श्रम उत्पादकत्व वृद्धि र दक्ष जनशक्ति निर्माणका लागि निजी क्षेत्रको नेतृत्व आवश्यकः पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकास र समृद्धिका लागि श्रम उत्पादकत्व वृद्धि आवश्यक रहेको भन्दै सीप विकासका कार्यक्रम निजी क्षेत्रको नेतृत्वमा सञ्चालन हुनुपर्ने बताएका छन् ।
सिंहदरबारस्थित युवा, श्रम तथा रोजगार मन्त्रालयमा बिहीबार आयोजित उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा बोल्दै अध्यक्ष पाण्डेले नेपालको श्रम उत्पादकत्व छिमेकी तथा समान प्रकृतिका मुलुकको तुलनामा कमजोर रहेको बताएका हुन् ।
उनले उपलब्ध तथ्यांकअनुसार नेपाल श्रम उत्पादकत्वमा ‘बटम थर्ड’ अर्थात् तलबाट तेस्रो स्थानमा रहेको उल्लेख गर्दै हाल सञ्चालन भइरहेका सीप विकास कार्यक्रम छरिएका र अपेक्षित नतिजामुखी हुन नसकेको टिप्पणी गरे ।
अध्यक्ष पाण्डेले सरकारी स्तरबाट सञ्चालन हुने तालिम कार्यक्रम १७ वटा मन्त्रालय तथा निकायबाट छुट्टाछुट्टै रूपमा सञ्चालन भइरहेकाले प्रभावकारी परिणाम आउन नसकेको बताए । उनले १ सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न दक्ष मानव संशाधन मुख्य आधार हुने उल्लेख गरे ।
उनले तालिम केन्द्रले कति जनशक्ति उत्पादन गरे भन्ने आपूर्ति केन्द्रित सोचभन्दा उद्योगलाई कस्तो जनशक्ति आवश्यक छ भन्ने माग केन्द्रित प्रणाली अपनाउनुपर्नेमा जोड दिए ।
‘हाम्रो अन्तिम रोजगारदाता निजी क्षेत्र हो । त्यसैले सीप विकास प्रणाली उद्योगको आवश्यकतामा आधारित हुनुपर्छ । मापदण्ड, पाठ्यक्रम, तालिम, मूल्यांकन र प्रमाणीकरणसम्म निजी क्षेत्रको अर्थपूर्ण सहभागिता र नेतृत्व आवश्यक छ,’ पाण्डेले भने ।
उनले परिसंघले केही समयअघि ३ हजार ३ सय ७५ जनालाई तालिम दिएर ३ हजार २ सय जनालाई रोजगारी दिलाउन सफल भएको जानकारी दिए ।
सरकारले सञ्चालन गरेका कतिपय अप्रेन्टिसिप कार्यक्रम कार्यविधिको जटिलताका कारण प्रभावकारी हुन नसकेको भन्दै उनले समयअनुसार कार्यविधि सुधार गर्नुपर्ने माग गरे ।
पाण्डेका अनुसार दुई वर्षअघिको सिटिइभिटी तथ्यांकमा तालिम कार्यक्रममा भर्ना हुने दर ५१ प्रतिशत, तालिम पूरा गर्ने दर ४७ प्रतिशत र रोजगारी प्राप्त गर्ने दर ४९ प्रतिशत रहेको थियो । समग्र उपलब्धि भने करिब १५ देखि १६ प्रतिशत मात्रै देखिएको उनको भनाइ छ ।
उनले उद्योगको उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता र व्यवसाय सञ्चालन लागत दक्ष जनशक्तिमा निर्भर हुने बताए । आर्थिक लक्ष्य हासिल गर्न मानव पुँजी विकासमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष पाण्डेले उद्योगको मानव संशाधन नीतिअनुसार सरल भर्ना प्रक्रिया, साना उद्योगका लागि सामूहिक तालिम र ठूला उद्योगका लागि लामो अवधिको तालिम व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
मुलुकभित्रै दक्ष जनशक्ति उत्पादन गर्न सके उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ्ने र वैदेशिक रोजगारीमा जाने श्रमिकले समेत उच्च आम्दानी गर्ने आधार तयार हुने उनले बताए ।
सीप विकास र प्राविधिक शिक्षा (टीभीईटी) क्षेत्रमा रहेका नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि राष्ट्रिय स्तरमा प्रणालीगत सुधार गर्न परिसंघ मन्त्रालयसँग सहकार्य गर्न तयार रहेको अध्यक्ष पाण्डेले बताए ।








