लघु, साना तथा मझौला उद्योगलाई प्राथमिकता दिनुपर्छ: सांसद श्रेष्ठ

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुष्का श्रेष्ठले मुलुकको अर्थतन्त्रमा लघु, साना तथा मझौला उद्योगको योगदान महत्वपूर्ण रहेको भन्दै सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् ।

सिंहदरबारस्थित युवा, श्रम तथा रोजगार मन्त्रालयमा बिहीबार आयोजित उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा बोल्दै सांसद श्रेष्ठले लघु, साना तथा मझौला उद्योगले अर्थतन्त्रमा ९९ प्रतिशत योगदान पुर्‍याइरहेको उल्लेख गर्दै यसको विकासमा विशेष ध्यान दिनुपर्ने बताइन् ।

उनले ठूला उद्योगको भूमिका महत्वपूर्ण भए पनि ५ देखि ५० जनासम्मलाई रोजगारी दिने साना उद्यमीहरूको संख्या र योगदान ठूलो रहेको बताइन् । सरकारले यस्ता उद्यमीलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाउनुपर्ने उनको भनाइ छ ।

सांसद श्रेष्ठले सामाजिक सुरक्षा कोषको व्यवहारिक पक्षमाथि पनि प्रश्न उठाइन् । कोष स्थापना गर्नु सकारात्मक भए पनि श्रमिकलाई आपत्कालीन स्वास्थ्य समस्या वा अन्य आवश्यकता पर्दा रकम निकाल्ने प्रक्रिया सहज छ कि छैन भन्ने विषयमा पुनरावलोकन आवश्यक रहेको उनले बताइन् ।

नेपालमा एकातिर रोजगारीको अभावमा युवा विदेशिने क्रम बढिरहेको र अर्कोतर्फ स्वदेशी उद्योगले आवश्यक दक्ष जनशक्ति नपाइरहेको विरोधाभासपूर्ण अवस्था रहेको उनको भनाइ छ । प्रशासन, बिक्री तथा मार्केटिङजस्ता क्षेत्रमा ‘सेमी–स्किल्ड’ र ‘स्किल्ड’ जनशक्तिको अभाव देखिएको उनले बताइन् ।

युवाहरूको विदेश जाने आकर्षणमा मुद्रा विनिमय दरको प्रभावसमेत रहेको उल्लेख गर्दै सांसद श्रेष्ठले स्वदेशमै सफल भएका उद्यमीका सफलताका कथा सामाजिक सञ्जालमार्फत प्रचार गरी युवालाई प्रेरित गर्नुपर्ने सुझाव दिइन् ।

सरकारका कार्यक्रम र लक्षित वर्गबीच अझै दूरी रहेको भन्दै उनले तालिम र रोजगारीका अवसरलाई एकीकृत गर्ने प्रभावकारी डिजिटल पोर्टल निर्माण गर्नुपर्ने बताइन् ।

विश्वविद्यालयबाट उत्पादन हुने जनशक्ति कत्तिको रोजगारयोग्य छन् भन्ने अभिलेख राख्नुपर्ने र त्यसका आधारमा शैक्षिक संस्थालाई प्रोत्साहन वा सुधारका लागि सचेत गराउने प्रणाली विकास गर्नुपर्ने उनको सुझाव छ ।

रोजगारदातालाई लैंगिक समानता कायम गर्न प्रोत्साहित गर्न ‘एम्प्लोयर अवार्ड’ जस्ता कार्यक्रम ल्याउनुपर्ने उनले बताइन् ।

सांसद श्रेष्ठले डिजिटल माध्यमबाट रोजगारी खोज्ने र दिने प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । उनले व्यावसायिक सञ्जालका लागि प्रयोग हुने प्लेटफर्मको उपयोग बढाउनुपर्ने र रोजगारसम्बन्धी निकायहरू पनि यस्ता माध्यममा सक्रिय हुनुपर्ने बताइन् ।

उनले सीप विकास र शिक्षाबीचको समन्वय आवश्यक रहेको बताउँदै विश्वविद्यालय तथा कलेजबाट उत्तीर्ण हुने युवाको रोजगारयोग्यता मूल्यांकन गर्ने प्रणाली विकास गर्नुपर्ने बताइन् ।

यस्तै, सांसद श्रेष्ठले परम्परागत सीपलाई पनि रोजगारी र अप्रेन्टिससिपसँग जोड्नुपर्ने बताइन् । रथ बनाउने, बाजा बजाउने तथा मौलिक परिकार बनाउनेजस्ता सीपको संरक्षण गर्ने रोजगारदातालाई राज्यले सहुलियत दिएमा मौलिक पहिचान जोगिनुका साथै नयाँ रोजगारीका अवसर सिर्जना हुने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =