक्ति बने होलान, तिनले बोकेका एजेण्डाबाट मुलुकले के पायो ? चार गणले छेकेको राजपरिवार किन र कसरी मारिए ? मदन भण्डारी, प्रेमसिंह धामीहरुको रहस्यमय अन्त्य पछाडिको कथानक पृष्ठभूमि के थियो ? पतिको रहस्यमय अन्त्य पत्नीको राजनीतिक उदय, शक्ति र सत्ताका लागि बहुदलीय जनवादको चीरहरण तर मदन भण्डारीको फोटोमा भक्तिभावको मञ्चन यो भद्दा मजाकको फरफारक हुनु पर्दैन ? के सिद्धान्त चौताराको मादल हो ?

नीति भन्छ– ‘रिसाएका बेला कहिल्यै उत्तर नदिनु, दुखी भएका बखत कहिल्यै कसम नखानु र खुशीमा बिर्सिएर पनि निर्णय नलिनु ।’ गफशास्त्रका ज्ञाता केपी कमरेडलाई यति त थाहा हुनुपर्ने हो ।

यदि परलोक छ भने देशमा प्रजातन्त्र ल्याउने लडाइँमा आफुलाई विसर्जन गरेका नेताहरु विक्षिप्त अवस्थामा हुँदा हुन् । बीपी, पुष्पलाल, गणेशमानसिंह, मदन भण्डारी, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराईजस्ता युगपुरुषहरु स्वर्गको आँखीझ्यालबाट यहाँको चर्तिकला किंकर्तव्यविमूढ भएर सुन्दा हुन् । अनि विरक्तिएर आर्तनादको दुन्दुभि बजाउँदा हुन् । आफ्नो विगत सम्झिदा उनीहरुलाई नै कहालीलाग्दो हो । देशको अगाध माया हुँदाहुँदै शक्तिको माथापच्चीका कारण त्यसबेला मिल्न नसकेकोमा राजा महेन्द्र र बीपी पश्चातापको आँसु बगाउँदा हुन् । हुन पनि उनीहरुले शासन गरेको त्यो युग स्वर्णयुग थियो । नेपाल र नेपालीको इज्जत थियो । कुनै पनि दलका अघिल्लो पुस्ताका नेता रहँदासम्म देशको साखमाथि कसैले खेल्न सकेको थिएन ।

चीनले सगरमाथा आफ्नो हो भनेर दाबी गर्दा बीपीले सोधेका थिए– ‘यदि सगरमाथा तिम्रो हो भने चिनियाँ भाषामा सगरमाथाको नाम के हो ?’ यसो भन्दा चिनियाँले उत्तर दिए– ‘चोमोलोङमा ।’ बीपीले तत्काल प्रतिवाद गरी त्यो तिब्बती नाम भएको भन्दै सगरमाथाको लालपुर्जा नेपालको नाममा दिलाई छोडे । एशियाका कुनै देशले इजरायललाई स्वतन्त्र राष्ट्रको मान्यता दिनुअघि बीपीले मान्यता दिएर निर्णय क्षमताकाे परिचय दिएका थिए । जसका कारण भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु उनीसँग रुष्ट बनेका थिए ।

प्रधानमन्त्री भएका बखत बीपी भारत जानुअघि नेपाल कम्युनिष्ट पार्टीका तात्कालिन महासचिव केशरजंग रायमाझीलाई घरमा बोलाएर १० हजार रुपियाँ थमाए । नमागिएको पैसा पाएपछि रायमाझीले प्रयोजन सोधे । बीपीले भने–‘म गएपछि मेरा विरुद्ध नारा जुलुस गराउनुस् । त्यसो भयो भने मैले देश हितमा अरु बढी काम गर्न सक्छु ।’ त्यो दूरदर्शिता अहिले मिथक बनेको छ ।

नेपालका कुनै कम्युनिष्ट नेतालाई अर्को देशको कम्युनिष्ट नेताले पत्याएर एउटा साइकल उपहार दिएको सुनिएको छैन तर तिनैले विरोध गर्ने राजा त्रिभुवनले हिटलरबाट पाएको गाडीको अवशेष अझै संग्रहालयमा सुरक्षित छ ।

जसरी रक्सी खान कुरानले बन्देज लगाएको तर भोड्का खान छूट दिएको भन्दै ज्यान छोडेर भोड्का तान्ने रुसी मुसलमानहरुको आलोचना गरिन्छ, त्यसैगरी कम्युनिष्टको खास्टो ओढेर हिङदेखि हर्दीसम्मको व्यापार भ्याउने चरित्रका कारण नेपाली नेताहरु बद्नाम छन् । कम्युनिष्ट नाम उनीहरुका लागि नक्कली जोगीले धसेको खरानीजस्तै भएको छ । जुन कम्युनिष्ट नेताहरु इमान्दार छन्, तिनीहरु जन्मेदेखि अहिलेसम्म सडकमै छन् । इमान्दार नेताहरु ‘गद्दार’ को पुरस्कारबाट विभूषित हुने गरेका छन् ।

१९५० को सन्धिलाई नेहरु विश्वविद्यालयका प्रोफेसर मुचुकन्दले समस्याको बाकस भएको भन्दै यसलाई एकैपटक नखोल्न सुझाव दिएका थिए । मोहनशम्शेर जननिर्वाचित प्रधानमन्त्री थिएनन् । तर उनैले सन्धिमा सही धस्काएका थिए । सबैलाई थाहा भएकै सत्य हो–संसदले अनुमोदन नगरेको सन्धि अवैध मानिन्छ । अहिले यही सन्धि दलहरुका लागि अन्धाले छामेको हात्तीजस्तो बनेको छ । पश्चिमा राष्ट्रहरुले विकासभन्दा मानवअधिकारलाई पहिलो एजेण्डा बनाएका छन् । जुन रणनीति गरिब देशमा खेल्ने सजिलो औजार बनेको छ । तर मौलिक रोडम्याप नहुँदा हामीले जसको लाठी उसको भैंसीको नियति भोग्नुपरेको छ ।

[email protected]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *