सिटिजन्स बैङ्कद्वारा सात वटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौँ। सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यका साथ चालु आर्थिक वर्ष २०८२/८३ मा सात वटै प्रदेशमा रहेका आफ्ना विभिन्न १९८ शाखा कार्यालयमार्फत वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।
बैङ्कका कोशी प्रदेशका २०, मधेश प्रदेशका २१, बागमती प्रदेशका ४३, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम प्रदेशका १० शाखामार्फत विभिन्न उमेर समूहका व्यक्ति, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारीमा जाने सम्भावित व्यक्ति तथा अन्य समूहलाई लक्षित गरी वित्तीय साक्षरताका विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। यसमार्फत करिब १० हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरिएको बैङ्कले जनाएको छ।
कार्यक्रममा उपस्थित सहभागीलाई वित्तीय साक्षरताको आवश्यकता र महत्वबारे विस्तृत जानकारी दिइएको थियो। साथै, वित्तीय साक्षरताको वर्तमान अवस्था, डिजिटल बैङ्किङको विकाससँगै बढेका अपराध तथा जोखिमका विषयमा समेत जानकारी गराइएको थियो। नगद कारोबार, लेनदेन तथा विप्रेषणजस्ता वित्तीय कारोबार गर्दा बैङ्किङ प्रणालीकै प्रयोग गर्न कार्यक्रममार्फत आग्रह गरिएको थियो। यसबाट बैङ्किङ प्रणाली थप मजबुत हुने र सहभागीहरूमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैङ्कले लिएको छ।
यसै गरी, बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत पनि विभिन्न कार्यक्रम सम्पन्न गरेको जनाएको छ। आफ्ना शाखा कार्यालयमार्फत विभिन्न सामुदायिक विद्यालय, स्थानीय स्वास्थ्य केन्द्रलगायत विभिन्न सङ्घसंस्थालाई सहयोग प्रदान गरिएको बैङ्कले जनाएको छ।
यसअन्तर्गत बैङ्कको सार्केगाड शाखाले सार्केगाड गाउँपालिका–४ मा अवस्थित श्री हिमज्योति माध्यमिक विद्यालयका बाल विकासदेखि कक्षा ८ सम्म अध्ययनरत १९६ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोसाक तथा न्यानो स्वेटर उपलब्ध गराएको छ। बैङ्कका यस्ता पहलले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ।
विश्वकै प्रतिष्ठित ‘बैङ्क अफ द इयर २०२४’ र ‘बैङ्क अफ द इयर २०२५’ उपाधि प्राप्त गर्न सफल भएको बैङ्कले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ।
हालसालै बैङ्कले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’ तथा ‘सिटिजन्स डिजिटल बैङ्क सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ नामक नयाँ बचत खाता पनि सुरु गरेको छ।
साथै, नेपालमै पहिलो पटक मोबाइल बैङ्किङ एपमार्फत नै सेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुविधा ल्याएको छ। यसबाहेक क्रस बैङ्क टेलर सुविधा अन्तर्गत अन्य बैङ्कका ग्राहकले पनि सिटिजन्स बैङ्कको शाखाबाट टेलर QR स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा फैलिएका आफ्ना २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैङ्किङ इकाई मार्फत २० लाख ४५ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैङ्किङ सेवा प्रदान गर्दै आएको छ।








